३० आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीय तहलाई मतलब छैन आफ्नै ठाउँको शिक्षा

रोल्पा – नयाँ शैक्षिक सत्रको सुरु हुनै लाग्दा पनि रोल्पाका स्थानीय तहसँग शिक्षाबारै कुनै ठोस योजना छैन। आफ्ना क्षेत्रमा कति विद्यार्थी विद्यालय पुहुँचमा छन्, त्यसबारे पनि यकिन विवरण राखेका छैनन् यहाँका स्थानीय तहले, भर्ना अभियान त परको कुरा। 

भर्खरै सकिएको वार्षिक परीक्षामा कति विद्यार्थी अनुपस्थित भएसम्म जानकारी राख्दैनन् यहाँ स्थानीय तह। कतै चासो दिइएको पाइएको छैन। 

लाखौं खर्चेर केही साताअघि होलेरीमा ‘अक्षर महोत्सव’ सकाएको रुन्टीगढी गाउँपालिका पनि अब हुने भर्ना अभियानबारे मौन छ। कति विद्यार्थी विद्यालय भर्ना भए, कतिले वार्षिक परीक्षा दिए र उनीहरु कहाँ छन् भन्नेमा गाउँपालिका बेखबर छ। 

‘हाम्रोमा कति विद्यार्थी विद्यालयबाहिर छन् भन्ने थाहा भएन। परीक्षामा अनुपस्थितको संख्या आयो भने केही थाहा होला,’ रुन्टीगढी गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति कुलराज आचार्यले भने, ‘भर्ना अभियानबारे गाउँपालिका मौन छ। यो शीर्षकमा बजेट आएजस्तो मलाई लाग्दैन।’ 

सदरमुकामसमेत रहेको रोल्पा नगरपालिकालाई पनि आफ्नो क्षेत्रका कति विद्यार्थी विद्यालय बाहिर छन् भन्ने थाहा छैन। नगरप्रमुख पूर्ण केसीले भने, ‘केही दिनमा शिक्षा समितिको बैठक बसालेर भर्ना अभियानबारे छलफल गर्ने सोचमा छौं।’ नगर क्षेत्रको शिक्षा हेर्नेगरी जिम्मा पाएका श्रोत व्यक्ति लोककुमार श्रेष्ठ पनि विद्यार्थी कति बाहिर छन् भन्ने जानकारी नभएको बताउँछन्।

‘भर्ना अभियानबारे नगरपालिकाको सोचबारे हामीलाई थाहा छैन, बजेटबारे पनि बनाउनेलाई नै थाहा होला।’ गत वर्ष शैक्षिक सत्र सुरु हुन थाल्दा भर्ना नभएर इँट्टाभट्टा वा अन्य रोजगारीका लागि विद्यालयबाहिर रहेकाको आधिकारिक तथ्याङ्क कोहीसँग पनि छैन।

‘गत शैक्षिक सत्रमा यहाँ करिब २ हजार ५ सय जति भर्ना नै भएनन्।’ पोहोर विद्यालय बाहिर रहेका करिब ५ सय बालबालिकालाई स्कुल पठाउन सहयोग गरेको सेभ द चिल्ड्रेनका दिलकमल क्षत्रीले बताए। उनका अनुसार यो सालको वार्षिक परीक्षामा पनि करिब ४ हजार विद्यार्थी अनुपस्थित छन्।

लाखौं खर्चेर तामझामका साथ राष्ट्रपति रनिङ सिल्ड सकाएका वा सकाउने तयारीमा रहेका हरेक स्थानीय तहले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने कुनै योजना बनाएका वा छलफलसमेत गरेका छैनन्। ‘कति विद्यार्थी विद्यालयबाहिर छन भन्ने थाहा भएन।’

लुङग्री गाउँपालिका प्रमुख दुर्गा खड्काले भने, ‘अबको केही दिनमा भर्ना अभियानबारे छलफल गनुपर्ला।’ लुङ्ग्री गाउँपालिकाकै शिक्षा स्रोत व्यक्ति गिरिराज योगी परम्परागत तरिकाबाटै यो वर्ष पनि भर्ना अभियान चल्ने बताउँछन्। ‘प्रअहरूलाई वैशाख २ देखि १२ गतेसम्म भर्ना अभियान चलाउन भनेका छौं।’

आज पनि रोजगारीका लागि विद्यालय जाने उमेर समूहका अधिकांश बालबालिका उपत्यकालगायत ठाउँहरुका इँटाभट्टामा काम गर्न जाने गरेका छन्। 

त्यसो त घरायसी कामकाजका कारण विद्यालय छोड्नेको संख्या पनि ठूलो छ। मजदुरीका लागि हिँडेकालाई बेलाबेलामा प्रहरीले उद्धार गरेर घर फर्काउने गरे पनि उनीहरु अन्य गोरेटो सडक प्रयोग गर्दै जिल्लाबाहिर जाने गर्छन्। ‘विद्यालयमा भर्ना नै नहुनु एउटा समस्या छ भने भर्ना भएकालाई टिकाइराख्नु अर्को चुनौती।’ सेभ द चिल्ड्रेनका दिलकमल क्षत्री भन्छन्, ‘भर्ना नहुने संख्याभन्दा भर्नापछि विद्यालय छोड्नेको संख्या बढी छ।’

प्रकाशित: २५ चैत्र २०७५ ११:१८ सोमबार

स्थानीय_तह भर्ना_अभियान शिक्षा राेल्पा