१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीले तहसनहस हुलाकी सडक

बाढीबाट रौतहटमा निर्माणाधीन हुलाकी सडकको क्षत्रिग्रस्त संरचना। तस्बिर: मदन/नागकरिक

टंक क्षेत्री/सर्लाही, मदन ठाकुर/रौतहट

असारको अन्तिम साता तराईमा आएको बाढीले हुलाकी राजमार्गलाई तहसनहस बनाएको छ। सर्लाही र रौतहट क्षेत्रमा जताततै सडक भत्किएका कारण सवारी आवगमन ठप्प बनेपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सदरमुकाम मलंगवादेखि करिब २५ किलोमिटर पश्चिमको बलरा पुगेर फर्कंदा करिब १ सय ५० किलोमिटरको यात्रा तय गर्नुप-यो। सुरुमा ३५ किलोमिटर उत्तर पुगेर फेरि ४० किलोमिटर दक्षिण झर्नुपर्ने बाध्यताले बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुबानपीडित गाउँ जान उनले यात्रा लामो बन्न पुगेको हो।

पटकपटकको अविरल वर्षाका कारण सर्लाहीको लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी राजमार्ग बगाएकाले प्रजिअ राउतले त्यस्तो सास्ती बेहोर्दै आएका छन्। ‘बाढीले हुलाकी राजमार्ग ठाउँठाउँमा क्षतविक्षत मात्र बनाएको छैन, कतिपय ठाउँमा सडक बगाएकै छ,’ उनले भने, ‘त्यसैले जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका बलरा, रामनगर, विष्णु, धनकौल, बसबरियालगायत आधा दर्जन स्थानीय तहका बाढी एवं डुबानपीडितले गाउँमा जानुपर्दा पूर्व–पश्चिम राजमार्ग हुँदै बरहथवा भएर लामो यात्रा गर्दा ठूलो सास्ती भोग्नुपर्छ।’

जिल्लाका बलरा, गोडैता र बरहथवा नगरपालिका तथा विष्णु, धनकौल, बसबरिया गाउँपालिकाका प्रमुख एवं अन्य पदाधिकारीहरूले सदरमुकाम मलंगवामा हुने बैठकमा सहभागी हुन पटक–पटक प्रजिअ राउतले जस्तै निकै घुमाउरो बाटो हिँड्न बाध्य छन्। सामान्यतया सदरमुकाम मलंगवाबाट बलरा जानआउन दुई घण्टा लाग्ने गरे पनि हाल पुरै जिल्ला फन्को मार्नुपर्दा दिन नै बित्ने गरेको प्रजिअ राउतको गुनासो छ। सीधै पूर्वको सदरमुकाम मलंगवा पटकपटक जाँदा उत्तर हाइवे पुगेर निकै लामो बाटो घुम्नुपरिरहेको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले गुनासो गरे।

दक्षिणी क्षेत्रको लाइफलाइन मानिने हुलाकी राजमार्गमा दुई सातादेखि तहननहस हुँदा पनि सामान्य मर्मतसम्भारसमेत नहुँदा जिल्लाकै प्रमुख प्रशासकले यस्तो सास्ती बेहोर्नुपरेको छ नै, सदरमुकाम मलंगवा आवतजावत गर्ने दक्षिण–पश्चिम क्षेत्रका सयौं सर्वसाधारणको कष्ट त झनै भनिसाध्य छैन। बलराबाट सदरमुकाम मलंगवासम्म बसलगायत सार्वजनिक सवारीसाधन नियमित चल्ने सो राजमार्गमा हाल चारचक्के सवारीसाधन चलेको छैन। कौडेना गाउँपालिकाले केही दिनअघि लखन्देहीको भँगालो बगिरहेका तीन ठाउँमा बाँसको अस्थायी पुल हालेपछि मोटरसाइकल भने जेनतेन चलिरहेका छन्। त्यो पनि ठाउँ–ठाउँमा हिलाम्मे अनि क्षतविक्षत सडकका कारण ओर्लेर डो¥याउनुपर्ने अवस्था छ। मोटरसाइकल नहुने सर्वसाधारण त झन् २० किलोमिटरसम्म पैदलयात्रा गर्न बाध्य छन्।

दक्षिण–पश्चिम क्षेत्रस्थित छतौना हुलाका कार्यालयमा कार्यरत मतनारायण यादव हुलाकी राजमार्ग मर्मतसम्भार नहुँदा निकै कष्ट झेल्नुपरेको गुनासो गर्छन्। केही दिनअघि छतौनाबाट सदरमुकाम मलंगवा मोटरसाइकलमा आइरहेका यादवले भने, ‘यस्तो दुःख त जिन्दगीमा आइपरेको थिएन, अरूबेला बाटो काट्न एक घण्टा लागे पनि अहिले तीन घण्टाभन्दा बढी लाग्छ, त्यो पनि ठाउँठाउँको हिलोले गर्दा डो¥याउनुपर्छ।’ सदरमुकाम मलंगवाबाट भारतीय सीमा एवं केही उत्तरका तीन दर्जनभन्दा बढी गाउँ पुग्न प्रयोग हुने एक मात्र हुलाकी राजमार्ग दुई सातादेखि उचित मर्मतसम्भार नहुँदा प्रशासकदेखि सर्वसाधारणले निकै कष्ट झेल्नुपरिरहेको छ। हरेक वर्षायाममा लखन्देहीलगायत स्थानीय खोलाहरूमा ठूलो बाढी आउनेबित्तिकै हुलाकी राजमार्ग कटानको सिकार बन्ने गरेको छ। जसले गर्दा तीन दर्जनभन्दा बढी बस्तीको सदरमुकाम मलंगवासँग निकै दिनदेखि सम्पर्क विच्छेद छ।

बाढीले लडाएको विद्युत् पोल तथा तारहरू अझै छरपस्ट अवस्थामा छन्। दुई साताभन्दा बढी समयदेखि विद्युत् सुचारु नहु“दा कौडेनालगायत जिल्लाका कतिपय गाउँमा अन्धकार छाएको छ। सर्लाहीमा ४०.३७० किलोमिटर लम्बाइको हुलाकी राजमार्गअन्तर्गत सदरमुकाम मलंगवाबाट पश्चिम खण्डतिर बढी ठाउँमा क्षति भएको छ। पूर्वी खण्डमा भने एकादुई ठाउँमा त्यो पनि पश्चिमको तुलनामा निकै कम क्षति भएको बताइएको छ। प्रजिअ राउतले बाढीले बगाएर आगमनमा समस्या भइरहेको हुलाकी राजमार्ग मर्मतसम्भारका लागि सडक कार्यालयले ताकेता गरिएको बताए। ‘डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुखलाई पटकपटक सडक मर्मतसम्भारका लागि भनिसकेको छु,’ उनले भने, ‘तर प्रक्रिया अगाडि बढाइएको भन्नेबाहेक केही जवाफ आउँदैन।’

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले साउन लागेयता खोलाबाट गिटी बालुवा निकाल्न नपाउने व्यवस्थालगायत विभिन्न बाधा अड्चनका कारण क्षतिग्रस्त हुलाकी राजमार्ग मर्मतसम्भार गर्न नसकिएको बताए। त्यस्तै सडक विभागसहित प्रदेश एवं संघीय सरकारअन्तर्गत माथिल्लो निकायमा पटक–पटक मौखिक एवं लिखित जानकारी गराउँदा समेत उचित निर्देशन नआएको उनको भनाइ छ। रौतहटमा पनि दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा बाग्मती नदीदेखि बौधीमाई नगरपालिकाको अरुवाखोलासम्मको १९ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा करिब पाँच किलोमिटर हुलाकी राजमार्ग सडकखण्ड बगाउँदा त्यहाँ मान्छे डुब्ने ठूल्ठूला गहिरा खाल्डा बनेका छन्। त्यसले गर्दा बाटो अवरुद्ध त भएको छनै, सडकमा बनेका खाल्डा धरापसमेत बनेका छन्।

लालबकैया र बाग्मती नदीमा आएको बाढीले सडकमा बनाइएको एलाइमेन्ट, ड्रेनेज, कल्भर्ट, एरिगेसन आउटलेटहरू पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। बाग्मती नदीको पश्चिमी बाँधनजिक ६५ मिटर सडक बगेपछि ठूलो खाल्डो बनेको छ। बडहर्वा चोकनजिक ५० मिटर सडक पूर्ण रूपमा बगाएको छ भने बडहर्वा चोकदेखि पश्चिम गौर चन्द्रपुर सडकखण्डसम्म करिब एक किलोमिटरमा सडक संरचनाहरू तहसनहस बनाइदिएको छ।

लालबकैया नदीमा रहेको गण्डक सिँचाइ आयोजनाको फतुवा पुलदेखि पश्चिम बाँधसम्मको एक किलोमिटरमा सडक बगाएर तीन स्थानमा एक सय÷डेढ सय मिटरसम्मको ठूलो खाल्डो बनाएर त्यहाँ तारजालीबाट निर्माण गरिएका वालहरू समेत बगाएर पूर्ण रूपमा क्षतिग्रस्त भएका कारण सो बाटो भएर आवतजावतसमेत बन्द भएको हुलाकी सडक आयोजनाका प्राविधिक दीपांकर ठाकुरले बताए। बाढीले लालबकैया नदीको पश्चिमी बाँधदेखि लिएर पोखरिया दमारसम्म एक किलोमिटर सडक संरचनालाई आंशिक रूपमा बगाउनुका साथै दुई स्थानमा ठूला खाल्डो बनाएको छ। भीषणा बाढीको चपेटामा परेर हुलाकी सडकको स्ट्रक्चर, ग्याबिन, स्ल्याब, कल्भर्ट र विंगवाललाई पूर्ण रूपमा क्षति पु¥याएको छ। ग्रामीण भेगलाई जोड्ने सो बाटो पूर्ण रूपमा बन्द हुँदा त्यस भेगका सर्वसाधारण अन्य वैकल्पिक बाटो भएर जान बाध्य भएको प्राविधिक ठाकुरले बताए।

निर्माणाधीन अवस्थामै रहेको हुलाकी सडकमा बाढीले क्षतिग्रस्त भएको सडक संरचना मेन्टेनेन्स गर्न करिब साढे तीन करोड रकम खर्च हुने प्रारम्भिक अध्ययनबाट बुझिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्ज पर्साका इन्जिनियर श्यामनारायण मिश्राले बताए। इन्जिनियर मिश्राका अनुसार सडक मेन्टेनेन्स गर्न करिब दुई महिनाको समय लाग्ने बताए। बाढीपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साबाट प्राविधिकहरू टोली रौतहटको विभिन्न स्थानमा आई भत्किएको सडक संरचनाहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरेर आवश्यक कारबाहीका लागि हुलाकी सडक आयोजनामा पठाइसकेको इन्जिनियर मिश्राको भनाइ छ।

हुलाकी सडक निर्माणको ठेक्का श्रेष्ठ, ढुकुच्छु, मृतसञ्जीवनी जेभीले २०७४ पुस १३ गते ८७ करोड ४२ लाख २९ हजार ९ सय ७२ रुपैयाँमा १९.११ किलोमिटर सडक निर्माण कार्य २०७७ असार १३ गते सम्पन्न गर्न ठेक्का सकार गरेको सो कम्पनीका साइट इन्चार्ज जयमोद झाले बताए। उनले सडकमा अर्थ फिलिङ, सव बेससहितका कार्यहरू सम्पन्न भएको र असोजदेखि ब्ल्याक टपको कार्य गर्न लाग्दा बाढीले सबै ध्वस्त बनाएको जानकारी दिँदै बाढीबाट साढे १३ करोडको क्षति भएको बताए।

प्रकाशित: १४ श्रावण २०७६ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App