१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय नहर भत्काएपछि जोगिए नेपालका दर्जनभन्दा बढी गाउँ

बाढीले बगाएको छिपहरमाईको मुख्य सडक ।  तस्विरः नागरिक

वीरगन्ज– दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँपालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिमबाट निस्किएको छ। ओरिया नदी र बर्खे पानीको निकास साघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ। 

गत बुधबारदेखि शनिवार मध्यान्नसम्म परेको अबिरल बर्षाका कारण छिपहरमाई गाउँपालिकामा रहेका गाउँहरु, भिस्वा, जयमंगलापुर, मिर्जापुर, बुडगाई, सम्भौंता, टिहुकी, चारगाँहा लगायतका गाउँहरु एकआपसमा र जिल्लाका बाकी भुभाग संग छुटेका छन्। ‘बाढीले गाउँका मुख्य सडकहरु बगाएको छ। नयाँ बनेका पुलका किनारामा सडक कटेको छ,’ गाउँपालिकाका प्रमुख मनोज पटेलले भने, ‘सिमापारीको नहर स्थानीय र भारतीय सशस्त्र सुरक्षा बल मिलेर काटेपछि यता हामीले राहतको साँस फेरेका छौं।’ दशगजा र नहरको विचमा भारतीय भुभाग र गाउँहरु छन्। यसले गर्दा स्थानीयको दबावमा एसएसबिले बाँधजस्तो नहर काटेपछि नेपाली गाउँका बासिन्दाले पनि राहत पाएका हुन। 

गुप्ताका अनुसार छिपहरमाइ गाउँपालिकामा १८ वटा घर बाढीले पुर्ण रुपमा क्षतिग्रस्त भएका छन्। सयौं मानिसहरु घर छोडेर बिस्थापित भएका छन्। गाउँपालिकाले ट्रकका ट्युब र रस्सी र अन्य उद्धार सामग्री पहिलेदेखि तयार गरेर राखेकोले यसपाली उक्त क्षेत्रमा उद्धार कार्य बृलैमा हुन सकेको स्थानीयले बताए। सशस्त्र प्रहरी बलको मद्दतले उद्धार कार्य गरिएको गुप्ताले बताए। 

हरेक बर्ष डुबान 

अलिक बाक्लो झरी पर्नासाँथ डुबानमा पर्ने क्षेत्र हो छिपहरमाई अर्थात नवगाँवा। सिमापारी तीन लाइनमा बाँध जस्तो भारतीय संरचना छ। जसले नेपाली भुभागलाई घेरेर डुबानमा पार्छ। त्यसमा नहर र रेल लाइन पुरानै संरचना हो भने भारतीय अर्धसैनिक ‘सिमा सुरक्षा बल’ (एसएसबि)को गस्तीको लागि केही बर्ष अगाडि मात्र एउटा सडक थपिएको छ। ति संरचनामा ठोक्किएर पानी नेपालतर्फ फर्किने हुँदा नेपाली भूभाग डुवानमा पर्दै आएको छ। बाढीमा नेपाली भूभाग मात्र हैन भारततर्फ नहरको उत्तरपट्टीका बस्तीहरु पनि डुवानमा पर्ने गरेका छन्। हरेक वर्ष बाढीको चपेटामा पर्दै आएका नेपाली किसानले लगाएको धानवाली नष्ट हुने गरेको समस्या यसपाली पनि दोहरिएको छ। ति संरचनाको घेराबन्दीले गर्दा सीमा वारपारका हजार बढी घरधुरी बाढीका चपेटामा परेको स्थानीय रामदानी साह कानुले बताए। 

नेपालतर्फ मिर्जापुरभन्दा माथि उतरमा ओरिया नदीको चौडाई धेरै भएपनि दक्षिणमा भारतीय सिमातिर तिर बढ्दै जाँदा नदी साघुरो हुदै गएको छ। यसले बर्षायाममा आउने चुरेको फेददेखिको ठूलो जलराशीलाई थेग्न सक्दैन। हरेक वर्ष वाढीका कारण मिर्जापुर, जयमंगलापुर, भिषूवा, सम्भौता, बुडगाई, टिहुकी, तुलसीवर्वा लगायतका गाउँ प्रभावित हुनुका साँथै वर्षेनी करोडौ रुपैयाको नोक्सानी खप्नु परेको छिपहरमाई –३ का रामबहादुर साह बताउछन्। ‘बाढीले हरेक बर्ष बर्षायाम यस क्षेत्रका बासिन्दाको लागि आपत बनेर आउँछ। यो बर्ष मानवीय क्षति भएको छैन, इश्वरको कृपा छ’, सहले भने।

प्रकाशित: २८ असार २०७६ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App