४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षासेवी गम्भीरमान मास्केको सालिक राखिने

कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ। तस्बिर सौजन्य ः सुदीपराज बस्नेत।

काठमाडौं - २००३ सालमा स्थापित भएको विश्व निकेतन मावीका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना गरिने भएको छ। विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले सोसम्बन्धमा जानकारी दिन शनिबार विद्यालयमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय मास्केको पुण्यतिथि पारेर मंसिर १६ गते सालिक प्रतिस्थापन गरिने बताइयो। ‘अर्धकदको सालिक स्थापना गर्न प्रतिष्ठानले गरेको आग्रहलाई स्कुल परिवारले सकारात्मक रुपमा लिँदै सक्दो सहयोग गर्ने निर्णय भएको छ,’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘प्रतिष्ठान र विद्यालयबीच सहकार्य गरी विद्यालय र समग्र शिक्षा क्षेत्रको सुधारका क्षेत्रमा काम गर्न हामी पनि उत्साहित छौं।’

विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले स्वर्गीय मास्केको जन्मदिन पारेर आगामी जेठ १७ गते मास्के लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी अनुवादको विमोचन विद्यालयमा एक कार्यक्रमबीच गर्ने पनि जानकारी दिएको छ। सो पुस्तक स्वर्गीय मास्केले नेवारी भाषामा लेखेका थिए। जसलाई पछि उनैल नेपालीमा अनुवाद गरी प्रकाशित गरेका थिए। अंग्रेजी अनुवाद प्राडा तेजरत्न कंसाकारले गरेका हुन्।

प्रतिष्ठानसँग सम्बद्ध राजेश प्रधानाङ्गले भने, ‘विद्यालय परिवार, पूर्वविद्यार्थीलगायत शिक्षा क्षेत्रमा काम गरिरहनु भएका सम्बद्ध सबैसँग सहकार्य गरी विद्यालयलाई सहयोग पु¥याउने मात्र नभइ समग्र शिक्षा क्षेत्रमा सानो भए पनि सकारात्मक पहल गर्न सकिन्छ कि भन्ने हाम्रो उद्देश्य हो।’ प्रतिष्ठानले विद्यार्थी लक्षित छात्रवृत्ति तथा प्रभावकारी शिक्षण विधिका विविध उपायबारे विविध कार्यक्रम गर्ने लक्ष्य राखेको उनले बताए। ‘आदरणीय प्रधानाध्यापक गम्भीरमान सरले देखाउनुभएको सत्को बाटोमा लाग्ने प्रयाशका रुपमा प्रतिष्ठान गठन हुन लागेको हो,’ प्रधानाङ्गले भने, ‘यसमा सबैको साथ र सहयोग अपरिहार्य छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालमान श्रेष्ठले विद्यालयको सीमालाई मात्र नसमेटी समग्र शिक्षा क्षेत्रमै कार्य गर्न प्रतिष्ठान गठन हुनु साह्रै नै सुखद भएको बताउँदै समितिले प्रतिष्ठानसँग हातेमालो गरेर अघि बढ्ने बताए। ‘प्रतिष्ठानको जुन परिकल्पना र योजना बनेको छ त्यो सराहनीय छ,’ श्रेष्ठले भने, ‘सार्वजनिक शिक्षा सुधार गर्नु हामी सबैको साझा उद्देश्य हो। के कसरी अघि बढ्न सकिन्छ भन्ने बारे छलफल गरौं। सहकार्य गरौं।’ विद्यालयका सहायक प्रधानाध्यापक केदार दाहालले पनि सहकार्यका लागि नयाँ आधारभूमि बनेकोमा हर्ष प्रकट गरेका थिए। कार्यक्रममा पूर्वविद्यार्थी सुरज पौड्याल, प्रदीप ढकाल, तारा कसजु, विज्ञानराज शर्मालगायतले प्रतिष्ठानको लक्ष्यबारे प्रकाश पार्नुका साथै आआप्mना अनुभव पनि सुनाएका थिए। कार्यक्रममा पूर्वविद्यार्थी तारा कसजुले विद्यालयलाई पुस्तक उपहार प्रदान गरेका थिए। मास्केको ८६ वर्षको उमेरमा गत वर्षको मंसिर १६ गते स्वर्गारोहण भएको थियो। २०१७ सालमा माध्यामिक शिक्षकको रुपमा विश्वनिकेतनमा प्रवेश गरी २०२७ देखि २०५१ सम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका मास्के एक अनुकरणीय शिक्षासेवी थिए।

प्रकाशित: २९ वैशाख २०७६ ०४:१४ आइतबार

शिक्षासेवी गम्भीरमान_मास्के सालिक