१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मेयरमाथि गुपचुपमै उपभोक्ता समिति गठन गरेको आरोप, वडा कार्यालयमा तालाबन्दी

मोरङ - मोरङको सुनवर्षी नगरपालिकाका मेयरले विकास निर्माणको लागि आएको बजेट पचाउनको लागि चुपचुपमै उपभोक्ता समिति गठन गरेको खुलासा भएको छ। राष्ट्रपति चुरेभावर संरक्षण कार्यक्रमबाट बक्राह नदी नियन्त्रणको लागि  वर्षेनी हुँदै आएकोे बाँध कटानलाई पुनःनिमार्ण गर्न विनियोजन भएको २० लाखको बजेट स्थानीय जनतालाई थाहै नदिइ मेयरले उपोभोक्ता समिति गठन गरेको खुलासा भएको हो।

वडा नम्बर ६,७,२ र ४ गरी चार वटा वडाको लागि उक्त कार्यक्रममा ७० लाख रुपैयाँको बजेट विनियोजन भएकोमा वडा नम्बर ७ मा मात्र वाँध निर्माणको लागि २० लाख रुपैयाँ छुटिट्एको हो। कमिसनको खेलमा मेयरले उपभोक्ता समिति गठन गरेको नाम नखुलाउने शर्तमा एक स्थानीयले बताए।

उक्त बाँध निर्माणको लागि उपभोक्त समिति गठन भएकोबारे वडा कार्यालयसँग

स्थानीय जनता सूचना माग्दा वडाध्यक्ष प्रकाश यादवले उक्त विषयमा आफूलाई जानकारी नभएको बताए। उनले नागरिक न्युजसँग कुरा गर्दै भने,‘ वडा नम्बर ७ मा उक्त कार्यक्रम अर्न्तगत छुट्याइएको २० लाख रुपैयाँको बजेटबारे उपभोक्ता समिति गठन भएको कुरा पनि स्थानीयले सूचना मागे गरेपछि मात्र थाहा भएको हो।’ वडाध्यक्ष यादवले स्थानीयद्वारा उक्त कार्यक्रमबारे निवेदन दर्ता गरेर नै सूचना माग गरिएपछि यसबारे नगरपालिकाका मेयर काली प्रसाद दास र कार्यकारी अधिकृत राजकुमार केसीसँग बुझ्दा कुनै चासो नदिएको बताए।

उनले यसबारे ब्यक्तिगत रूपमा बुझ्नकाे लागि पटक पटक मेयरलाइ फाेन गर्दा पनि नउठाएकाे बताए। स्थानीयहरुले सूचना नपाएपछि वडा कार्यालयमा ताला नै लगाएका छन्। जसकारण अन्य सेवाग्राही सेवा लिन पाएका छैनन्। वडा कार्यलयमा स्थानीयले विगत सात दिनदेखि तालाबन्दी गरेता पनि नगर प्रमुख तथा स्थानीय प्रशासन मौन रहेको छ। बाँध निर्माणकाका लागि वडा कार्यालयलाई जानकारी नदिइ मेयरले एकलौटी ढङ्गबाट उपभोक्ता समिति निर्माण  गठन गरेको वडाध्यक्ष यादवकाे आरोप छ। विगत ४ दिनदेखि वडा कार्यालय बन्द रहँदा सर्वसाधारणहरुलाई जन्म दर्ता, विवाह दर्ता र सिफारिस जस्ता साधारण काम समेत ठप्प भएको उनले बताए। यसबारे मेयर काली प्रसाद दाससँग बुझ्दा उनले उक्त कार्यक्रमको विषयमा कुनै उपभोक्ता समिति गठन नभएको बताए।उनले अहिलेसम्म आफुलाई वडा कार्यलयमा तालाबन्दी भएको बिषयमा समेत कुनै जानकारी नभएको भन्दै पन्छिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०७:४८ आइतबार

सुनवर्षी_नगरपालिका राष्ट्रपति_चुरेभावर_संरक्षण बजेट