१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन्। वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन्।

“भेडाबाख्रा चराउन वन जङ्गल छैन। गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,” महाकाली नगरपालिका–६ का भेडा व्यवसायी लोकेन्द्रसिंह बोहराले भने। “१०/१२ वर्षदेखि भेडापालन व्यवसायमा लागेको छु”, उनले भने, “वनजङ्गल छैन। गाउँमा चराउन मिल्दैन। गत वर्ष झण्डै १५० को हाराहारीमा भेडा थिए। बिक्री गरिसकेँ”, उनले भने, “अहिले ३० जति मात्रै पालेको छु। यति भेडाबाख्रा चराउन पनि वन छैन। गाउँमा वन नहुँदा अहिले भेडाबाख्रा चराउन व्यास गाउँपालिकाको वडा नम्बर १ नाम्पा हिमाल ल्याएको छु”, उनले भने।

भारतीय बाटो भएर नाम्पा हिमालसम्म बाख्रा चराउन ल्याइएको छ। बाटोमा ल्याउँदा निकै झण्झटिलो हुने बोहोराले सुनाउनुभयो। नेपालबाट भारतमा ल्याउँदा भन्सार, पशु विभाग र तोक लगाएबापत ११० भारतीय रुपैयाँ खर्च हुन्छ। अझ नाम्पा क्षेत्रमा चरिचरन बापत प्रतिबाख्रा कति रुपैयाँ तिर्नुपर्छ भन्ने थाहा नभएको बताएको छ। गत वर्ष अपि नाम्पा संरक्षण क्षेत्र र स्थानीयले सामुदायिक वनबापत दोहोरो शुल्क लिएका थिए। अहिले अपि नाम्पा संरक्षण क्षेत्रले रकम लिएको छैन तर स्थानीयले के गर्ने हुन जानकारी छैन।

गाउँबाट एकसाता लगाएर उक्त ठाउँमा भेडाबाख्रा लिएर भेडापालक गएका छन्। टाढा टाढा मात्रै वन जङ्गल छ। नाम्पा हिमाल क्षेत्रमा मात्र तीनदेखि पाँच हजार भेडा चराउने गरेका छन्। अपि फेद नाम्पा कौवा लेक हिमाल क्षेत्रमा अहिले भेडाबाख्रा चरिचरन खुला छ।

अर्का व्यवसायी गम्भीरे धामीले भने, “विगतमा हजारौँ भेडाबाख्रा थिए अहिले ६०० मा झारेको छु। यही भेडाबाख्रा पनि कहाँ लगेर पाल्ने भन्ने चिन्ता छ। अहिले गाउँको गर्मी छल्न लेकतिर लिएर पालन गरेका छौँ। लेकबाट ल्याएर बिक्री गर्नुपर्छ।” अधिकांश ठाउँमा सामुदायिक वनमा भेडाबाख्रा चराउन बन्द गरेपछि समस्या भएको भेडापालक किसानको भनाइ छ। भेडापालनबाट आम्दानी भए पनि चरिचरन अभावले समस्या भएको उनीहरुको गुनासो छ। अहिले जिल्लामा भेडा रु १० हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App