नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा १९ वर्षीया स्वस्तिका लिम्बुको ‘हत्या’ नै नभएको जिकिर गर्दै सांसदको आडमा दोषीलाई उन्मुक्ति दिन खोजिएको माइती पक्षले आरोप लगाएका छन्। नेपालगन्जको राँझा माइती भएकी स्वस्तिकाले भृकुटीनगर निवासी २० वर्षीय ‘आशिष’ भनिने मुकेश बुढाक्षेत्रीसँग करिब ६ महिनाअघि प्रेम विवाह गरेकी थिइन्।
माइती पक्षका अनुसार लागु औषध दुव्र्यसनमा फसेका र केही समय सुधार केन्द्रमा समेत बसेका मुकेशले विवाह भएदेखि नै विभिन्न निहुँमा स्वस्तिकामाथि हिंसा गर्दै आएका थिए। मुकेश नेपाली सेनाका मेजर अमर बुढाक्षेत्रीका छोरा हुन्।
पर्याप्त प्रमाण हुँदा पनि सांसद नन्दलाल रोकायको दबाबमा प्रहरीले दोषीलाई बचाउन मुचुल्का नै कमजोर बनाएको छ। मृतकको शरीरमा भएका घाउचोट, निलडाम र कपडा च्यात्तिएको कुरा मुचुल्कामा छैन।
नयाँ वर्षको दिन दिउँसो माइत जाने विषयमा मुकेश र स्वस्तिकाबीच सामान्य विवाद भएको थियो। आफूलाई श्रीमान्ले माइत आउन नदिएको भन्दै स्वस्तिकाले आमालाई फोनसमेत गरेकी थिइन्। त्यसको केहीबेरमै स्वस्तिका आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परिन्। मृत्यु भइसकेपछि स्वस्तिकाले माइत जान नपाएर आत्महत्या गरेको भनी मुकेशले बयान दिएका थिए।
घटना स्थलको प्रकृति हेरेर माइती पक्षले आत्महत्या गरेको विश्वास गर्न सकेका छैन। उनीहरूले मुकेशले नै हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका छन्। हत्यामा संलग्न रहेका मुकेशलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिन उनका मावली हजुरबुबासमेत रहेका नेकपाका सांसद नन्दलाल रोकाय सक्रिय भएर लागेको माइती पक्षले बताएका छन्।
मृतकका बुबा विनोद लिम्बुले घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई राजनीतिक दबाब दिएर सांसद रोकायले हत्यारालाई जोगाउन अनेक प्रपञ्च रचेको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। ‘हत्याको पर्याप्त प्रमाण हुँदा पनि सांसद नन्दलाल रोकायको दबाबमा प्रहरीले दोषीलाई बचाउन मुचुल्का नै कमजोर बनाएको छ, मृतकको शरीरमा भएका घाउचोट, निलडाम, कपडा च्यात्तिएको कुरा मुचुल्कामा छैन,’ लिम्बुले पत्रकार सम्मेलनमा भने, ‘हुँदा हुँदा डाक्टरलाई समेत प्रभावमा पारेर पोस्टमार्टमको रिपोर्टसमेत आफू अनुकूल बनाएका छन्।’ पोस्टमार्टम रिपोर्टमा सातजना डाक्टरको हस्ताक्षर भए पनि मृतकको शरीरमा भएको चोटपटक, निलडामबारे केही नबताएर सामान्य चोट रहेको कुरा उल्लेख गरेको उनले बताए। छोरीले आत्महत्या नगरेर हत्या नै भएको ठोकुवा गर्दै विनोदले हत्यारालाई जन्मकैद हुनुपर्ने माग गरे।
स्वस्तिकाको न्यायका लागि माइती पक्षले संघर्ष समिति नै बनाएका छन्। दोषीलाई कानुनी कारबाही नहुँदासम्म आन्दोलन जारी राखिने उनीहरूको चेतावनी छ। दोषीलाई राजनीतिक संरक्षण गरेर उन्मुक्ति दिने प्रयास गरिए चरणबद्ध आन्दोलन गर्ने संघर्ष समितिले बताएको छ। संघर्ष समितिका संयोजक लालमणि सारु मगरले मृतकको शरीरभरि देखिएको निलडाम, घाँटीमा बाँधिएको डोरी र घटनास्थलको प्रकृति हेर्दा नातिनीको हत्या नै गरिएको जिकिर गरे। सांसदको आडमा प्रहरी मुचुल्का र पोस्टमार्टम रिपोर्ट यथार्थ नआएको भन्दै निष्पक्ष छानविन गरिनुपर्ने उनको माग छ।
घटनाको मुचुल्का तयार गर्दा मुद्दा शाखा इन्चार्ज एवम् प्रहरी निरीक्षक दीपक मल्लसमेत प्रभावमा परेको पीडित पक्षले बताएका छन्। प्रहरीले घटनाका आरोपी मुकेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। माइती पक्षले मुकेशविरुद्ध किटानी जाहेरी दर्ता गराइसकेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले घटनाको निष्पक्ष अनुसन्धान गरिरहेको बताए। ‘हामीलाई कतैबाट दबाब आएको छैन, सिरियस भएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘भिसेरा परीक्षणका लागि पठाइसकेका छौं, घटनाको प्रकृति सबै हेरेर अनुसन्धान गरिरहेका छौं।’
प्रकाशित: १० वैशाख २०७६ ०३:४३ मंगलबार