१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिका र १२ वडा कार्यालयमा लगाइएको ताला तोडियो, शंकास्पद वस्तु डिस्पोज गर्न सेना

सदरमुकाम घरेलुमा रहेको आलिताल गाउँपालिकाको कार्यालय ।

डडेल्धुरा– भित्रि मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। शंकास्पद वस्तु हटाउन भने सकिएको छैन। आलिताल गाउँपालिका तथा ८ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला तोडिएका हुन्। आइतबार बिहान आलिताल गाउँपालिकाको कार्यालयसंगै आठ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा तालाबन्दी गरेको भेटिएको थियो। परशुराम नगरपालिकाका दुई वटा वडा कार्यालयमा बोरामा बेरिएर राखिएका शंकास्पद वस्तु समेत फेला परेको थियो। 

शंकास्पद वस्तु बम पनि हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। आलिताल गाउँपालिकासंगै वडा कार्यालयमा लगाइएका ताला नेपाल प्रहरीले तोडेको छ। 

आइतबार विप्लव समूहको अघोषित बन्द भएकाले उक्त समूहले ताला लगाई शंकास्पद वस्तु राखेको हुन सक्ने कतिपयले अनुमान गरेका छन्। तर प्रहरी प्रशासनले भने ताला कसले किन लगाएको हो र शंकास्पद वस्तु कसले राखेको भन्ने अहिले नै भन्न नसकिने अवस्था रहेको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। 

भित्रि मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिका विप्लव समूहको पकड रहेको क्षेत्र हो। विप्लप समूहले बन्दको आह्वान गरेको समयमा यी दुइटै स्थानीय तहमा शंकास्पद वस्तु भेटिने गरेका छन्। तर, यस बिषयमा विप्लव समूहले कुनै प्रतिक्रिया जनाएको छैन। 

दुइटै स्थानीय तहमा बहुमत नहुँदा जनप्रतिनिधिबीच विवाद समेत हुँदै आएको छ। परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसबाट चुनिएका छन् भने वडा अध्यक्षमा नेकपाबाट निर्वाचित भएका छन्। बेलाबेलामा जनप्रतिनिधिबीच हुने विवादका कारण डर त्रास देखाउन पनि राजनीतिक क्षेत्रबाटै तालाबन्दी गरी शंकास्पद वस्तु समेत राखेको हुन सक्ने कतिपयको आंकलन छ। 

प्रकाशित: २२ असार २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App