१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश ३ मा पाँचवटा विषादी प्रयोगशाला

मकवानपुर - प्रदेश ३ सरकारले पाँच स्थानमा विषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेश राजधानी हेटौंडामा माटो तथा मल परीक्षण प्रयोगशाला तथा ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागेको हो।

हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशालामा स्थापना हुने विषादी अवशेष नियमन प्रयोगशालाको सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गने कार्यक्रम रहेको छ। पाँच स्थानका लागि एक करोड ७९ लाख ६७ हजार रुपैयाँ लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायनलगायत खरिद गरिसकिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए। उनका अनुसार सो प्रयोगशालाको प्रतिघण्टा २० देखि ३० वटा तरकारी र फलफूलको नमुना परीक्षण गर्ने क्षमता रहेको छ। ‘प्रयोगशाला सञ्चालन गर्न तीनजना कर्मचारीलाई तालिम दिएका छौं,’ उनले भने, ‘थप दुईजना स्वयंसेवक पनि परिचालन हुनेछन्।’

त्यस्तै, मन्त्रालयले ८० लाख ९४ हजार रुपैयाँको माटो परीक्षण मोबाइल भ्यान खरिद गरेको छ। माटो तथा मल परीक्षण प्रयोगशालामै रहने भ्यानले प्रतिदिन माटोका ३० वटा नमुना परीक्षण गर्ने प्रवक्ता गदालले बताए। कार्ययोजना र मापदण्डको आधारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चारवटा भेटेरिनरी एम्बुलेन्स पनि खरिद गरेको छ। ती एम्बुलेन्स मकवानपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र र कृषि तथा वन विश्वविद्यालय चितवनमा राखिनेछ। एक करोड ४९ लाख १६ हजार रुपैयाँमा खरिद गरिएको एम्बुलेन्सले एक पटकमा दुईवटासम्म गाई वा भैंसी वा पाँचवटासम्म बाख्रा बोक्नसक्ने प्रवक्ता गदालले जानकारी दिए।

साथै प्रदेशका पाँच स्थानीय तहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। पाँच स्थानको प्रयोगशालाका लागि एक करोड ५९ लाख ७९ हजार रुपैयाँको उपकरण, रसायन र सामग्री खरिद गरेको मन्त्रालयले जनाएको छ। प्रयोगशाला मकवानपुरको मकवानपुरगढी, धादिङको सिद्धलेक गाउँपालिका तथा काभ्रेपलाञ्चोकको पाँचखाल, चितवनको खैरहनी र नुवाकोटको विदुर नगरपालिकामा स्थापना हुनेछन्।

प्रकाशित: १९ श्रावण २०७६ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App