९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

हुरीपीडितको घर निर्माण अन्तिम चरणमा

सेनाले निर्माण गरेको हुरीपीडित इजहार मियाँको घर। दुई महिनापहिला नै घर निर्माण गरिए पनि मियाँले घरमा बस्न नपाएको गुनासो गरे।

बारा - जिल्लाका सबै हुरीपीडितले भदौ दोस्रो साताभित्र नयाँ घरमा बस्न पाउने भएका छन्। साउनभित्रै घर बनाइसक्ने उद्देश्यसहित काम थालिए पनि काम सम्पन्न हुन थप दुई साता लाग्ने र भदौको आधाआधीतिर मात्रै घर जिम्मा लाउन सकिने नेपाली सेनाले बताएको छ। हुरपिीडित घर निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो।

गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएका घरहरूको पुनर्निर्माणका लागि वैशाख २१ गते शिलान्यास गरिएको थियो। ‘हुरीपीडित परिवारलाई उपलब्ध गराउन भनेर निर्माण थालिएको घर निर्माण कार्य ९२ प्रतिशत मात्र सकिएको छ,’ जनता आवास कार्यदलका नेतृत्व गरेका सेनाका सहायक रथी विनयविक्रम राणले भने, ‘बाँकी घर निर्माण कार्य भदौ १५ गतेभित्र पूरा गर्नेगरी काममा खटिएका छौं।’

‘हुरीपीडित परिवारलाई उपलब्ध गराउन भनेर निर्माण थालिएको घर निर्माण कार्य ९२ प्रतिशत मात्र सकिएको छ,’ जनता आवास कार्यदलका नेतृत्व गरेका सेनाका सहायक रथी विनयविक्रम राणले भने, ‘बाँकी घर निर्माण कार्य भदौ १५ गतेभित्र पूरा गर्नेगरी काममा खटिएका छौं।’

निर्माण सामग्री खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट जनशक्ति लिने भनिए पनि नसकिएकाले योजनाअनुसार घर निर्माण पूरा नभएको राणाको भनाइ छ। हुरीपीडितका लागि ८ सय ६९ वटा घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अधिकांशमा थोरै काम बाँकी रहेको दाबी राणाले गरे। ९२ प्रतिशत काम पूरा गरिएको र बाँकी ८ प्रतिशत काममा घरमा रङ लाउन, विद्युत् लाइन जडान गर्न र झ्यालढोका लगाउन बाँकी रहेको राणाले बताए। निर्माण गरिएका घरमा दुई कोठा, एउटा बरन्डा र एउटा बाथरुम छन्।

एउटा घरको निर्माण कार्यमा मूल्य अभिवृद्धि करसहित ५ लाख ४५ हजार खर्च हुने बताइएको छ। सेनाले निर्माण पूरा गरी जिम्मा नलगाउँदा घर निर्माण भएको दुई महिना हुन लाग्दा पनि त्यसमा बस्न नसकिएको हुरीमा चार सदस्य गुमाएका पुरैनियाको इजहार मियाँले दुखेसो पोखे। सेनाले सुरुमै नमुना घर निर्माण गरे पनि त्यसमा बस्न नदिँदा अरूको घरमा बस्नुपरेको गुनासो गरे। भत्किएका घरमा चार कोठा रहेको र अहिले निर्माण गरिएका घरमा दुई मात्र कोठा रहेकाले त्यसमा परिवारलाई राख्न नसकिने अवस्था आउने उनले बताए।

फेटा गाउँपालिका–६ पुरैनियाका वडाध्यक्ष जाकिर हुसेनले सरकारले घर निर्माण गर्न लगाए पनि धेरै हुरीपीडितहरु घर प्राप्तिबाट वञ्चित हुन पुगेको बताए। एउटा त पीडित परिवारभन्दा घर संख्या कम निर्माण गर्न लगाइएको र अर्कोतर्फ साउनभित्रमा सबै हुरीपीडितको घर निर्माण गर्ने भनिए पनि त्यसमा पनि ढिलाइ गरिएको आरोप उनले लगाए। घर निर्माणमा ढिलाइ भएपछि टेन्टमा बसिरहेका हुरीपीडित अत्यधिक गर्मी र वर्षाका कारण सास्ती भोग्न बाध्य भएको उनले बताए।

टेन्टमा खाना पकाउन नसकिने र अहिले पानी परिरहेकाले गर्दा बाहिर खाना पकाउँदा खानामा कीराफटयांग्रा पर्ने गर्दा धेरै हुरीपीडित पानी गर्दा भोकै सुत्नुपर्ने बाध्यता रहेको हुसेनले सुनाए। जनता आवास कार्यदलका नेतृत्व गरेका सेनाका सहायक रथी विनयविक्रम राणले सबै घरको निर्माण कार्य पूरा गरिएपछि त्यसलाई सरकार वा हुरीपीडितलाई जिम्मा लगाउने कार्यक्रम गरेकाले निर्माण भएको घरमा बस्न दिन समस्या भएको बताए।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:३८ शुक्रबार

हुरीपीडित घर_निर्माण नेपाली_सेना