१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहाडमा साइकल अभियान

वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै इलाम आएको साइकलयात्री युवाको टोली शनिबार नेपालमै पहिलोपटक चिया रोपण गरिएको इलाम चियाबारीमा। तस्बिरः भीम/नागरिक

इलाम– वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पर्यटन प्रवर्द्धन सघाउने उद्देश्यले युवाले साइकल यात्रा अभियान चलाएका छन्। काठमाडौं, झापा, इलामलगायतका ८० युवा मेची राजमार्गको पहाडी क्षेत्रमा साइकल चलाउँदै शनिबार इलाम सदरमुकाम आएका हुन्।

पर्यटनकर्मी र वातावरण संरक्षणमा क्रियाशील युवाको टोली झापाबाट रोङ गाउँपालिकाको कुटिडाँडा, पर्यटकीय क्षेत्र कन्याम, फिक्कल हुँदै सदरमुकाम आएको हो। ‘साइकल चलाऔं, स्वस्थ बनौं’ भन्ने अभियानसहित विभिन्न क्षेत्रका युवक–युवती साइकल यात्रामा सहभागी छन्। उनीहरू शनिबार रोङ गाउँपालिकाको पर्यटकीय क्षेत्र कुटीडाँडाबाट करिब ५५ किलोमिटर साइकल यात्रा गरेर आएका हुन्।

साइकल चलाउँदा इन्धन खपत कम हुने भएकाले वातावरण प्रदूषण घट्ने, पर्यटन प्रवर्द्धन हुने र साइकल चलाउँदा शारीरिक परिश्रम हुने भएकाले मानवस्वास्थ्यमा समेत यसको सकारात्मक प्रभाव पर्ने अभियन्ता उत्तम मानन्धरले बताए। ‘हामीले राराताल, मुक्तिनाथलगायत क्षेत्रमा यसअघि पनि साइकल अभियान चलाएका थियौं,’ उनले भने, ‘इलाम पनि पर्यटकको धेरै आउ–जाउ भइरहने ठाउँ भएकाले स्थानीयसहित पर्यटकले यहाँ साइकल चलाऊन् भन्ने हाम्रो अपेक्षा हो।’

युवामा साइकलको जागरण ल्याउन आफूहरूले काठमाडौंमा पनि ३ वर्षयता यस्तो अभियान चलाएको मानन्धरले बताए। ‘पछिल्लो समय साइकलमा युवाको क्रेजसमेत बढेको छ,’ उनले भने, ‘मेरो चाहिँ रोजाइ माउन्टेन बाइक हो। साइकल चलाएर जुनसुकै स्थानमा पुग्न सकिन्न भन्ने देखाउनु पनि हाम्रो उद्देश्य हो।’ उनले मानिसलाई तन्दुरुस्त बनाउनेगरी स्वास्थ्यमा सुधार ल्याउन साइकल चढ्ने बानी गर्नु उपयुक्त हुने पनि सुझाए। ४० वर्ष उमेर कटेका व्यक्तिका लागिसमेत साइकल यात्रा गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने उनको भनाइ छ।

शनिबार अपराह्न सदरमुकाम आएको टोलीले नेपालकै पुरानो इलाम चियाबारी, पुरानो चिया उद्योगलगायत क्षेत्रमा समेत भ्रमण गरेको थियो। टोलीमा सहभागी युवालाई इलाम उद्योग वाणिज्य संघ, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिलगायत इलामका पर्यटनकर्मीले स्वागत गरे। उनीहरूको टोलीलाई इलाम नगरपालिकाले एक रातका लागि खाने–बस्ने व्यवस्था मिलाएको थियो।

मेची राजमार्ग भएर इलाम आइपुगेको टोली भोलि इलामको माइखोलास्थित राजदुवालीबाट चिसापानी, दानाबारी हुँदै बिर्तामोड पुग्ने टोलीमा सहभागी पर्यटनकर्मी योगेन्द्र थापाले बताए। ‘कुटीडाँडादेखि इलामको रुट साइकल यात्राका लागि उपयुक्त हुने भएकाले हामीले यो रुटमा साइकल अभियान चलाएका हौं,’ उनले भने, ‘यो यात्राले इलामको पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने आशा छ।’ टोलीमा नेपाली सेनाका उच्चपदस्थ अधिकारी, चिकित्सक, व्यापारी, पर्यटन व्यवसायीलगायत दर्जनौं क्षेत्रका युवा सहभागी छन्।

व्यक्तिगत साइकल नै लिएर भ्रमणमा आएको टोली आइतबार इलामको राजदुवालीबाट चिसापानी, दानाबारी हुँदै झापाको बिर्तामोड फर्किने छ। ‘सूर्याेदय नगरपालिका र इलाम नगरपालिकाले पनि हाम्रो यात्रालाई सहयोग गरेका छन्,’ थापाले भने, ‘साइकल यात्रामा आफूहरूलाई कुनै समस्या भएन।’ आउँदा दिनमा पनि इलामको पर्यटन प्रवद्र्धनमा साइकलमा माध्यमबाट सहयोग गर्ने उनले बताए। ‘साइकल नाथे के चढ्नु भन्ने गलत सोचाइले हामीले यसको भरपुर प्रयोग गर्न सकेका छैनौं,’ उनले भने, ‘साइकलको महत्त्वबारे बुझेपछि धेरैले यात्राका लागि साइकल प्रयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ।’

प्रकाशित: ५ जेष्ठ २०७६ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App