१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

बनेपा - पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।

पनौती नगरको ‘शिक्षा रुपान्तरण अभियान सोच’ अन्तर्गत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउन पनौती नगरपालिका, रोटरी क्लब अफ पनौती र पनौती उद्योग वाणिज्य संघले सहकार्य गर्दै आएका छन्। नगरभित्र बालविकास कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुने ३४ वटा सामुदायिक विद्यालय छन्। ‘यीनै विद्यालयका शिशु कक्षादेखि १० सम्म अध्ययनरत करिब ५ हजार एक सय जना विद्यार्थीहरु निःशुल्क पोशाक उपलब्ध गराइएको हो,’ पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले भने।

स्कुल पोशाकमा एकरुपता ल्याउनका लागि पनौती नगरपालिकाले १५ लाख ७० हजार रुपैयाँ, ग्लोबल ग्रान्टमार्फत रोटरी पनौतीले १५ लाख र पनौती उद्योग वाणिज्य संघले ५ लाख गरी ३५ लाख ७० हजार रुपैयाँ खर्चेका छन्। यसबाट हाल चलनमा रहेको आकाशे रंगको सर्ट र निलो पाइन्टलाई विस्थापन भएको छ। ‘निःशुल्क पोशाकसँगै सिलाउने ज्यालाबापत प्रत्येक विद्यार्थीलाई नगदसमेत उपलब्ध गराएका छौं,’ पनौतीका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले जानकारी दिए, ‘जेठ महिनाभरमा सबै विद्यालयमा पोशाक पुग्नेछ। असारदेखि सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोशाकमा एकरुपता आउनेछ,’ उनले थपे। सबै विद्यार्थीको सर्टको खल्तीमा पनौती नगरपालिका, उवा संघ र रोटरी पनौतीको लोगो अंकित हुने व्यवस्था मिलाइएको छ।

यस अगावै नगर शिक्षा शाखाले नगरपालिकाभित्रका १२ वटै सामुदायिक माध्यमिक विद्यालयहरुमा एकैखालको शैक्षिक क्यालेण्डर, परीक्षा प्रणाली र शिक्षकहरुको इ–हाजिरी लागू गरिसकेको छ। ‘एकै खालको पोशाकले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पहिचानसँगै आकर्षण बढाउनमा समेत सहयोगी हुने अपेक्षा गरेका छौं। साना–साना सुधारबाटै सामुदायिक विद्यालयको शिक्षा प्रभावकारी बनाउने हाम्रो अभियान नै हो। शिक्षाको गुणस्तर सुधारमा सधैंभरि प्रयत्नशील रहँदै आएका छौं,’ शिक्षा शाखाका अधिकृत महेश्वर जंगमले भने।

पनौती नगरपालिकाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा टेवा पु¥याउनका लागि रोटरी पनौतीले यस अगावै श्रीशारदा मावि, सुन्थानका लागि रोटरी क्लब अफ ताइपेइको सहयोगमा ग्लोबल ग्राण्टमार्फत ३० सेट अत्याधुनिक कम्प्युटर, दुई थान सर्भर, सिसिटीभी, इ–लाइब्रेरी सफ्टवेयर र ५० सेट फर्निचरहरुसहितको इ–लर्निङ सेन्टर उपलब्ध गराइसकेको सचिव सितु सैैंजुले जानकारी दिए।‘नगरपालिका आफैं र सहयोगी संस्थाहरुमार्फत सबै माध्यमिक विद्यालयहरुमा इ–लर्निङ सेन्टर बनाउँदै छ। दुई वटामा इ–लर्निङ सुरु नै भइसक्यो। अब बाँकी १० वटा माध्यमिक विद्यालयहरुलाई यही मोडेलमा अगाडि लैजाँदैछौं,’ नगर प्रमुख भीम न्यौपानेले भने। ‘पनौती नगरपालिका आफू मातहतका सामुदायिक विद्यालयहरुमा एकै किसिमको पोशाक लागू गर्नेमा पहिलो स्थानीय सरकारले बनेको हुनुपर्छ,’ उनले थपे।

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App