१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कान्तिमा छैन बजेट

काठमाडौं - कान्ति बाल अस्पतालमा एक महिनादेखि यता विभिन्न आवश्यक सामग्री खरिद गर्ने बजेट कमी भएपछि अस्पतालमा संकट परेको छ । अस्पतालमा बिरामीको उपचारमा आवश्यक सलाइन दिने सामग्री, प्रयोगशालामा चाहिने एक्सरे तथा सिटिसक्यान फिल्म, गाडी तथा जेनेटर इन्धनको अभाव भएको छ ।

त्यसै गरी बिरामीको उपचारमा आवश्यक इटिटी (श्वास–प्रश्वास उपचारमा आवश्यक साना औजार), सफाइमा आवश्यक साबुन, रसायनलगायत सामग्रीको अभाव भएको छ । अस्पतालमा परामर्श बजेटको कमीको कारण अस्पताल मर्मत, १० जना सुरक्षागार्डलाई तलब दिन सकेको छैन । त्यसै गरी ५८ जना सफाइ कर्मचारीलाई दिने तलब छैन । ‘उनीहरुको लागि चार महिनादेखिको तलब पुगेको छैन,’ राईले भने । बजेटको अभावको कारण अस्पतालको पुरानो भवनको विभिन्न स्थानमा पानी चुहिने समस्या, शौचालय मर्मतजस्ता कार्य रोकिएको अस्पतालका निर्देशक गणेशकुमार राईले बताए । उनको अनुसार अस्पतालको पेइङ वार्ड माथिको छतबाट चुहिन्छ, त्यसै गरी प्रशासन भवन र खोप भवनमा पानी चुहिने समस्या छ । अस्पतालको संरचना पुरानो भएकाले शौचालयहरु पनि पुनः मर्मत गर्ने अवस्थामा पुगेका छन् ।

बजेट अभावको कारण सफाइ सामग्री तथा साना उपचार उपकरणहरु उधारोमा लिएर चलाएको र कतिपय कर्मचारीको भत्ता रोकेर काम चलाएको निर्देशक राईले बताए । कर्मचारीको भत्ता नयाँ दशैंमा दिने गरी रोकेको र पूर्वसम्झौता भएका ठेक्का कम्पनीसँग उधारोमा सामान लिएर काम चलाइएको छ । हालसम्म ५० लाख रुपैयाँ उधारो सामान लिइसकेको अस्पतालले जनाएको छ । अस्पताल संचालनमा आवश्यक वार्षिक बजेट गत वर्षको तुलनामा कम छुट्याएको कारण यो आर्थिक वर्ष बित्नु अघि नै समस्या परेको अस्पतालले जनाएको छ । निर्देशक राईका अनुसार चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा २ करोड ६४ लाख रुपैयाँ कम गरी बजेट विनियोजन भएको थियो । गत वर्ष यो अस्पतालको लागि २१ करोड ८४ लाख बजेट छट्टाएकोमा यो वर्ष बजेट १९ करोड २० लाख विनियोजन गरेको थियो ।

राईका अनुसार यो समस्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जानकारी गराई बजेट पूर्तिको लागि अनुरोध गरिकसकेको भए पनि निकास नभइसकेको डा. राईले बताए । चालू आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा समेत साधरण खर्चको लागि अतिरिक्त बजेट नरहेको कारण प्रक्रिया लामो भएको हो । ‘नपुग बजेट लिनको लागि स्वास्थ्य मन्त्रीले पनि सिधै विनियोजन गर्नसक्ने अवस्था छैन । अर्थमै जानुपर्छ,’ उनले भने । यी सबै २ करोड रुपैयाँ अर्को आर्थिक वर्ष सुरु हुनुअघि बजेट विनियोजन हुनुपर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित: २ जेष्ठ २०७६ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App