९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

छुवाछूत रोक्ने साझा प्रतिबद्धता

जुम्ला– तिला गाउँपालिका–६ की सपना बुढा छुवाछूतविरुद्धको अभियान्ता हुन्। उनी महिला महिनावारी हुनेदेखि समाजमा भइरहने छुवाछूतको चर्को विरोध गर्छिन्। महिला महिनावारी (छुई) हुँदा पोषण र आरामको आवश्यक पर्छ। 

 ‘पोषणयुक्त खान खुवाउने, आराम गर्न छुट्टै बसाल्ने र स्वास्थ्य तथा सरसफाईमा जोड दिनको लागि गरिएको परम्परागत मान्यतालाई पुरुष प्रधान समाजले महिला माथि दमन गर्ने हतियार बनायो’, उनले भनिन्, ‘त्यसैको सिकार अहिले महिला हुन पुग्यौँ। त्यसको कडा प्रतिवाद गर्न तयार छौँ।’

स्थानीय जलु रावत महिनावारी भएको समयमा घरमा बस्न थालेको दुई वर्ष बित्यो। घरमा बस्दा छिमेकीले कुरा काट्न र आलोचना गर्न थाले। समाजको रीति बिगारेको भन्दै आक्रोश पोख्न थाले। तर उनी महिनावारी भएको बेला घर बस्न छाडिनन्। निरन्तर घरमा बस्दै गर्दा जलुलाई न त देउता लाग्यो, न त जीवनमा कुनै बाधा नै आयो। उनी अहिले गाउँकी अगुवा बनेकी छन्।  उनले भनिन्, ‘सामान्ती समाजले महिला दबाउन गरिएको यो रीति संस्कृति स्वीकार्य छैन्।’

महिनावारी भएको बेला गोठमा बस्दा धेरै महिला तथा किशोरीको अकालमा मृत्यु भयो। किरा फट्याङ्ग्रा र रोगको सिकार बन्नु पर्यो। बलात्कारबाट महिलाको अस्मिता लुटियो। पछिल्लो समयमा निकै असुरक्षित महसुस भएका कारण समाजमा छुवाछूत रोक्ने अभियान नै चल्न थालेको छ। अहिले गाउँमा छुवाछूतको कुनै प्रसंग चल्दैन्। गाउँमा अहिले समानताको सन्देश फैलिएको छ।

‘हामी तिला गाउँपालिका ६ रिपी गाउँका ४८ घरधुरीले बैशाख महिनादेखि कोही कसैले छुई भएको अवस्थामा गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिवद्धताका साथ छाउ गोठमुक्त गाउँ घोषणा गर्दछौँ। यदि कोही कसैले छाउ भएको अवस्थामा पुनः छाउगोठ प्रयोग गरेको भेटिएको खण्डमा कानूनबमोजिम सजायको भागेदार हुने छौँ’, प्रतिबद्धतामा भनिएको छ।

स्थानीय प्रेमबहादुर रावत गाउँमा महिलाले थालेको छुईविरोधी अभियान सान्दर्भिक भएको बताउँछन्।  ‘संसारमा महिला र पुरुष दुई मात्रै जात छन्। यहाँ धर्म, जातियताका आधारमा दमन गर्ने संस्कार बसेकोमा हटाउनु पर्ने तर्क छ’, उनले भने, ‘पहिलो महिनावारी भएको पाँच दिनसम्म घरको जग छुन पाउँदैन’थे। आगनसम्म आउन पनि पाँच दिन पर्खनु पथ्र्यो। सानो छुई गोठमा एकसरो लुगा लगाएर, पुरानो कपडा आढेर बस्थे। तर अब घरभित्रको सुरक्षित कोठा रोजेर महिनावारी भएको समयमा बस्छन्। सरसरफाईमा अत्याधिक ध्यान दिन्छन्। पोषण आहार र आराममा जोड दिन्छन्।’

पहिले खोलासम्म नुहाउन पुग्नु पर्ने अवस्था थियो। अहिले गाउँमै धारा छन्। महिनावारी भएको समयमा प्याडको प्रयोग गर्न थालेका छन्, यहाँका महिलाहरू।  तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा महिलाको अग्रसरतामा छाउगोठ मुक्त घोषणा हुनुले विकृतिविरुद्धको लडाईमा महिला निर्मम छन् भन्ने प्रमाणित भएको बताउँछिन्। 

‘स्थानीय सरकार छाउपडी प्रथाविरुद्ध कठोर बन्दैछ। यो संस्कारलाई सधैँका लागि विदाई गर्ने चरणमा छ’, उनले भनिन्, ‘गाउँमा देखिएको कठिनाई बताउँनुस्, स्थानीय सरकार सक्दो साथ र सहयोग दिन्छ।’ 

 

प्रकाशित: १५ वैशाख २०७६ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App