२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लैंगिक समानता र समावेशितासम्बन्धी तालिम

सोलुखुम्बु – नमुना विद्यालय स्थापनाका लागि रिड नेपालले जिल्लाका विद्यालयमा लैंगिक समानता र सामाजिक समावेशीकरणमा जोड दिएको छ। जसका लागि रिड नेपालले हरेक विद्यालयमा ५ दिने तालिम सञ्चालन गर्दै आएको छ। तालिममा बाल क्लबका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक गरी १६ जना सहभागी हुँदै आएका छन्।

तालिममा लैंगिकता के हो ? यसको महत्व, वर्तमान अवस्था, समानता कसरी कायम गर्ने ? विद्यालयको बृहत्तर विकासमा समावेशिताको सिद्धान्तलाई कसरी अपनाउने ? जस्ता विषयमा छलफल चलाइएको र व्यवहारमा उतार्ने प्रतिबद्धतासमेत गराइएको छ।

लैंगिकता र समावेशिताको कमीले पनि शैक्षिक गुणस्तरमा प्रभाव पार्ने भएकाले सम्बन्धित सरोकारवालाका लागि तालिम आयोजना गरिएको रिड नेपालका जिल्ला संयोजक केशव गिरीले बताए। हालसम्म माप्य दूधकोसी गाउँपालिकाको रामपुर आधारभूत विद्यालय (आवि), थुलुङ दूधकोसी गाउँपालिकाको त्रिभुवन विद्योदय आवि, सोताङ गाउँपालिकाको लिढुंगा आवि, महाकुलुङ गाउँपालिकाको पेल्माङ आवि र नेचासल्यान गाउँपालिकाको सहिद नरनाथ आविमा तालिम सम्पन्न गरिसकिएको छ। सोलुदुधकुण्ड नगरपालिकाको गार्मा मावि र लिखुपिके गाउँपालिकाको बुढाकिन्जा आविमा तालिम सञ्चालन बाँकी रहेको छ।

 

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:०९ आइतबार

रिड_नेपाल लैंगिक_समानता समावेशिता तालिम