७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ पक्राउ

पाेखरा– डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियर हरिकुमार पोखरेलसहित पाँचजनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इन्जिनियर पवित्रमणि आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई ९ लाख घुससहित पक्राउ गरेकाे हाे। डिभिजन सडक कार्यालय, पोखराअन्तर्गत कार्यान्वयन भइरहेका विभिन्‍न योजनाहरुको भुक्तानी तथा पेस्की निकासा गरेबापत् जिएसआर निर्माण सेवा, पोखराका प्रोपाइटर र सडक डिभिजन कार्यालयका कर्मचारीबीच घुस लेनदेन भइरहेका बेला उनीहरूलाई पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए।

त्यस्तै घुसबापतको रकम दिएलगत्तै उक्त डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जिएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ।

प्रकाशित: २४ श्रावण २०७६ ०५:१३ शुक्रबार

डिभिजन_सडक_कार्यालय पक्राउ अख्तियार