१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एसइईमा फेरि ३ लाख ६० हजारले जाँच दिन पाउने

काठमाडौं -  शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा सि वा सिभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीको सबै विषयमा ग्रेड वृद्धिका लागि परीक्षा लिनू भनी राष्ट्रिय परीक्षा बोर्डलाई असार २० गते निर्देशन दिएपछि एसइईका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले आफूले जिम्मेवारी वहन गर्न नसक्ने जनाउँदै शिक्षामन्त्री समक्ष लिखितपत्र बुझाएका छन् ।

मन्त्रिस्तरीय निर्णयले एसइईमा सि वा सिभन्दा मुनी ग्रेड प्राप्त गरेका ३ लाख ६० विद्यार्थीहरु रहेको बताउँदै परीक्षा नियन्त्रक अधिकारीले फेरि यो परीक्षा लिनुपर्दा ठूलो चुनौती थपिने जनाए । साथै मन्त्रालयले व्यवस्थापन गरेको बोर्डको कक्षा १२ को परीक्षा नियन्त्रक उपसचिव र एसइईको नियन्त्रक सहसचिव भएकाले पनि उनले असन्तुष्टि जनाएका छन् ।

एसइईको निर्देशिका अनुसार ग्रेडवृद्धिको पूरक परीक्षामा व्यवस्था भए अनुसार दुई विषयमा सि वा सिभन्दा मुनि ग्रेड प्राप्त गर्ने विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिने व्यवस्था छ । त्यहीअनुसार बोर्डले सूचना प्रकाशित गरेको थियो । तर असार २० गते मन्त्रीको निर्देशन आएपछि असार २२ गते सच्चाइएको सूचना प्रकासित गरी सबै विषयमा परीक्षा दिन पाउने व्यवस्थासहितको सूचना प्रकाशित गरिएको उनले जनाए । ‘एकातिर निर्देशिकामा दुई विषयमा मात्र पूरक ग्रेड वृद्धि दिन पाउने व्यवस्था भएकाले बोर्डले त्यही अनुसारको सूचना प्रकाशित गरेको थियो,’ नियन्त्रक अधिकारीले नागरिकसँग भने, ‘तर निर्देशिकामै व्यवस्था नभएको सूचना प्रकाशित गर्नुपर्दा असहज परिस्थिति उपत्पन्न हुन्छ ।’ उनले थपे, ‘४ लाख ५९ हजार बढीको नतिजा प्रकाशन गरेको केही दिनमै ३ लाख ६० हजारको परीक्षा व्यवस्थापन गर्न असहज हुन्छ ।’

उनले एसइईको परीक्षाभन्दा एक लाख मात्र कम विद्यार्थीको ग्रेडवृद्धि परीक्षा गर्नु फेरि एसइई जस्तै ठूलो परीक्षा सञ्चालन गर्नु सरह हुने भएकाले प्रश्नपत्र छपाइदेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशन व्यवस्थापन खर्च सबै उस्तै हुने जनाए । यति मात्र होइन सबै विषयमा विद्यार्थीले फारम भरे भने नतिजा पनि समयमा आउन नसक्ने उनी बताउँछन् । तर पूरक ग्रेड वृद्धिको मर्म चालू शैक्षिक सत्रमै अध्ययन पूरा गर्न ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नु हो । ‘तर भाद्र १ गतेदेखि ११ गतेसम्म ३ लाख ६० हजारको परीक्षा सञ्चालन गर्ने हो भने नतिजा असोजमा प्रकाशन गर्न सकिँदैन,’ नियन्त्रक अधिकारीले भने, ‘यस विषयमा तयारी पनि पुगेको छैन । यदि परिक्षा भइहाल्यो भने पनि नतिजा मंसिर पुस तिर मात्र हुन्छ । त्यसले त एक वर्ष खेर नै जाने भयो ।’

ग्रेडवृद्धिको नाममा कमजोर विद्यार्थीहरुलाई पनि जबरजस्ती पास गराउनु समग्र विद्यालय शिक्षा ध्वस्त बनाउनु सहर भएको विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् ।

उनले सरकारले सबैलाई अब्बल नै बनाउने हो भने परीक्षाको नाटक किन गरेको भन्ने प्रश्न उनले गरे । ‘पहिलो पटक लिइएको एसइई परीक्षाको नतिजामै सबैलाई सिभन्दा माथि ग्रेड थपेर पास गराइदिए भइहाल्थ्यो,’ कँडेलले भने, ‘हाम्रो देशको सवालमा ग्रेडिङ प्रणालीको नतिजा असफल हँुदै गइरहेको महसुस भएको छ । दातृ निकायको दबाबमा सबैलाई पास गराउने नीति राष्ट्रकै लागि घातक हुनेछ ।’ अब सरकारी विद्यालयको गुणस्तर झनै खस्कने उनको धारणा छ । उनले सरकारले ग्रेडिङका लागि विद्यालयमा वातावरण तयार नपारी बिनाअध्ययन हतारमा कार्यान्वयन गर्दा समस्या आएको बताए ।

प्रकाशित: ६ श्रावण २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App