दमक– प्रहरीले झापाबाट १७ किलो प्रतिबन्धित लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोले मेचीनगर नगरपालिका–८ टोकला बगानस्थित रमाइलो बस्तीबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। ब्यूरोका प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठसहितको टोलीले स्थानीय सञ्जय दर्जीको घरमा २ वटा झोलामा लुकाएर राखेको चरेस बरामद गरेको हो। प्रहरीले सञ्जयसहित मेचीनगरकै मनोज दर्जी र धनकुटाको पाख्रीबास–४ बस्ने राजकुमार गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। बिक्रीका लागि अन्यत्र लैजाने तयारी अवस्थामा चरेस बरामद गरिएको प्रहरीको दाबी छ।
प्रकाशित: ९ जेष्ठ २०७६ ०५:२१ बिहीबार