१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द

राप्ती लोकमार्गको राम्रीमा सडक मर्मतको काम गर्दै डोजर । तस्बिर : नागरिक

रुकुम– राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडकको दाङ–सल्यान सडक खण्डमा मर्मतको काम सुरु भएकाले शनिबारदेखि दैनिक ९ घण्टा बन्द सुरु भएको हो। सडकमा ओटासील गरिएको लामो समय पछि यहाँ मर्मतको काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा दाङको तुल्सीपुरदेखि सल्यानको कपुरकोटसम्म मर्मतको काम सुरु भएको हो। 

सडक मर्मतका साथै चौडा बनाउन थालिएकाले आगामी २५ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो ४ बजेसम्म र राति १ बजेदेखि विहान ५ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ। सडक चौडा तथा मर्मतको काम गर्ने स्थलमा सडक साघुँरो भएकाले काम प्रभावित नहोस् भनेर उक्त समयमा यातायात सेवा बन्द गरिएको कार्यालयका इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए।

सडक मर्मतको लागि अहिले काम सञ्चालन भइरहेको छ। मूल्य अभिबृद्धि कर सहित ५६ लाख लागतमा चालु आर्थिक वर्षको असारभित्र सक्ने उज्जवल निर्माण सेवासंग सम्झौता गरेर मर्मतको काम भइरहेको इन्जिनियर भण्डारीले बताए। उक्त क्षेत्रमा सडक साघुरो हुँदा ठुलो दुर्घटना हुने गरेको छ। दुर्घटनाका कारण यहाँ चालु आर्थिक वर्षमा अहिलेसम्म ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ।

सडक बन्द भएपछि रुकुम (पूर्व), रुकुम (पश्चिम), सल्यान लगायतका जिल्लाबाट दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा जाने तथा त्यहाँबाट आउने यात्रुलाई समस्या हुने गरेको छ। अहिले सडक मर्मत गर्दा केही समस्या भएपनि मर्मत भइसकेपछि सहज हुने सडक डिभिजन कार्यालयको भनाई छ। जोखिम पूर्ण यात्रा गर्नुपर्ने यात्रुको यस सडक खण्डको समस्या सधैंका लागि अन्त्य गर्ने गरेर काम भइरहेको कार्यालयको दाबी छ। 

प्रकाशित: ८ वैशाख २०७६ ११:५१ आइतबार

राप्ती_लोकमार्ग दाङ–सल्यान_सडक_खण्ड मर्मत ९_घण्टा_बन्द