१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अमेरिकी दूतावास प्रतिनिधिलाई सात दिनको म्याद

काठमाडौं - काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यसअघि पनि अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीका रुपमा अदालतमा आउन आदेश गरेको थियो।

यसअघि चैत १२ मा दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी गरेको थियो। आदेश अटेर गरी अदालतमा उपस्थित नभएपछि सोही इजलासले अर्को आदेश जारी गर्दै सात दिनको समय दिएको हो। सात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन दोस्रोपटक आदेश गरेको हो। 

अमेरिकी डिभी चिट्ठा परेका एक नेपालीको प्रमाणपत्र नक्कली भएको भन्दै दूतावासले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। डिभी परेका दीपक कटुवालले पेस गरेको कक्षा १२ उत्तीर्ण प्रमाणपत्रमाथि शंका लागेपछि दूतावासले छानबिनका लागि पठाएको थियो। राष्ट्रिय परीक्षा बोर्डले उक्त शैक्षिक प्रमाणपत्र ‘नट भेरिफाई’ भनेपछि कटुवालमाथि मुद्दा चलाइएको थियो। थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले कटुवाललाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। उनी अहिले थुनामा छन्। त्यसपछि बकपत्रका लागि दूतावासका प्रतिनिधिलाई अदालतमा बोलाइएको थियो।

बकपत्रका लागि सात दिनभित्र अदालत नगए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश

‘उल्लिखित म्यादभित्र उपस्थित हुन नआए साक्षीको हकमा दुई हजार रुपैयाँ जरिवाना गरी ऐनको दफा ५८ बमोजिम पक्राउ पुर्जी जारी गरी पक्राउ गरी बकपत्रका लागि उपस्थित गराउनू’, आदेशमा भनिएको छ। जाहेरवाला अमेरिकी दूतावासको पत्रमा उल्लेख भएका जेम्स गुआन्सी, एसिस्टेन्ट रिजनल सेक्युरिटी अफिसर इन्भेन्टिगेटरलाई प्रमाण ऐन २०३१ को दफा १८ अनुसार बुझ्न बोलाइएको थियो। अदालतले ‘प्रिभिलेज’ व्यक्ति हो/होइन, के का आधारमा मुद्दा चलाइएको भन्ने विषयमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो।

अदालतले कूटनीतिक विशेषाधिकार लागू हुनेनहुने स्पष्ट गरी परराष्ट्र मन्त्रालयमार्फत बुझ्न आदेश गरेको थियो।‘ सात दिनको म्याद दिई नेपाल र संयुक्त राज्य अमेरिकाबीच हाल आपसी कानुनी समझदारी सन्धि भइनसकेकाले परराष्ट्र मन्त्रालयमार्फत अधिकृत कार्यरत रहेको दूतावासमा तामेल गर्न लगाई त्यस पदमा बहाल रहेको भए निजैलाई र बहाल नरहेको भए सट्टामा काम गर्ने व्यक्तिलाई बकपत्रका लागि उपस्थित गराउन लगाउनू’, आइतबारको आदेशमा भनिएको छ।

प्रकाशित: १६ असार २०७६ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App