४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिनास तीन दशकपछि अनुसन्धानमा

काठमाडौं - तीन दशकदेखि काम नपाएर बसेको त्रिभुवन विश्वविद्यालयका नेपाल एसियाली अनुसन्धान केन्द्र (सिनास)ले यो वर्षदेखि अनुसन्धानको काम थाल्ने भएको छ । राज्यलाई सामाजिक विज्ञान, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धनमा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सुझाव दिने उद्देश्यसाथ ४७ वर्षअघि स्थापित सिनासलाई सरकारले सुरुका केही वर्ष बजेट दिए पनि पछि भने बेजेट दिएको थिएन । जसले गर्दा तीन दशकदेखि सिनासले अनुसन्धानको कुनै काम गर्न नसकेको सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले बताए ।

उनले तीन दशकपछि बल्ल सिनासले अनुसन्धानकै लागि पाँच कारोड बजेट पाएको बताए । सरकारले अनुसन्धानका लागि उपलब्ध गराएको बिजेट अनुसन्धानकै लागि मात्र खर्च गरिने उनले प्रतिबद्धता जनाए ।

‘त्रिविमा विज्ञान, आर्थिक, शिक्षा तथा समाजिक क्षेत्रमा अनुसनधान गरी सरकारलाई सुझाव दिने उदेश्यले रिकास्ट, सेडा, सेरीड र सिनास गरी चार वटा अनुसन्धान केन्द्र स्थापना गरिएका हुन् । सरकारले बजेट नदिँदा अनुसन्धान केन्द्र प्रायः निस्क्रिय नै रहेका थिए,’ कार्यकारी निर्देशक कार्कीले भने, ‘सरकारले उपलब्ध गराएको पाँच करोड बजेटमध्ये हिमालयन अध्ययन, बेल्ट एन्ड रोड र लुक साउथ विषयमा आधारित एक÷एक वर्षे अवधिको अनुसन्धानको काम सुरु भइसकेको छ ।’ यसका साथै सिनासले पाँच लाखको फेलोसिप दिने पनि कार्यविधि बनाएको छ । कार्कीका अनुसार सिनासले प्रयागराज शर्मा, डोरबहादुर बिष्ट, खड्गविक्रम शाह, र धनव्रज बज्राचार्यको नाममा फेलोसिप स्थापना गरिएको छ । उनका अनुसार हाल केन्द्रमा १० वटा मिनि प्रोजेक्ट र अन्तर्राष्ट्रिय स्तरको सेमिनार गर्ने तयारी भइरहेको छ । यसका साथै दशकौंदेखि बन्दजस्तै रहेको चाइना, जापान, भारत र सार्क डेस्कसमेत पुनः सक्रिय भएको ।

केन्द्रका अनुसन्धाता पेशल निरौलाले बल्ल विज्ञहरुले अनुसन्धान गर्ने अवसर पाएको प्रतिक्रिय दिए । उनले अनुसन्धानबिनाको विश्वविद्यालयको अध्ययन पूरा नहुने बताउँदै यसले विश्वविद्यालय शिक्षाको प्राज्ञिक र शैक्षिक उन्नयनमा सकारात्मक भूमिका खेल्ने बताए । उनले भने, ‘सरकारले सिनास मात्र होइन चारै अनुसन्धान केन्द्रका विज्ञलाई राज्यका लागि प्रयोग हुने गरी अध्ययन अनुसन्धानको काम गराउन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित: ३ श्रावण २०७६ ०२:०५ शुक्रबार

त्रिभुवन_विश्वविद्यालय नेपाल_एसियाली_अनुसन्धान_केन्द्र अनुसन्धान