२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खाजामा उसिनेको फर्सी र सुठुनी

सोलुखुम्ब – थुलुङ दुधकोसी गाउँपालिका–७ देउसामा आयोजित एक कार्यक्रमका सहभागीलाई खाजाको रूपमा उसिनेको फर्सी र सुठुनी वितरण गरिएको छ। सहरलगायत ग्रामीण क्षेत्रमा समेत प्याकेटका जंकफुडको प्रचलन बढिरहेका बेला सोमबार आयोजित कार्यक्रममा स्थानीय उत्पादन तथा अग्र्यानिक खाजा वितरण गरिएको हो।

वडाको आयोजना तथा सगरमाथा सतर्कता समाजद्वारा सञ्चालित सुशासन प्रवद्र्धन परियोजनाको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागी सर्वसाधारण तथा अतिथिलाई स्थानीय स्तरमा उत्पादित फर्सी, सुठुनी (सखरखण्ड) र आलु उसिनेर खाजा वितरण गरिएको थियो।

चिया र बिस्कुट खाजा खाइरहेका देउसालीले अग्र्यानिक खाजा खान पाएपछि खुसी व्यक्त गरे। देउसाका चतुरमान तामाङले वडा कार्यालयले खाजाको रूपमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु राम्रो विषय भएको बताए। उनले भने, ‘आगामी दिनमा पनि निरन्तर स्थानीय अग्र्यानिक उत्पादनलाई खाजाको रूपमा प्रयोग गर्दै लैजानुपर्छ। अनि मात्र स्थानीयलाई पनि उत्पादनमा हौसला मिल्छ।’

होटलको सुविधा भएको ठाउँमा चाउमिन र ममबाहेक अरू वस्तु खाजाको रूपमा प्रयोग हुँदैन। भुटेको मकै, भटमास, सेलरोटीलगायत स्थानीय उत्पादनलाई खाजाको रूपमा प्रयोग गर्न सके कृषकलाई समेत ऊर्जा थपिने सर्वसाधारणको भनाइ छ। क्याप्सन–सार्वजनिक सनुवाइका सहभागीलाई उसिनेको फर्सी, सुठुनी, आलुलगायत खाजा वितरण गरिँदै।

प्रकाशित: २७ चैत्र २०७५ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App