बारा - यही चैत १७ गते साँझ आएको बिनाशकारी हावाहुरीबाट भत्किएका घरको भग्नावशेष हटाउन र क्षति भएका घर मर्मत गर्न हावाहुरीपीडित आफैं जुटेका छन्। सरकारको भर पर्दा भग्नावशेष हटाउन समय लाग्ने र घर मर्मत गर्दा बस्नलाई सजिलो हुने भन्दै उनीहरू सो कार्यमा आफैं जुटेका हुन्। कलैया उपमहानगरपालिका–१३ फुलवरियाका मोहम्मद हुसेन हावाहुरीले भत्काएका घरको मर्मत कार्यमा लागेका छन्। ‘खुला आकाशमुनि बस्नुभन्दा भत्केका घर मर्मत गरेर बस्नु राम्रो हो,’ उनले भने, ‘अरूको भर पर्दा घरको मर्मतकार्य ढिलो हुने भएकाले आफैं मर्मतमा लागेको हँु।’
अहिले पनि हावाहुरीसँगै पानी पर्ने भएकाले वर्षा र हुरीबाट बच्न भत्केको घर मर्मत गर्नुपरेको उनले बताए। उनले खरको टाट (खरबाट बनेको घरको पर्खाल) चारकोठे घर भत्किँदा परिवारका सदस्यले अरूको घरमा बस्नुपरेको गुनासो सुनाए। घरको छानो मर्मतमा अर्का हावाहुरीपीडित विश्वनाथ ठाकुर पनि लागेका छन्। छानामा राखिएको टाएल हावाहुरीले नष्ट गरेपछि परिवारका सदस्य त्रिपालमुनि बस्न बाध्य भएको ठाकुरले दुखेसो पोखे। हावाहुरी आएको एक हप्ता जति बितिसक्दा पनि क्षति भएका घरको निर्माण गर्न वा मर्मत गर्न सरकारले खासै चासो नदिएकाले बाध्य भएर घर मर्मत गर्नुपरेको उनको भनाइ छ। हावाहुरीमा परी फुलवरियाका ५३ घरमा क्षति पुगेको र ती परिवार त्रिपालमुनि वा अरूको घरमा बस्दै आएका छन्।
सुरुमा संरचना हटाउन सुरक्षा निकाय र अन्य निकायको सहयोग पाउने अपेक्षा गरे पनि अपेक्षाअनुसार सहयोग गर्न कोही नआएपछि आफैं भत्किएका संरचना मिलाउन लागेको पीडितको भनाइ।
त्यस्तै भत्किएका घरका इँटा हटाउने काममा हर्दियाका धनेश्वर राम जुटेका छन्। भत्किएका घरको संरचनाले आफ्नो घडेरीमा उभिनसमेत नसकिने भएपछि तितरबितर भएका इँटा एक ठाउँमा जम्मा गर्न लागेको रामले बताए। हर्दियाका एक सय ७६ घर भत्केका छन्। ती घरका पीडित पनि त्रिपाल र टेन्टमा बस्न बाध्य भएका छन्। पुरैनियाका मञ्जुर आलमले पनि भत्किएको घरको संरचना एक ठाउँमा थुपार्न थालेका छन्। नेपाली सेनाले बनाइदिएको एउटा टेन्टमा परिवारका १६ सदस्य अट्न नसक्ने भएपछि भत्किएको संरचनाबाट अस्थायी टहरा बनाउन थालेको उनले बताए। ‘इँटाबाट बनेको चारकोठे घर भत्कँदा १५ वर्षीया छोरी सबनम खातुन र १० वर्षीया रुवि खातुनको ज्यान गएको छ,’ उनले भने, ‘घर र परिवारका सदस्य गुमाउँदा पनि अहिलेसम्म सरकारले वास्ता गरेन।’
मुस्तकिम मिया अन्सारीको परिवारका सदस्य पनि घर भत्किँदा तितरबितर भएका इँटा संकलनमा लागेका छन्। घर भत्किएको धेरै दिन भइसके पनि त्यसलाई हटाउन वा नयाँ निर्माण कार्यमा बाहिरबाट कोही नआएकाले बाध्य भएर आफैं भग्नावशेष हटाउन शुरु गरेको उनले बताए। सरकारले भत्किएका घर चाँडै बनाउन सुरु नगरे वर्षाको बेलामा धेरै हुवाहुरीपीडितको बेहाल हुने उनले सुनाए।
तेलगाईका ४४ वर्षीया भोजेन्द्र पण्डित अहिले सब काम छाडी घरकै काममा व्यस्त छन्। सुरुमा संरचना हटाउन सुरक्षा निकाय र अन्य निकायको सहयोग पाउने अपेक्षा गरे पनि अपेक्षाअनुसार सहयोग गर्न कोही नआएपछि उनी आफैं भत्किएको संरचना मिलाउन लागेका हुन्। ‘राहतका लागि त कसैले वास्ता गरेन,’ भोजेन्द्र भन्छन्, ‘भत्केको घर र अन्नपात त कसले निकालिदेला र ?’ अरूको मुख ताक्नुभन्दा थिचिएको अन्नपात परिवारका सदस्य र छिमेकीको सहयोगमा निकाल्न थालेको सुनाउँदै उनले भने, ‘छिमेकीहरू मिलेर एकअर्काको अन्नपात झिक्न लागिपरेका छौं।’
आमा कोइली देवीलाई गुमाएका जवाहिरप्रसाद यादवको खुट्टामा चोट लागे पनि उनी भत्केको घरको इँटालगायत तितरबितर भएको सामग्री मिलाउन लागेका छन्। ‘बाहिरबाट सहयोग गर्ने मानिस आउने भए अहिलेसम्म आइहाल्थे नि,’ जवाहिर यादवले भने, ‘जहिले गरे पनि आफैंले गर्नुपर्ने भएकाले इँटाहरू हटाउन थालेको हुँ।’ ८२ घर भएको तेलगाईका ७८ घर पूर्णरूपमा ध्वस्त भए पनि प्रभावित परिवारका सदस्य मिलेर नै भत्किएका सामान हटाउन लागिपरेका छन्।
प्रकाशित: २७ चैत्र २०७५ ०३:१० बुधबार