२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

'वर्ष बित्यो, न्याय पाइएन'

रौतहट - घरबाटै १३ वर्षीय बालकको अपहरण गरी हत्या भएको एक वर्ष बिते पनि पीडित परिवारले न्याय पाउन नसकेको गुनासो गरेका छन्। रौतहटको कटहरिया नगरपालिका–९ डुमरियाका दिलीप साहका छोरा शनिदेवल भन्ने युवराज साहलाई घरमै सुतिरहेको अवस्थामा स्थानीय वडा अध्यक्षकै निर्देशनमा १७ जना छिमेकीले अपहरण गरेका थिए। कटहरिया–९ का वडाअध्यक्ष रामअज्ञा राय यादवको निर्देशनमा घरमा सुतिरहेका बालकलाई अपहरण गरी एक करोड रुपैयाँ फिरौतीसमेत मागिएको थियो। घरमा सुतिरहेको बच्चा नभेटिएको र अपहरणकारीले एक करोड फिरौती नै माग गरेपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो।

आपराधिक समूहले अपहृत बालकका घरमा फोन गरी फिरौती नदिए बच्चा मार्ने बारम्बार दबाब दिएको थियो। दबाबपछि प्रहरीले अपराधी पत्ता लगाउन व्यापक रूपमा प्रहरी परिचालन गरेको थियो। पोल खुल्ने डरले आपराधिक समूहले तत्काल बालकको हातखुट्टा भाँचेर कन्चटमा गोली हानी हत्या गरेको र बागमती नदीको तटबन्धमा फालेको थियो। तर उनको हत्या भएको एक वर्ष बितिसक्दा पनि अझै न्याय पाउन नसकेको भन्दै पत्रकार महासंघ रौतहट शाखामा पीडित आफैंले बिहीबार पत्रकार सम्मेलनमार्फत गुनासो गरेका छन्।

प्रहरीले १७ जनामाथि अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरी वडाध्यक्ष यादवसहित १२ जनालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न तत्कालीन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान होशनारायण यादवसहित पाँचजना अझै फरार छन्। पक्राउ परेका १२ जनालाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेपछि वीरगन्जस्थित उच्च अदालतले चारजना पीडक कृष्णअवतार यादव, विकी राय यादव, सुधीर राय यादव र भोलाराय यादवलाई मंसिर १३ गते नै तारिखमा छोडिसकेको मृतकका बुबा दिलीप साहले बताए।

चारजना छुटेपछि पुनः वडाध्यक्ष यादव, कृष्ण राय यादव र रामबालक राय पनि १७ नम्बर फारम सर्वोच्चमा भरेको जेठ ३१ गते पेसी रहेकाले तिनीहरू पनि तारिखमा छुटाउन ठूलो आर्थिक चलखेल भइरहेको उनले आरोप लगाए। उच्च अदालतमा १७ नम्बर फारम भरेर कुन आधारमा उनीहरू गत मंसिर १३ गते कारागारबाट तारिखमा मुक्त भएका र अहिले पनि कतिपयले सर्वोच्चमा समेत अपिल गरिसकेकाले हत्यारा यसरी नै छुट्नुले आफूमाथि न्यायको साटो अन्याय भएको मृतककी आमा बबिता देवीले बताइन्।

उनले न्यायालयलाई अपराधीलाई कडाभन्दा कडा सजायको फैसला गर्न आग्रह गरेकी छिन्। पेसाले दिलीप र बबिता स्वास्थ्यकर्मी हुन्। ‘न्यायालयप्रति विश्वास छ तर फरार प्रहरी जवान होशनारायण यादवसहित फरार रहेका पाँच जनालाई हालसम्म स्थानीय प्रशासनले नियन्त्रणमा लिनसकेको छैन,’ उनले भनिन्।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App