खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक सत्र २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’का रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाले ‘शैक्षिक सुधारमा हाम्रो प्रतिबद्धता’सम्बन्धी एक दिने अन्तक्र्रियात्मक सेमिनार आयोजना गरी सो विषयमा प्रतिबद्धता जनाएको हो।
११ वडा रहेको नगरपालिकामा उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भिœयाउने, सिकाउने, टिकाउने र कम्तीमा ५ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले प्रतिबद्धता जुटाइएको नगरपालिकाका मेयर इवन राईले बताए। शैक्षिक सिकाइलाई सुधार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक महासंघ, शिक्षकका पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिले २३ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
नगर शिक्षा समितिले तयार पारेको प्रतिबद्धता पत्रमा हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका विद्यालय उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गराउने, सिकाउने र टिकाउने, विद्यार्थीलाई अनिवार्य उत्तीर्ण वा ४० अंक ल्याउन सक्ने बनाउने, हरेक शिक्षक अध्ययनशील, प्रविधिमैत्री, बालमैत्री बन्ने र विद्यार्थीको भविष्यप्रति चिन्तित बन्दै आफ्नै छोराछोरीजस्तो गरी शिक्षण गर्ने, शैक्षिक सामग्रीविना शिक्षण नगर्ने, पाठ्यक्रमको अध्ययन गरी शैक्षणिक योजना र पाठयोजना बनाउने, सोही बमोजिम समयमा कोर्स पूरा गर्ने र विद्यार्थीलाई प्रशस्त लिखित अभ्यास गराउने उल्लेख छ।
त्यस्तै, नगरपालिकाका ८७ विद्यालयमा क्रमशः अंग्रेजी माध्यम लागू गर्ने, विषयत शिक्षकले शैक्षिक वर्षको सुरुमा सिकाइ उपलब्धि कार्ययोजना निर्माण गर्ने र प्रधानाध्यापकसमक्ष स्वीकृत गराई ५ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि गर्ने, हरेक शुक्रबार कक्षागत, तहगत र विधागत रूपमा अतिरिक्त क्रियाकलाप गर्ने, शिक्षक दरबन्दीविनाका कक्षा सञ्चालन नगर्ने, दरबन्दी संख्या र कक्षाकोठा बराबर मिलान गर्ने, गैरजिम्मेवार, अनियमित र अनुशासनहीन शिक्षकको तलबभत्ता रोक्का गरी नियमअनुसार कारबाही गर्ने, असल शिक्षकलाई पुरस्कारको व्यवस्था गर्नेलगायत प्रतिबद्धता जनाइएको छ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा सार्वजनिक सुनुवाइ गर्ने, सामाजिक परिचालन गर्ने र सुशासन कायम गर्ने, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले नियमित विद्यालय अनुगमन गरेर नगरपालिकामा प्रतिवेदन पेस गर्ने, मासिक रूपमा स्टाफ बैठक बस्ने र विद्यार्थीको सिकाइ उपलब्धिको समीक्षा गर्ने, कमजोर विद्यार्थीको समस्या पहिचान गरी सुधार गर्ने, विषयगत शिक्षकले युनिट शिक्षणपछि अनिवार्य लिखित परीक्षा लिई विद्यार्थीलाई पृष्ठपोषण दिने र अभिभावकलाई सो उत्तरपुस्तिका पठाइदिने, सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्यालयको सकारात्मक अनुगमन गर्ने, विद्यालयको आवश्यक कामबाहेक विद्यालयपरिसरमा मोबाइल निषेध गर्ने, तोकिएको सिकाइ उपलब्धिभन्दा कम सिकाइ उपलब्धि भएमा शिक्षक सेवासुविधा कटौती गर्नेलगायत प्रतिबद्धता जुटाइएको मेयर राईले बताए।
प्रकाशित: २४ वैशाख २०७६ ०३:१९ मंगलबार