१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आपसी भाइचारा बढाउने ‘इद’

फाइल फाेटाे

‘इद आयो, खुसी ल्यायो ! इद खुसीयालीको पर्व हो,
 इद हाम्रो खुसी हो, गरिव–गरुवाको सहायताको लागि हो,
इद आयो खुसी ल्यायो ! आपसमा भाइचारा बढायो,
इद आयो खुसी ल्यायो।’

यसरी इदी गित गाएर इदलाई मनाउने प्रचलन अहिले हराएको बताउँछन् अलहिरा एजुकेस्नल सोसाइटी नेपालका अध्यक्ष गुलाम रसोल फलाही। ‘हामी सानो हुँदा इद मनाउने तरिका फरक थियो, इदको दिन नमाज पढि सके पछि घर–घरमा गएर यसरी इदी गित गाउँथेम्, अनी दिदि बहिनीहरुले हामीलाई गित गाए बापत पैसा दिनु हुन्थ्यो र हामी मिलेर बाढ्ने गर्थेउँ’ उनले हाँस्दै भने। इद नमाज सकेपछि घरमा पकाइएका बिभिन्न पकावानहरु सबै गाउँलेलाई बोलाएर खुवाउँने चलन रहेको उनले अनुभब सुनाए।

पुरानो तरिकामा गाउने, खेल्ने लगायतका गतिबिधि भने अहिले ठ्याक्कै नरहेको उनी चिन्ता व्यक्त गर्छन्। उनी भन्छन्, ‘अहिले शहरीकरण र समाजिक परिवर्तले गर्दा आफ्ना इष्टमित्र, नजिकका चिनेको र परिवारलाई मात्र बोलाउने चलन छ।’ बदलिदो सामाजिक परिवेस र व्यवसायिक जीवनशैली भएकाले पर्व प्रतिको आस्था र मनाउँने तरिका उहि भएपनि पुरानो चलन भने हराउँदै गएको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले मान्छेको दैनिकीमा परिवर्तन आएको छ, व्यस्त जीवनशैलीमा व्यवसायिकमुखी भएका कारण अन्य कामकालागि समय कम छ, समय सँगै पहिला जस्तो आत्मियतामा समेत कमी आएको छ।’ मोवाइलको जमाना आएकाले यस्ता भौतिक साधनमा मान्छे रुमल्लिएकोले पहिला जस्तो चाड प्रतिको उत्साह भने कम भएको उनी अनुभब सुनाउँछन्। ‘हामी सानो हुँदा इदमा सम्पुर्ण गाउँका मानिसहरु एकै ठाउँमा जम्मा भएर शारिरीक खेल खेल्ने गरिन्थ्यो, बिशेष गरीः कबड्डी, छुर (छोइडुम), लाठी खेल लगायतका शारिरीक खेल खेलेर मनाउँने गरिन्थ्यो’ उनी बिगत सम्झन्छन्। इस्लामीहरुको महान पर्व इदमा आपसी भाइचारा, बलियो प्रेम, हर्ष–उल्लास र आफ्नो कारणले अरुलाई कुनै पनि असर नगरी चाड मनाउनु नै यस चाडको बिशेषता रहेको उनले बताए। इदको अन्य धर्म भन्दा फरक र छुट्टै बिशेषता अरुलाई कुनै पनि किसिमको हानी वा असर नगर्ने रहेको उनको भनाई छ। ‘आफु खुसीयाली मनाउँने र अरुलाई दुख दिने त्यो गलत हो, सबैलाई सकेको सहयोग गरी आपसी सद्भावका साथ मिलेर मनाउँने त इदको विशेषता नै छ’ उनले भने। रमजानमा धार्मीक रुपमा गरिने धार्मिक नियममा भने खासै फेरबदल नआएको गुलाम रसोल फलाही बताउँछन्।

‘रोजा’ बस्नुको अर्थ भोकै बस्दाको पीडा महसुस गराउने माध्यम र आपसी भाइचारा निर्माण गर्ने उनी बताउँछन्। अधिकांश मानिस खान नपाएर भोकै बस्नु परेको अवस्थालाई महसुस गरी सहयोगको लागि अभिप्रेररित गर्ने माध्यम रहेको उनी बताउँछन्। भारतिय उपमहाद्विपमा इदमा खाने, लगाउने यहि नै भन्ने नरहेको उनी बताउँछन्। इदलाई मनाउन केहि गतिबिधिमा परिवर्तन आएपनि मौलिक सस्ंकार अनुसार धार्मिक प्रकृया भने एउटै रहेको उनले बताए। ‘हाम्रो बिशेष पर्व हो इद, यो दिन नयाँ लुगा लगाउनै पर्छ, यहि नै खानु पर्छ भन्ने हुँदैन्, सफा भए पुग्छ, इच्छामा भर पर्छ’ उनले भने। ठाँउ, परिभेष अनुसार इद मनाउँने चलन फरक रहेको उनी बताउँछन्।

इस्लाम धर्मावलम्बीको प्रमुख चाड हो– रमजान। रमजानको समयमा एक महिनासम्म व्रत बस्ने चलन छ। रमजानको अन्तिम दिन ‘इद’ पर्व पर्छ। इदको दिन सम्पुर्ण इस्लामिक धर्मावलम्बिहरु निकै हर्षे उल्लासका साथ मनाउने गरेको पाइन्छ। रमजानको समयमा इस्लाम धर्मावलम्बीलाई आफ्नो चाड खुलेर मनाउने वातावरण भएको अनुभव उनी सुनाउँछिन्। देशमा लोकतन्त्र आएसँगै धर्म निरपेक्ष भएलगत्तै इस्लाम धर्मावलम्बीले पाएको सार्वजनिक बिदाले निकै राहत पुगेको उनी बताउँछिन्। धर्मनिरेपेक्षता भन्दा पहिला जस्तो रमजानको समयमा सार्वजनिक बिदा नहुँदा नानीहरुलाई इदमा विद्यालय पठाउनुपर्ने बाध्यता नरहेको उनी बताउँछिन्। विगत सम्झँदै भन्छिन्, ‘मलाई राम्रोसँग याद छ–हामीले रमजान मनाउने बेला एकादशी पर्छ, वरिपरिको मासु पसल सबै बन्द हुन्थे, जबकि हामी व्रत बसेको बेला साँझ अनिवार्य मासु खाने चलन छ। मासु नपाउँदा निकै दुःख लाग्थ्यो।’

अन्सारी पढ्ने कलेजमा इदमा बिदा दिनुपर्छ भनेर क्याम्पेन नै चलाएको अनुभव सुनाउँछिन्। इदलाई ध्यान नदिएर इदको समयमा परीक्षा पार्ने र यसले गर्दा स्कुल, कलेज जानुपर्ने बाध्यता झेल्नु परेकोे उनी अनुभब सुनाउँछिन। ‘परिवर्तन विस्तारै हुँदैछ, विद्यालयले परीक्षा राख्ने क्रम विस्तारै फेरिएको छ, समग्रमा भन्नुपर्दा पहिलाको तुलनामा इद मनाउन सहज भएको छ,’ अन्सारीले भनिन्। धर्मनिरपेक्ष भएपछि राज्यले प्रत्येक नागरिकको अभिभावकको भूमिका खेल्ने उनी बताउँछिन्। देशको आमुल परिवर्तनसंगै इस्लाम धर्मावलम्बीलाई आफ्नो चाड खुलेर मनाउने वातावरण भएको भएको उनी बताउँछिन्। इद मनाउँदा सांस्कृतिक रुपमा खासै परिवर्तन नआएको उनको भनाइ छ। उनी भन्छिन्, ‘पहिलादेखि नै चलिआएको लुगा नै लगाइन्छ, खानेकुरामा पनि खास परिवर्तन छैन। रितिथितिमा पनि फरकपन छैन तर अन्य धर्म मान्ने समुदायसँगको सम्बन्ध, सम्मानको भावनामा सकारात्मक परिवर्तन आएको छ, जुन एकदमै राम्रो पक्ष हो।’

इस्लाम धर्मले पहिरनको कुनै स्वरुप नदिएको तर घाटिबाट खुट्टा (गोलीगाठा) सम्म पर्दा राख्नु पर्ने बताउँछन् खुर्सीद अलाम इस्लाही। मुस्लिम धर्मावलम्बीहरुले लगाउँने पहिरनले धार्मीक भन्दा पनि स्वास्थ्यको हिसावले फाइदा हुने उनी बताउँछन्। उनी भन्छन्, ‘घाटी देखि खुट्टा छोप्दा सभ्य देखिन्छ, यहि नै लगाउँनु पर्छ भन्ने नभए पनि सजीलो र सभ्य पहिरन रोजीएको हो।’ आलीमहरुले लगाउने पहिरन र अन्यले लगाउने पहिरनमा फरक रहेको उनी बताउँछन्। इस्लाम धर्मावलम्बिहरुको ५ वटा पिलरहरु मध्य रोजा मुख्य पिलर रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिलो पिल्लर हो, इमान। इमानमा हामीले अल्लाहलाई मात्र मान्छौ,अल्लाह बाहेक मेरो कोहि छैन् भनेर मान्नु नै इमान हो।’ दोश्रो पिलरको रुपमा नमाजलाई मानिने उनले बताए। तेश्रो पिलरमा जकाद र चौथो पिलरको रुपमा रोजालाई मानिने उनी बताउँछन्। ‘पाचौ पिलर फित्र्रा हो’ उनले भने। इदको नमाज पढ्नु भन्दा पहिला घरपरिवारको सदस्य संख्या अनुसार केहि पैशा असाह्य, गरीबलाई दिनुनै फित्र्रा रहेको उनले जानकारी दिए। ‘इस्लामको अर्को नाम शान्ति हो’ उनले भने।

रोजा वर्षमा एकपटक अल्लाहको नाममा बसिने व्रत रहेको बताउँछिन्, इस्लामिक संघ नेपालकी सदस्य सेंहेनाज बानु। मानविय सदभावना र आपसी सहयोगको भावना जगाउँने उनी बताउँछिन्। उनी भन्छिन्,‘रोजा बस्नु भनेको आत्मा शुद्धिकरण गर्नु हो, जसरी शरिर सफा र शुद्ध गर्न नुहाउँछौ, त्यसरी नै आत्म शुद्ध गर्न वर्षको एकपटक रोजा बस्छौ।’ रोजाले गरिब र धनी, महिला र पुरुष बिचको खाडल पुरा गर्ने उनी बताउँछिन्। रोजाले सबैलाई न्याय गर्ने उनी अनुभब सुनाउँछिन्। उनी भन्छिन्, ‘रोजाले कसै माथी भेदभाव वा असमान व्यवहार गर्दैन्, कसैको लागि कोहि बसेर धर्म कमाइन्छ भन्ने हुँदैन्, आफनो लागि आफै रोजा बस्नु पर्छ, रोजा आफ्नो लागि बसे पनि सबैको लागि सुख, खुसीको दुवा माग्छौ।’ आफुसंग जे छ, जसरी छ मान्छे धर्म प्रतिको श्रद्धाले रोजा बस्ने भएकाले अनिवार्य जस्तो फित्र्रा दिने चलन रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘शारिरीक अवस्था कमजोर भएका, गर्भवती महिला, बृद्ध, बृद्धा, महिनावारी भएका महिलालाई र जटिल रोगको औषधि खाने बिरामीलाई रोजा बस्नै पर्छ भन्ने अनिवार्य भने हुँदैन्।’ इस्लामिक क्यालेन्डर अनुसार तिस दिनको रोजा पश्च्यात इद मनाउने तयारीमा जुट्ने उनी बताउँछिन्। इदको लागि घर–घरमा मिठो पकावान पकाउँने, नयाँ पहिरन किन्ने लगायतको चाँजो मिलाउन व्यस्त हुने उनी बताउँछिन्। इदको मुख्य बिशेषता भनेको गरिब, पिछडिएकालाई सहयोग गर्नेु रहेको उनी बताउँछिन्। ‘अहिले प्रत्यक सदस्यको नाममा एक सय पचास् रुपैँया दिने नियम बनाएका छौ ताकी कोहि पनि इदमा भोकै प्यासै नबसोस्।’

गरिबको ख्याल राख्ने, गरिबको हेरबिचार गरी उसको पिडा महसुस गर्नको लागि रोजा बसिने उनी बताउँछन्। इस्लामको विशेषता नै सबैलाई खुसी बनाएर आपसी सद्भाव बढाउने रहेको उनी बताउँछिन्। ‘गरिबलाई माया गर, गरिबलाई सहयोग गर, भै–झगडा नगर भनेर कुरानमा उल्लेख गरेको छ, उनी भन्छिन्, ‘तसर्थ सबैमा सदभाव र भाइचाराको सम्बन्ध प्रगाड गराउँन रोजा र इदले मद्दत गर्छ।’ इदमा गरारा, सराराको कुर्ताको ट्रेन चलेको उनी बताउँछिन्। महिलाको पहिरन वा पुरुषको पहिरन यहि नै हुनु पर्छ भन्ने नरहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘मुस्लिम समुदायको लागि यहि पहिरन लगाउँनु पर्छ भन्ने छैन्, तर शरिर राम्रो संग ढाकिने र सुरक्षित हुने खालका पहिरन लगाउनु पर्ने हुन्छ।’ शरिरको आकार नछुट्टिने र इमानदार पहिरन लगाउँनु पर्ने उनी बताउँछिन्।

हरेक घरमा महिला कै दायित्व बढी हुने भएकाले इदको लागि महिलाले परिवारलाई खुसी बनाउँन मिठो अनी स्वादिलो खाना पकाउँने बताउँछिन् इस्लामिक संघ नेपालकी सदस्य मजिदा बेगम। सम्पुर्ण परिवार र अन्य घरमा खान बोलाएका पाहुनाको लागि तयारी गर्न व्यस्त हुने बताउँछिन्। घरमा आउने पाहुनाको लागि थरीथरीका पकवान्, उपहारको जोहो गरी सकेको उनी अनुभब सुनाउँछिन्। ‘एक आपसमा सलामी लिने, उपहार दिने, मिठो खानाका परिकारहरु खाने, एक आपसमा माया, सद्भाब साट्छौ’ उनले भनिन्। इदमा आपसी हर्ष र उल्लास ल्याउँने उनले बताइन्। एउटा घरबाट आर्को घरमा पाहुँना हुन जान भ्याई नभ्याई हुने उनी अनुभब सुनाउँछिन्। एक आपसमा दुख, सुख साट्ने मौकाको रुपमा मनाउने उनी बताउँछिन्। ‘इदको मौकामा हात भरी मेहेंन्दी लगाउनु, नयाँ पहिरन लगाउनु, दिदी–बहिनी बिच रमाइलो गर्ने गर्छौ’ उनले भनिन्। मजिदा घरबाट बाहिर निस्कदा नकाब (बुर्का) लगाउँछिन्। सधै नकाब लगाउँदा आफुलाई सुरक्षित महसुस गर्ने उनी बताउँछिन्। बाहिरी प्रदुषणबाट मात्र नभएर मानिसको निगाह, मनको प्रदुषणबाट बच्नको लागि सधै नकाबमा निस्कने उनी बताउँछिन्।

प्रकाशित: १९ जेष्ठ २०७६ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App