१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सवारी र ल्यापटप लिएर कर्मचारी फरार

जिल्ला समन्वय समिति धनुषाको कार्यालय। तस्बिरः नागरिक

धनुषा– तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीले कार्यालयको सामान लिएर फरार भएका छन्। देश संघीय संरचनामा गएपछि सरुवा भएको कुनै पनि कर्मचारीले कार्यालयका सवारी, ल्यापटपसहित अन्य सामग्री बुझाएका छैनन्। कार्यालयको कामका लागि प्रयोग गरेको सवारी, ल्यापटपसहितको सामग्री कुनै छलफल नगरी २८ जना कर्मचारी फरार भएका हुन्।

कर्मचारीले स्थानीय तहमा सरुवा हुँदा प्रयोग गर्दै आएको सामग्रीहरू कार्यालयलाई अहिलेसम्म नबुझाएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामप्रबोध यादवले जनाए।

कर्मचारीहरूले कार्यालयको कामका लागि प्रयोग गर्दै आएको सवारी, ल्यापटप, क्यामेरा र मोबाइल लिएर फरार भएका छन्। कर्मचारीले कार्यालयको २० थान मोटरसाइकल, एक थान स्कुटर, १९ थान ल्यापटप, सात थान क्यामेरा, दुई थान मोबाइल र एक थान हेडफोन नबुझाई फरार भएको कार्यालयले जनाएको छ। कार्यालयको महँगो उपकरणहरू लिएर जिविसका तत्कालीन अधिकारी, अधिकृत, नासु, सुब्बा र कार्यालय सहायकलगायतका कर्मचारीहरू फरार भएका छन्।

संघीय सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरिसके पनि पनि कर्मचारीले कार्यालयको सामग्री बुझाउन कुनै तरखर देखाएको छैन। मन्त्रालयबाट आएको समायोजन चिठीसहित कार्यालयको सामग्री बुझाउन कार्यालयले पत्राचार गरे पनि कर्मचारीले सामग्री बुझाउन कुनै सुरसार नदेखाएको कार्यालयले जनाएको छ।

घरमै बसी तलब भुक्तानी
प्रदेश २ मा कर्मचारी अभावमा काम हुन नसकिरहेको सम्बन्धित सरोकारवाला निकायले भन्दै आएको छ। तर जिल्ला समन्वय समिति धनुषाका ७ कर्मचारीले घरमै बसीबसी तलबभत्ता भुक्तानी गरिरहेका छन्। जिल्ला समन्वय समिति धनुषामा वर्तमान अवस्थामा १३ जना कर्मचारी कार्यरत रहेका छन्। तर खरिदार र कार्यालय सहयोगी तथा सवारी चालकलगायत ७ जनाबाहेक कुनै पनि कर्मचारी कार्यालय समयभर बस्दैनन्। कोही घरमा हुन्छन् त कोही बजार घुमिरहेका हुन्छन्। घरमै बसे पनि हाजिरी मिलाएर तलब भत्ता लिइरहेका छन्। स्रोतका अनुसार जिससका कर्मचारी कार्यालयमा हाजिरी गर्न मात्र आउँछन्।

कार्यालयमा प्रशासकीय अधिकृत रामप्रबोध यादव, लेखा प्रमुख आशुतोष ठाकुर, इन्जिनियर श्यामकिशोर मण्डल, सबइन्जिनियर भोलानाथ सिंह, नासु रामचन्द्र दास, जिन्सी शाखाका खरिदार सुरेन्द्र ठाकुर र कार्यालय सहयोगी सूर्यनारायण राउत कार्यालय समयभर कहिले पनि बस्ने गरेका छैनन्।
कार्यालयका सात जना कर्मचारीबाहेक अन्य कर्मचारीले घरमा बसेर नै तलब खाइरहेका छन्। उनीहरू बजारमा भएका बेला कार्यकक्ष खुला हुन्छ, कुर्सी खालि हुन्छ। बिदामा गएका बेला कार्यकक्षमा तालाबन्दी गरेको हुन्छ। कार्यकक्ष खुलेका बेला रेखदेख कार्यालय सहयोगीले गर्छन्। बिदा पनि जिसस प्रमुखलाई मौखिक जानकारी गराएर बस्ने गरेका छन्।

पर्यटक जस्ता कर्मचारी
कार्यालयका सात कर्मचारीबाहेक अन्य कर्मचारीहरू पर्यटक जस्तै कहिलेकाहीं मात्र आउने गर्छन् र हाजिरी गरी घर जान्छन्। लेखाप्रमुख आशुतोष ठाकुरलाई निर्वाचन कार्यालय र श्रम कार्यालयमा काज सरुवा गरिएकाले कार्यालय नै आउँदैनन्। इन्जिनियर, सबइन्जिनियर, जिन्सी शाखा प्रमुख कति बेला आउँछन् र जान्छन् कसैलाई जानकारी नभएको कार्यालयका उपसभापति दीपक झाले बताए। प्रशासकीय अधिकृतमा रामप्रबोध यादव गत चैत २१ मा हाजिर भए। करिब एक साता कार्यालय बसेका उनी त्यसपछि कहिले घरमा त कहिले बिदामा बस्दै आएका छन्। अन्य काम थन्केकै अवस्थामा कर्मचारी कार्यालयमा नबस्दा जिससको बैंक खातासमेत सञ्चालन हुन सकेको छैन। जिल्ला विकास समितिले पुरानै खाताबाट काम चलाइरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App