१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरोले सिन्धुलीमा दुई सय पोल बगायो, विद्युत सेवा अवरुद्ध

सिन्धुली– लगातार चार दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको विद्युत सेवा अवरुद्ध भएको छ। बर्षाका कारण बाढी र पहिरोले विद्युतका पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो। 

जिल्लाका विभिन्न स्थानमा गरि करिब २ सय २५ बढी पोल बगाएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा सिन्धुलीले जनाएको छ। वितरण शाखाका सूचना अधिकारी इन्जिनियर राजु महतोका अनुसार जिल्ला सदरमुकामका केहीँ स्थानमा विद्युत ठुलो कसरत पछि सुचारु गरिए पनि जिल्लाभर अवरुद्ध भएको छ। कमला नदीले त्यस क्षेत्र आसपासका पोलहरु बगाउँदा दुधौली नगरपालिकामा पूर्ण रुपमा विद्युत सेवा अवरुद्ध भएको छ। 

यस्तै जिल्लाको सुनकोसी क्षेत्रका अधिकांश पोल ढलेर विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ। सूचना अधिकारी महतोका अनुसार  कमलामाई नगरपालिकास्थित चियाबारीदेखि गोलञ्जोर सुनकोसी क्षेत्रको विद्युत पुर्ण रुपमा अवरुद्ध भएको छ।

‘जिल्लाभर सयौको संख्यामा पोलहरु बाढी तथा पहिरोले बगाएको छ’, सूचना अधिकारी महतोले भने, ‘कहाँ कति क्षति भन्ने एकिन भएको छैन जताततै क्षति छ। कतिपय स्थानका पोलहरु बाढीले बगाएर पोल नै छैन, कतिपय पोलहरु ढलेका छन्, जताततै तार चुडिएको छ। पानी नरोकिएसम्म सबै क्षेत्रको विद्युत सूचारु गर्न सकिने अवस्था छैन।’ 

वितरण केन्द्रका प्राविधिक कर्मचारीहरु विद्युत सूचारु गराउनका लागि निरन्तर खटिरहेको विद्युत कार्यालयले जनाएको छ। ‘बर्षाका कारण गाडी तथा मोटसाइकल समेत जान सक्ने अवस्था छैन यसैले मर्मत सम्भारमा कठिनाई भएको हो’, इन्जिनियर महतोले भने, ‘बर्षा कम हुनसाथ चाडो भन्दा चाडो लाइन सुचारु गर्न कोसिस गर्छौं।

बाढी पहिरोले सुनकोसी गाँउपालिकामा मात्रै एक सयभन्दा बढी पोल बगाएको कार्यालयले जनाएको छ। बाढी पहिरोले पोल बगाएपछि दुई दिनदेखि सिन्धुलीका विभिन्न स्थान अन्धकारमय बनेका छन्। 

प्रकाशित: २८ असार २०७६ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App