२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विदेशले खोसेको सपना

चन्द उठाएर छिमेकीहरूले बनाइदिएकोे झुपडीमा कञ्चन गाउँपालिका–५, वीरवलडाँडाकी संगीता। तस्बिरः नागरिक

रुपन्देही– बस्ने बास छैन। खाने अन्न छैन। श्रीमानले दोस्रो बिहे गरेर सम्पर्कविहिन भए। यस्तै अवस्थामा थिइन्, रुपन्देही कञ्चन–५ बिरवलडाँडाकी संगीता विक।

निःशुल्क विदेश पठाइदिने दलाल (एजेन्ट) गाउँ आएपछि विदेश जाने निधोमा पुगिन् उनी। तीन वर्षअघि आठ वर्षीय छोरालाई भाइबुहारीको भरोसामा छाडेर ओमन लागिन्। रात काट्ने बास र साँझबिहानको छाक टार्नकै लागि उनी ओमन गएकी थिइन्। तर, ओमनले उनको सपनामा ठेस् लाग्यो।

जति तलब दिने भनेर भनियो, त्यति तलब पाइनन्। ‘जसोतसो काम त गरेकै थिएँ, तर घर सफा गर्दा दुई तलाबाट लडेँ, ढाँड भाँचियो, खुट्टा पनि भाँचियो, अहिले काम गर्न नसक्ने अवस्थामा छु,’ संगीताले भनिन्। ओमन पुगेको पाँच महिनामै संगीता गाउँ फर्किन्। फर्कँदा उनी मरितुल्य भएर फर्किन्। छिमेकीहरूले उनी बाँच्लिन भन्ने नै सोचेका थिएनन्। ‘सञ्चो त भएको छ, तर काम गर्न सक्दिनँ, छिमेकीले दयामाया गरेर सानो झुप्रो बनाइदिएका छन् यहीँ बसेको छु,’ उनले दुखेसो पोखिन्। उनी अहिले एक प्रकारले अशक्त जिन्दगी बाँच्नुपरेको छ। घर सुधार्ने र छोरालाई राम्रोसँग पढाउने उनको सपना यतिकै तुहिएको छ। १२ वर्षीय छोरा कक्षा ६ मा पढ्दै छन्। तर, उनको खर्च र साँझ बिहानको छाक टार्न धौ–धौ परेको छ। ‘विदेशमा सुःख पाइन्छ भनेर गएँ, काम पनि सोचे जस्तो पाइनँ, अशक्त भएर बाँच्नुपरेको छ,’ उनले सुनाइन्। त्यति धेरै दुःख पाएर फर्के पनि उनलाई विदेश पठाउने व्यक्ति को थियो, कसले पठायो केही पत्तो छैन।

‘जसोतसो काम त गरेकै थिएँ, तर घर सफा गर्दा दुई तलाबाट लडेँ, ढाँड भाँचियो, खुट्टा पनि भाँचियो, अहिले काम गर्न नसक्ने अवस्थामा छु,’ संगीताले भनिन्।

सोही गाउँकी २४ वर्षीया देवी विक दलालकै फन्दामा परेर भारत पुगिन्। १३ वर्षको हुँदा उनी भारतको पञ्जाब पुगेकी थिइन्। छिमेकीले पैसा सजिलै कमाइन्छ भनेपछि उनी त्यहाँ गएकी थिइन्। उनी सजिलै पैसा कमाउने भनेर भारत त गइन्। तर, अवस्था त्यस्तो थिएन। पञ्जाबका विभिन्न ठाउँमा नाच्ने काममा लागिन्। परिवारका सदस्यले जान रोक लगाउँदा पनि भागेर देवी पञ्जाब पुगेकी हुन्। ‘मौसमी काम त्यसमा पनि ठेक्का लिने साहुले दैनिक तीन सय मात्रै दिन्थ्यो,’ उनले भनिन्, ‘पछि बल्लबल्ल भागेर नेपाल आएँ।’ त्यतिखेर उनी आफ्नो श्रम शोषण र बेचबिखनमा परेको पत्तो नै पाइनन्। जब उनी नाच्दानाच्दै कसैलै झम्टन खोज्यो तब मात्रै आफूमाथि शोषण भएको थाहा पाइन्।

संगीता र देवी जस्तै घरको आर्थिक अवस्था सुधार गर्न विदेश जाने बहानामा बेचबिखनमा पर्ने गरेका छन्। रुपन्देहीजस्तो सचेत जिल्लामा पनि गाउँका अभावग्रस्त क्षेत्रमा नयाँ स्वरुपमा मानव बेचबिखन गर्ने गिरोह सक्रिय भएको पाइएको हो।

गाउँ तथा सहर बजारको पनि सुकुमबासी र आर्थिकरूपमा विपन्न दलित तथा सीमान्तकृत समुदायका महिलाहरूलाई लक्षित गरेर मानव बेचबिखन गर्ने व्यक्तिहरू सक्रिय देखिएको अधिकारकर्मीहरू बताउँछन्।

केही महिनाअघि मात्रै कपिलवस्तु हुँदै भारतीय सीमा पु-याइसकेका तीन किशोरीलाई स्थानीय महिला अगुवाहरूले उद्धार गर्न सफल भए। गाउँका तीन किशोरीलाई उद्धार गरेर गाउँ फर्काउन सकिएको जागरण महिला समूह सचिव भूमिकला विकले बताइन्। उनले भनिन्, ‘हाम्रो गाउँमा आर्थिक अवस्था कमजोर भएका समुदाय छन्, विदेश जाने महिलाहरूको संख्या पनि धेरै छन्, रोजगारीका नाममा पीडा सहनुपरेको छ,’ उनले भनिन्।

श्रीमान मदिराको तालमा मस्त हुँदा आर्थिकरूपमा संकट निम्तिएपछि कञ्चन गाउँपालिकाको भैसाही गाउँमा विदेश जाने बहानामा बेचबिखन हुँदै आएको शिक्षिकासमेत रहेकी स्थानीय अगुवा मीना विकले बताइन्। अधिकांश दलित समुदायको बसोबास रहेकाले यहाँ दलालहरू नयाँनयाँ भेषमा आउने गरेको उनले बताइन्। २–३ वर्ष यता भने स्थानीय महिलाहरूनै समूह बनाएर अग्रसर हुन थालेपछि सचेतना बढ्न थालेको छ।

युवा पुस्तामा फेरि सामाजिक सञ्जालबाट चिनजान गरेर विदेश लैजाने बहानामा फसाउन थालिएको उनले सुनाइन्। रुपन्देहीको पश्चिममा अवस्थित कञ्चन गाउँपालिकासहित ग्रामीण भेगमा रोजगारी दिलाउने बहानामा नयाँरूपमा मानव बेचबिखनको टोली सक्रिय भएको सुनगाभा सामुदायिक विकास केन्द्रका मानव बेचबिखनविरुद्ध क्रियाशील अभियन्ता जीतेन्द्र चौधरीले बताए। उनले कञ्चन, शुद्धोधन र गैडहवा गाउँपालिकामा दलित, मधेसी र सीमान्तकृत समुदाय जहाँ आर्थिकरूपमा विपन्न छन्, त्यहाँ विदेश लगिदिने भनेर श्रमशोषणमा पार्ने काम भइरहेको बताए।

प्रत्यक्षरूपमा मानव बेचबिखनका घटना भने निकै कम देखिएको प्रहरीको भनाइ छ। तर, भारत हुँदै तेस्रो मुलुकमा रोजगारी लगाइदिने, प्रलोभनमा पारेर विवाह गरेर भारतका विभिन्न मसाज सेन्टरमा लैजाने गिरोह भने सक्रियनै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी धर्मराज भण्डारीले बताए। बेलहिया नाका हुँदै भारतमा नेपाली चेलीहरु लैजाने गरिएको उनले बताए।

उनले मुख्य गरी सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, इलाम, पाँचथरबाट महिलाहरूलाई बेलहिया नाका हुँदै भारत लगेर बेचबिखन गर्ने गरिएको बताए। ‘पहिला जस्तो सीधै बेचबिखन गर्न लगेको पाइँदैन, विदेशमा काममा लगाउने बहानामा यस्तो काम भइरहेको छ,’ डिएसपी भण्डारीले भने।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक वर्ष २०७५/०७६ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध १५ वटा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको छ। प्रहरीले भारतका विभिन्न ठाउँबाट नेपाली चेलीहरूको उद्धारसमेत गर्दै आएको छ।

प्रकाशित: २९ असार २०७६ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App