६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खानेपानी अभाव झेल्दै प्रदेश राजधानी

गणेश विशु

वीरेन्द्रनगर - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बासिन्दा खानेपानीको अभाव झेल्न बाध्य छन्। पुरानो खानेपानी ट्यांकीको क्षमता वृद्धि नगरिँदा र अन्य खानेपानीको स्रोत उपत्यकाभित्र नहुँदा खानेपानीको समस्या बर्सेनि बढ्दै गएको छ। पानीको समस्या बढ्दै गएपछि यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ। एक ग्रागी पानी भर्न घण्टौं कुर्नुपर्ने स्थिति सदरमुकामवासीको नियति बनेको छ। २०६४ सालमा वीरेन्द्रनगरका नौ हजार घरधुरीलाई पुग्नेगरी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (साबिकको झुप्रा बृहत् खानेपानी आयोजना) ले खानेपानी वितरण गरेको थियो।

त्यतिबेला यहाँको जनसंख्या करिब ५२ हजार ६ सय थियो भने घरधुरी करिब नौ हजार थियो। अहिले यो संख्या बढेर करिब दुई लाखभन्दा बढी पुगेको छ। अहिले वीरेन्द्रनगरको घरधुरी संख्या नै ३३ हजार पुगिसकेको सरोकारवालाको भनाइ छ।

‘पहिला थोरै घरधुरी थिए,’ सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमनि देवकोटाले भने, ‘त्यतिबेला सबै घरधुरीलाई खानेपानी पुगेको थियो,’ उनले भने, ‘तर अहिले बर्सेनि घरधुरी थपिँदै जाँदा सबै घरमा पानी पु¥याउन समस्या भएको छ।’ अहिले करिब ३३ हजार घरधुरीमध्ये १७ हजार घरधुरीमा मात्र खानेपानीको पहुँच पुगेको छ तर पर्याप्त पानी नहुँदा समस्या उस्तै छ। प्रदेश राजधानी भएसँगै यहाँको जनसंख्या दैनिक बढ्दो क्रममा छ। खानेपानीको क्षमता वृद्धि नगरे वीरेन्द्रनगरमा पानीको ठूलो समस्या हुने स्थानीय चित्र शाहीले बताए। दीर्घकालीन सोच राखेर खानेपानीको क्षमता वृद्धि गर्नुपर्ने र अन्य पानीका मुहानबाट समेत खानेपानी ल्याउनुपर्ने उनको भनाइ छ।

यहाँ झुप्रा खोला, खरीबोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुले खोलाको मुहानबाट पानी ल्याइएको छ। त्यतिबेला करिब ६१ करोड ६९ लाखमा सो खानेपानी आयोजना निर्माण गरिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिले जनाएको छ। ‘साँझबिहान एकैछिन पानी आउँछ,’ स्थानीय राधिका खत्रीले भनिन्, ‘चाहिएजति पानी भर्नै पाइन्न।’ धाराको पानी पर्याप्त नहुँदा विभिन्न कम्पनीको पानी किनेर खान बाध्य भएको उनले बताइन्। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका चन्द्र देवकोटाले खानेपानी समस्या समाधानबारे छलफल भइरहेको बताए। ‘भेरी बबई डाइभर्सनको पानी पम्पिङ गरेर उपत्यकामा ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘सो आयोजनापछि यहाँको खानेपानी समस्या समाधान हुन्छ।’ करिब ३ अर्बको कार्यक्रम बनिरहेको भन्दै उनले आउँदो वर्षमा त्यसको टेन्डर आह्वान हुने बताए।

हाल २६ वटा पानीपोखरीबाट यहाँ खानेपानी आउँछ। २० देखि ४ सय घनमिटरका ट्यांकीमा ४५ सय ९० घनमिटर पानी अटाउने उनले बताए। ८ सय घनमिटर क्षमताका तीनवटा ट्यांकीको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। हाल सो खानेपानी उपभोक्ता समितिले दिनमा एकपटक मात्र पानी वितरण गर्दै आएको छ। जनसंख्या बढ्दै गएकाले पछिसम्मको पुस्तालाई पुग्नेगरी खानेपानीको क्षमता बढाउनुपर्ने यहाँका बासिन्दाको भनाइ छ।

प्रकाशित: १३ श्रावण २०७६ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App