४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दुईवटाको मर्मतमै तीन करोड खर्च

काठमाडौं - संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणात ग-यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमलसहित राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडी भने त्यहाँ छैनन्।। पुराना गाडीहरू भने बेवारिसे अवस्थामै बाहिर छन्।

उचित संरक्षण गरेर संग्रहालयमै राख्नुपर्ने ऐतिहासिक महत्व बोकेका सवारीसाधन सरकारी निर्णयबाटै उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सो सरकारी कदमको संस्कृतिविद्हरूले आलोचना गरेका छन्। पाँच वर्षअघि मात्रै राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी नेपाल प्रहरीलाई दिइएको थियो।

– तत्कालीन राजपरिवारले प्रयोग गरेका भौतिक वस्तु देशका सांस्कृतिक सम्पत्ति हुन्, यस्ता सम्पत्ति कुनै व्यक्ति वा निकायले भोगविलासको साधन बसवारी सरकारले नै प्रयोग गर्दा दुरुपयोग भन्न मिल्दैन, संग्रहालयमा त प्रयोग गरेर थोत्रा भएपछि पनि राख्दा हुन्छ: रामकृष्ण सुवेदी, प्रवक्ता/गृह मन्त्रालय

उपराष्ट्रपति, सेना र प्रहरीले लगेका बुलेटप्रुफ कारको प्रतिगोटा मूल्य १६ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने बताइएको छ। सेनाले लगेका चारमध्ये दुईवटा चालु हालतमा रहेको र दुईवटा मर्मतमा मात्रै तीन करोड रुपैयाँ खर्च गरिएको छ।
तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमल तथा राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडीमध्ये गृह मन्त्रालयले उपराष्ट्रपति पुनलाई एउटा र सेनालाई चारवटा हस्तान्तरण गरेको छ।

२०७५ असोज ७ गते उपराष्ट्रपति कार्यालयलाई उपलब्ध गराइएको सो गाडी उपराष्ट्रपति पुनले प्रयोग गर्दै आएका छन्। त्यसअघि पनि उपराष्ट्रपति कार्यालयलाई गृह मन्त्रालयले संग्रहालयका नाममा भएको अर्को बुलेटप्रुफ गाडी दिएको थियो। गत असोज ७ गते नै जंगी अ·ालाई दिइएका चारवटा बुलेटप्रुफ गाडी सेनाले तीन करोड रुपैयाँभन्दा बढी खर्चेर प्रयोगमा ल्याएको छ।

– प्रतिगोटा १६ करोडभन्दा बढी मूल्य पर्ने गाडी संग्रहालयमा राख्ने खालका होइनन्: विज्ञानदेव पाण्डे, प्रवक्ता/नेपाली सेना

पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल संग्रहालयका बुलेटप्रुफ सवारीलगायत अन्य भौतिक संरचना अन्य प्रयोजनका लागि भोगचलन गर्नु ‘नारायणहिटी राजदरबार’ र राजतन्त्रको इतिहासबारे अध्ययन गर्न चाहनेका लागि दुर्भाग्य भएको बताउँछन्।

‘तत्कालीन राजारानी तथा राजपरिवारका सदस्यले प्रयोग गरेका नारायणहिटी संग्रहालय परिसरका सवारीसाधनलगायत भौतिक सम्पत्तिको उचित संरक्षणका साथै प्रदर्शनमा राख्नुपर्ने हो,’ पूर्वमहानिर्देशक दाहाल भन्छन्, ‘तर संरक्षणको सट्टा सरकारी निर्णयबाटै उपराष्ट्रपति, सेना, प्रहरीलगायत अन्य निकायलाई संग्रहालयका सम्पत्ति भोगचलन गर्न दिनु गलत हो, यसबाट इतिहास नै लोप हुनसक्ने देखियो।’

तर भिभिआइपी तथा भिआइपीका लागि सवारी व्यवस्थापन गर्दै आएको गृह मन्त्रालयले संग्रहालयका सवारी प्रयोग गर्दा दुरुपयोग नहुने बताएको छ। सरकारले किनेका सवारी सरकारी प्रयोजनकै लागि प्रयोग हुने हुँदा दुरुपयोग नहुने गृह–प्रवक्ता रामकृष्ण सुवेदीको दाबी छ।

‘सरकारी बजेटबाट किनिएका सवारी सरकारले प्रयोग गर्दा दुरुपयोग भन्न मिल्दैन,’ प्रवक्ता सुवेदी भन्छन्, ‘संग्रहालयमा त प्रयोग गरेर थोत्रा भएपछि पनि राख्दा हुन्छ नि !’ संग्रहालयका सम्पत्ति राज्यकै पदाधिकारी र सुरक्षा निकायलाई दिनु दुरुपयोग होइन भन्ने प्रश्नमा सुवेदी ‘राज्यको सम्पत्ति राज्यले प्रयोग गर्दा केको दुरुपयोग ?’ भन्दै पन्छिन खोजे।

नारायणहिटी संग्रहालयको सम्पत्ति भोगचलन गर्न दिनु गलत हो, यसबाट इतिहास नै लोप हुनसक्ने देखियो।

२०६५ असार १ गते नारायणहिटी राजदरबारलाई ‘नारायणहिटी दरबार संग्रहालय’ घोषणा गरिएको थियो। गणतन्त्र घोषणाको १५औं दिन अर्थात् २०६५ जेठ २९ गते ज्ञानेन्द्रले दरबार छोडेपछि त्यसको केही दिनमै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संग्रहालयमा राजदरबारको झण्डा झिकेर राष्ट्रिय झण्डा फहराएका थिए। ६ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संग्रहालय सर्वसाधारणका लागि खुला गरेको थियो।
‘भावीपुस्ताका लागि समेत राजारानीलगायत राजपरिवारका सदस्यले प्रयोग गरेका वस्तु व्यवस्थित रूपमा संग्रहालयमै प्रदर्शनमा राखिनुपर्छ,’ पूर्वमहानिर्देशक दाहाल भन्छन्, ‘तर महँगा सवारी देख्नै नहुने, अन्य प्रयोजनमा उपाभोग गरिहाल्नुपर्ने प्रवृत्तिले ऐतिहासिक चिनारी लोप हुने जोखिम छ।’

प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमा अपहरण गरिएका जहाजसमेत संग्रहालयमा राख्ने निर्णय हुँदा इतिहासमा सीमित भइसकेका राजामहाराजाका सवारीसाधन व्यक्तिलाई प्रयोग गर्न दिनु सरकारको दोहोरो चरित्र भएको इतिहास तथा संस्कृतिविद्हरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख प्राडा मदनकुमार रिमाल नारायणहिटी दरबार संग्रहालय नेपालको इतिहास र सांस्कृतिक सम्पदा भएकाले त्यसमातहत रहेका भौतिक सम्पत्तिको सुरक्षा गरेर प्रदर्शनीमा राख्नुपर्ने बताउँछन्। राजामहाराजाले प्रयोग गरेका पोशाक प्रदर्शनमा राख्ने अनि त्यही बुलेटप्रुफ सवारी नराख्नु गलत भएको उनको भनाइ छ।

‘तत्कालीन राजामहाराजा तथा राजपरिवारका सदस्यले प्रयोग गरेका भौतिक वस्तु देशका सांस्कृतिक सम्पदा र ऐतिहासिक सम्पत्ति हुन्,’ प्राडा रिमाल भन्छन्, ‘यस्ता सम्पत्ति कुनै व्यक्ति वा निकायले भोगविलासको साधनका रूपमा प्रयोग गर्नु इतिहास र संस्कृतिमा अध्ययन गर्न चाहनेका लागि ठूलो नोक्सानी हो।’ रिमालका अनुसार त्रिविले छिट्टै नारायणहिटी संग्रहालय र पूर्वराजपरिवारसँग सम्बन्धित विषय पाठ्यक्रममै समावेश गर्ने तयारी गरेको छ।

नारायणहिटी दरबार संग्रहालय विकास समिति गठन गरेर त्यस परिसरमा रहेका सामान संरक्षणका लागि २०७५ असार २९ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले निर्णय गरेका थिए। तर अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि काम अघि बढेको छैन। जसका कारण संग्रहालयका सामान सरकारबाटै गैरकानुनी रूपमा अन्य निकायलाई हस्तान्तरण भएको मन्त्रालयका एक अधिकारीको भनाइ छ।

नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहितकुमार ढुंगानाले पनि नीतिअनुसार नभई व्यक्ति केन्द्रित भएर निर्णय गर्दा संग्रहालयका सम्पत्ति संरक्षण हुन नसकेको बताए। ‘संग्रहालयको सम्पत्ति व्यवस्थापन र प्रदर्शनसम्बन्धी कार्ययोजना नै तयार पारेर मन्त्रालयलाई बुझाइएको थियो,’ उनले भने, ‘तर नीतिभन्दा व्यक्ति केन्द्रित निर्णयले यसको व्यवस्थापनमा समस्या देखिएको हो।’

तर नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डे महँगा सवारीसाधन संग्रहालयमा राख्नुभन्दा प्रयोग गर्नु नै उचित भएको बताउँछन्। भन्छन्, ‘प्रतिगोटा १६ करोडभन्दा बढी पर्ने सवारीलाई संग्रहालयमा राख्नु भन्दा प्रयोगमै ल्याउनु उचित हो।’

विगतमा राजामहाराजाहरूले प्रयोग गरेका सवारी विदेशी पाहुनाको नेपाल भ्रमणका बेला प्रयोग हुने गरेको भन्दै प्रवक्ता पाण्डेले यसलाई अन्यथा लिन नहुने पनि बताए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App