२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वीरगन्जका सडक सुनसान

गर्मीका कारण सुनसान देखिएको वीरगन्ज । तस्बिर: रितेश त्रिपाठी/नागरिक

वीरगन्ज - महानगरपालिका कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ । वीरगन्ज महानगरपालिका कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षक महासंघको रायअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । ‘गर्मी अत्यधिक बढेकाले खास गरी ससाना बालबालिकालाई निकै समस्या छ,’ महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भने, ‘कतिपय विद्यालयमा जस्तापाताका छाना छन्, केही ठाउँमा पंखा नरहेको सूचना आएको छ, गर्मीलाई ध्यानमा राख्दै विद्यालय बिदा गरिएको हो ।’ अवस्था हेरेर एक सातासम्म यो बिदा बढाउन सकिने उनले बताए ।

मौसम पूर्वानुमान गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय एजेन्सीहरूले यस क्षेत्रमा गर्मी ४४ डिग्री सेल्सियस पुग्ने अनुमान गरेका छन् । अहिले ३ दिनदेखि तापक्रम ४० डिग्री सेल्सियसमा रहेको छ । ‘यस्तो गर्मी मैले अनुभव गरेको थिइनँ, अलिक फरक छ, राप बढी छ,’ वीरगन्ज छप्कैयाका कमल महतो नुनियाले भने, ‘पंखाको हावाले काम गरिरहेको छैन, राति अलि शीतल हुनुपर्ने हो त्यो पनि छैन ।’ घामको कारण घरबाहिर निस्किन छोडेको उनले बताए । गर्मीबाट बच्न चिकित्सकले सावधान रहन सुझाएका छन् ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. राकेश तिवारीका अनुसार गर्मीको असरले धेरै प्रकारका प्रभाव स्वास्थ्यमा पर्ने गरेको बताए । ‘तापक्रम असन्तुलनले रक्तचाप बढ्ने, घमबाट आएर फ्रिजको चिसो पानी खाएपछि दमको समस्या हुने, चिडचिडापन बढ्ने र खाना बिग्रिएर पेटसम्बन्धी रोग हुनेलगायत समस्या हुन्छन्, अहिले त्यस्ता बिरामी आइरहेका छन् ।’

प्रकाशित: १ असार २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App