९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

किशोरीलक्षित उनको कथा र दिदी कार्यक्रम

काठमाडौं - समाजमा सफल दिदीहरू (महिला) को सफलताको रहस्य तथा संघर्षको कथा स्थानीय रूपमा अनुभूत गराई किशोरीहरूमा जीवनोपयोगी सिप विकास गर्ने उद्देश्यले रुक्मिणी फाउन्डेसन (प्रतिष्ठान) ले काठमाडौंको फर्पिङमा तीन दिने विशेष कार्यशाला आयोजना गरेको छ।

‘उनको कथा सम्मेलन’ नाम दिइएको सो विशेष कार्यशाला सो क्षेत्रमा आयोजना गरिएको पाँचौ शृंखला हो। कार्यशालामा दक्षिणकाली नगरपालिकाका चम्पादेवी, सोखेल सेतीदेवी, टल्कु सेतीदेवी, अरुणोदय, शिखरापुर सामुदायिक, श्रीकृष्ण, पञ्चकन्या मावि तथा कालीदेवी आधारभूत, भक्तपुरको गठ्ठाघर मावि र बालाजुको निहारिका मावि गरी १० विद्यालयका एक सय ५० छात्राहरू सहभागी छन्।

फाउन्डेसनले ती विद्यालयमा किशोरीहरूको पढाइ तथा क्षमता अभिवृद्धिमा सहजीकरण गर्न ‘लिट क्लब’ स्थापना गर्नुका साथै विपन्न जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। कार्यशालामा तिनै लिट क्लबआबद्ध तथा छात्रवृत्तिप्राप्त गर्ने छात्राहरू सहभागी छन्।

‘हर स्टोरी समिट’ (उनको कथा सम्मेलन) विश्वव्यापी अभियान अन्तर्गत कार्यशाला आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष शशी शर्मा अर्यालले बताए। अमेरिकास्थित ग्लोबल ग्लो (हाम्रो संसारमा महिलाको नेतृत्व) नामक संस्थाले ‘उनको कथा सम्मेलन’लाई विश्वका २५ देशमा विस्तार गरेको छ, जसले रुक्मिणी फाउन्डेसनमार्फत नेपालमा किशोरीलक्षित कार्यक्रममा सहजीकरण गरिरहेको छ। अध्यक्ष अर्यालका अनुसार फाउन्डेसनले लिट क्लबआबद्ध किशोरीहरूलाई हरेक महिना समाजका विविध क्षेत्रमा सफल महिलासँग भेट गराई सकारात्मक अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गर्दै आएको छ।

‘किशोरीहरूले आफ्ना अनुभवहरू आमा, साथी, बुबाभन्दा बढी दिदीहरूसँग आदानप्रदान गर्ने विश्वव्यापी मान्यता छ,’ अध्यक्ष अर्यालले भने, ‘त्यसकारण फाउन्डेसनले दिदी कार्यक्रममार्फत अप्ठेरोमा परेका किशोरीहरूलाई सहजीकरण गर्ने, बालविवाह न्यूनीकरणका लागि प्रोत्साहित गर्ने विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो।’

अरुणोदय मावि तथा दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा भइरहेको सो सम्मेलनमा लिट क्लबका संरक्षण शिक्षिका (भेन्टर) पनि सहभागी छन्। छोरीको क्षमता समाजमा देखाएर सकारात्मक रूपान्तरणका लागि उनको कथा सम्मेलनमार्फत सहजीकरण गरिने सहजकर्ता तथा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले बताए।

२१ वर्षमा विधुवा हुनुभए पनि छोरानातिलाई पढाउन विशेष भूमिका निर्वाह गर्नुहुने हजुरआमा रुक्मिणी अर्यालको शैक्षिक चेतना समाजमा हस्तान्तरण गर्ने उद्देश्यले आठ वर्षअघि अमेरिकामा फाउन्डेसन दर्ता गरिएको थियो। सोही फाउन्डेसनलाई ‘प्रतिष्ठान’ नामाकरण गरी नेपालमा पनि दर्ता गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App