१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विमान दुर्घटनाको छानबिन

सोलुखुम्बु  – खुम्बु–पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा वैशाख १ गते भएको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ। टोलीले लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए।

रामेछापको मन्थलीका लागि उड्न लागेका बेला समिट एयरको विमान धावनमार्गमा अनियन्त्रित भई मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा को–पाइलट सुजित ढुंगानासहित सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो। दुर्घटनामा अन्य चारजना घाइते भएका थिए।

दुर्घटना भएको भएको भोलिपल्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सीता एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डंगोल र नेपाल एयरलाईन्सका इन्जिनियर राजेश श्रेष्ठ रहेका छन्। छानबिन टोली स्थलगत अध्ययनपछि बुधबार नै काठमाडौं फर्किएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०३:५३ शुक्रबार

खुम्बु–पासाङल्हामु_गाउँपालिका तेन्जिङ_हिलारी_विमानस्थल दुर्घटना छानबिन