१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सांसद, अभिनेत्रीलगायतको एसइईपछिको योजना, करिश्मा दोधारमा

मञ्जु गौतम/देवेन्द्र बस्नेत
काठमाडौं/दाङ - माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक भएसँगै उत्तीर्ण सांसद, अभिनेत्रीलगायतले एसइईपछिको विविध सपनाका सँगालेका छन्। यसवर्षको एसइईमा सहभागी प्रतिनिधिसभा सदस्य शान्ता चौधरी बि ग्रेड र उनकी छोरी बिनु चौधरी बि प्लस ग्रेडसहित उत्तीर्ण भएका छन्। चर्चित अभिनेत्री करिश्मा मानन्धरले पनि बि प्लस ग्रेड ल्याएकी छन्।

बि ग्रे एसइई उत्तीर्ण भएकी सांसद चौधरी कानुन पढ्ने योजना बनाउँदै छिन्। नेपालको कानुन निर्माण गर्ने तहमा रहेकी उनमा कानुनी व्यवस्थाबारे धेरै सिक्ने र पढ्ने उत्साह मौलाएको छ। ‘अब कानुन पढ्छु, कानुन निर्माण गर्ने थलोमा आफू भएकाले मलाई कानुनबारे धेरैभन्दा धेरै जानकारी आवश्यक छ,’ उनले भनिन्। चौधरी आफूसँगै छोरीको सफलतामा थप दंग छिन्। एसइई परीक्षा दिँदा उनको मनमा बि प्लस पक्कै आउँछ भन्ने दृढ विश्वास थियो। तर सोचेको ग्रेड नआए पनि प्राप्त सफलताले उत्साहित छिन् उनी। भन्छिन्, ‘तर मेरालागि ग्रेडभन्दा पनि शिक्षा महत्वपूर्ण थियो।’ ‘अनपढ सभापतिको सदस्यमा के बस्ने,’ भन्दै केही सदस्यले उनको नेतृत्वमा रहेको समिति छोडेको उल्लेख गर्दै उनले भनिन्, ‘त्यो बेला मलाई शिक्षाको महत्व बल्ल थाहा भयो।’

आफ्नो अझै पनि पढ्ने रहर भएको अभिनेत्री करिश्मा मानन्धरले बताएकी छन्। ४५ वर्षीया करिश्मा स्कुल ड्रेसमा नै परीक्षा दिन गएकी थिइन्। काठमाडौंको मैतिदेवीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भएरै पढ्न सुरु गरेकी थिइन्। अब मानविकी र व्यवस्थापनमा कुन पढ्ने भन्ने दोधारमा छु,’ अभिनेत्री मानन्धर भनिन् ‘शिक्षकहरूको सल्लाहबमोजिम उच्च अध्ययनका लागि सरकारी विद्यालयमा नै भर्ना हुनेछु।’ बुबाको किरिया बसेका बेंसीसहर नगरपालिका–७ लमजुङकी किरियापुत्री दरेश पौडेल पनि एसइईमा उत्तीर्ण भएका छन्। खाली खुट्टा, सेतो कपडामा पौडेल छैठौं दिनदेखि बुबाको किरियामा भएर पनि परीक्षा दिन गएका थिए। चितवनको रत्ननगर नपा टाँडीस्थित श्रीराम बौद्धिक संस्कृत गुरुकुलमा अध्ययनरत पौडेलले बुबाको क्रिया बस्दै चितवनबाट बेंसीसहर जनविकास मावि परीक्षा केन्द्रमार्फत परीक्षा दिएका थिए।

घरबाटै एसइई दिएकी शारीरिक रूपमा अशक्त बैतडी दशरथचन्द नगरपालिका–२ देहीमाडौंकी करिश्मा बोहराले सी प्लस ल्याएकी छिन्। शारीरिक रूपमा अशक्त भए पनि मानिस मानसिक रूपमा अरू जस्तै सशक्त हुन्छ भन्ने उदाहरण बनेकी छिन् बोहरा। चार वर्षअघि करेन्ट लागेर दुवै हातको आधा भाग र औंला गुमाएकी सविता थापा हातैले लेखेर एसइईको परीक्षामा पास गरेकी छिन्। उनी दुवै हातलाई आपसमा जोडी कलम च्यापेर लेख्ने गर्छिन्। करेन्टले दुवै हात चुँडाए पनि उनको पढ्ने इच्छालाई भने चुँडाउन सकेन। काठमाडौंको चामुण्डा माविबाट एसइई पास गरेकी उनको एसइईपछि विज्ञान पढ्ने र डाक्टर हुने धोको छ।

प्रकाशित: १३ असार २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App