दुलेगौँडा(तनहुँ)– संरक्षणको अभावले कुवा, पधेरो, पोखरी र तालतलैयाको मुहान बिस्तारै सुक्दै जान थालेका छन्। नदीनालाको सतह क्रमशः घट्दै गएको छ। ग्रामिण बस्तीमा जनघनत्व नहुँदा भएका मुहानले संरक्षण पाएका छैनन्।
मुहान आसपासका क्षेत्रमा अत्यधिक दोहन र फडाँनी हुनु मुहान सुक्दै जानुको प्रमुख कारण हो। भएका मुहानहरु पनि सुक्दै जान थालेपछि जनघनत्व बढी भएका शहरी क्षेत्रमा खानेपानीको अभाव देखिन थालेको छ। पानीका मुहानहरुको संरक्षण गर्न नसके केही बर्षमा खानेपानीको हाहाकार हुने निश्चित छ।
खानेपानी मानव जीवनको आधारभुत आवश्यकता भएको भन्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुहान संरक्षणको अभियान सुरुवात गरेका छन्। जन्मथलो ढोरफिर्दीको ठुृलो पधेरोबाट मुहान संरक्षणको अभियानको सुरुवात गरेको पौडेलले बताए। बाल्यकालमा पानी पिएको पधेरोबाट उनले वृक्षरोपण गरेर मुल संरक्षण अभियान सुरु गरे।
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने क्रम बढेपछि संरक्षण अभियानको अवधारणा ल्याएको उनले जानकारी दिए। हाल भएका मुहान संरक्षण गर्न नसके केही वर्षमा सुक्ने र त्यसले पानीको हाहाकार हुने उनी बताउँछन्। ‘१५ वर्ष अगाडिसम्म पानीका स्रोतहरु प्रशस्तै थिए, ठाउँठाउँमा पानीका मुहान थिए, ती मुहान अहिले सुक्दै गएका छन्। जोगाउन नसके हाहाकार हुनेछ’, उनले भने। राज्यले नै बिशेष नीति योजना बनाएर संरक्षण गर्न आवश्यक रहेको धारणा पौडेलले राखे।
‘राज्यको मात्रै भर परेर हुदैन्’, उनले भने, ‘हामी आफूले गर्न सक्ने गर्नुपर्दछ।’ मुहान क्षेत्रमा भएका वृक्षलाई जोगाउँदै बाँझो जमिनमा वृक्षरोपण गर्दा मुहान संरक्षित हुने उनको भनाई छ। मुहान वरपरको खाली क्षेत्रमा वृक्षरोपण गर्नुपर्छ भन्ने चेतना जगाउन अभियान केन्द्रित हुने उनले बताए।
आफ्नो आवश्यकतालाई आफै जोगाउनुपर्छ भन्ने ठानेर अभियानमा लागेको नेता पौडेलले बताए। उनी भन्छन्, ‘पहिला हामी तनहुँ–२ मा सक्रियताका साथ यो अभियान चलाउँछौं। त्यसपछि अभियानलाई अरुले पनि सिको गरेर लैजाने छन्।’
कांग्रेसको संरचनालाई प्रयोग गरेर अभियान देशभर सञ्चालन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए। अभियानअन्तर्गत पानीको मुहान जोगाउन वरपरको क्षेत्रलाई तारवार र वृक्षरोपण गरिने छ। उनले रिचार्ज पोखरी बनाएर समेत संरक्षण गर्न सकिने उल्लेख गरे। पानी मुहानमाथिको भुभागमा बनाइएको रिचार्ज पोखरीमा जम्मा भएको पानीले मुहान संरक्षणमा सहयोग पुग्ने उनको विश्वास छ।
प्रकाशित: ६ वैशाख २०७६ १२:३८ शुक्रबार