७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोबाइलमा कुरा गर्न पाउँदा माझफालवासी दंग

माझफालमा पर्ने रिन्पुले लेकमा स्थापना गरिएको बिटिएस प्रणालीको टावर।

डोल्पा – उमेरले ६५ वर्षका भएका आइते रोकाया मंगलबार निकै खुसी थिए। साविकको माझफाल गाविस हालको ठूलीभेरी नगरपालिका ६ का उनलाई पहिलो पटक घरबाटै काठमाडौंमा रहेका आफन्तसँग मोबाइलमा कुरा गर्न पाउँदा हर्षको सीमा रहेन।

उनीमात्र होइनन् शिक्षक हचिन्द्र बुढा पनि औधी खुसी थिए। फोन गर्न हिँडेरै सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो। उनले भने, ‘अब त गाउँमै मोबाइल टावर बन्यो, घरभित्रबाटै ढुक्कले आफन्तसँग भलाकुसारी गर्न पाइने भयो।’

ठूलीभेरी नगरपालिका ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बीटीएस स्थापना गरेपछि माझफालबासीको हजारौं वर्ष अघिदेखिको मोबाइल फोन प्रयोग गर्ने सपना पूरा भएको हो। पिछडिएको दुर्गमबस्ती माझफाल, थरगाउँ र काँडातालीवासीले एक वर्षसम्मको प्रयासपछि नेपाल टेलिकमको बीटीएस प्रणालीबाट लाभान्वित हुन पाएका छन्।

पछिल्लो समय हिमाली जिल्ला डोल्पाका दुर्गम ग्रामीण बस्तीका जनता सञ्चार प्रविधिसँग जोडिँदै जाने क्रम जारी छ। हुवावे कम्पनीले माझफाल क्षेत्रमा सञ्चार सुविधा पु¥याउने जिम्मेवारी पाएको थियो। माझफाल क्षेत्रका ३ हजार बढी जनता सञ्चार पहुचमा पुगेको बताउँदै बर्षौदेखिको घरमै बसेर गाउँलेले आफन्तसँग भलाकुसारी गर्ने दिनको प्रतिक्षाको अन्त्य भएको विद्यार्थी नेता योगेन्द्र बुढाले बताए।

एक साताअघि मात्र युवा विद्यार्थी नेता बुढाले मोवाइल टावरका लागि आवश्यक पर्ने सामाग्रीहरु हवाई चार्टर गरेर ल्याएका थिए। मंगलबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको नमस्ते मोबाइल टावर माइक्रोवेभ लिंकमा जोडिएको छ। फोन र टुजी इन्टरनेटसमेत चलाउन पाउने गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले नागरिक न्युजलाई बताए। नमस्ते मोवाइल सेवा सुचारु भएको अवसरमा गाउँमा खुसियाली कार्यक्रम राखिएको सुनिता बुढाले बताइन्।

डोल्पाको ३७ हजार ७ सय जनसंख्यामध्ये झण्डै २६ हजारको हाराहारीले सञ्चार प्रविधिको उपयोग गरिरहेका छन्। तल्लो र मध्य डोल्पाका अधिकांश जनताहरुले मोवाइल सेवाको पहुचमा पुगे पनि उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्धबाहेक अन्य बस्ती मोबाइल सेवाबाट वञ्चित छन्।


 

प्रकाशित: १० वैशाख २०७६ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App