१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कमजोर संरचनाका घरमा बढी क्षति

बारा - आर्थिक अवस्था कमजोर भएपछि समाजमा पीडित भएर बाँच्नुपर्ने अवस्था सिर्जना भएका उदाहरण धेरै भेटिन्छन्। बलियो घर बनाएर बस्न नसक्दा प्राकृतिक विपत्तिले पनि उनीहरूलाई नै बढी दपेट्छ भन्ने उदाहरण बारामा देखिएको छ। चैत १७ गते आइतबारको हावाहुरीका कारण बारामा माटो, इँटा, बास, काठ, खर, खपडा, जस्ता प्रयोग गरी निर्माण गरिएका घरहरूमा बढी क्षति भएको छ। कमजोर संरचनाले बनेका घरहरूले हावाहुरी थाम्न नसक्दा २७ जनाले ज्यान गुमाउनुप¥यो भने चार सय २० जना घाइते भए।

फेटा गाउँपालिका–६ पुरैनियाका इजहार मियाँको कमजोर संरचना भएको घर भत्किँदा चार सदस्यको ज्यान गयो। ‘परिवारका सदस्यहरूको ज्यान जानुको कारण हावाहुरी मात्र नभएर घर कमजोर हुनु पनि हो,’ इजहारले भने, ‘घरको संरचना बलियो भएको भए न घर ढल्थ्यो, न परिवारका सदस्यले जीवन गुमाउनुपथ्र्यो।’ टोलछिमेकमा आर्थिक अवस्था राम्रो भएका व्यक्तिहरूले बलियो संरचना भएका पक्की घरमा हावाहुरीले खासै क्षति नपु¥याएको उनको बुझाइ छ। ‘सिमेन्ट र रड प्रयोग गरी छिमेकी मुस्ताक अन्सारीले बनाएको पक्की घरमा बस्ने सबै सुरक्षित रहे,’ इजहारले भने, ‘गरिबहरूले निर्माण गरेका कमजोर घर मात्रै हावाहुरीले बढी क्षति पु-याएको छ।’

कमजोर आर्थिक अवस्थाका कारण चार वर्षअघि दुःखजिलो गरेर सिमेन्टको साटो चिप्लो माटो, इँटा, बास र खपडा प्रयोग गरी तीनकोठे घर निर्माण गरी त्यसमा परिवारसँग खुसीसाथ बस्दै आएको उनले बताए। आइतबार एक्कासि आएको हावाहुरीले माटो प्रयोग गरी इँटाले बनाइएको पर्खाल भत्किँदा र खपडा भएको छाना खस्दा पत्नी मीना खातुन, बुहारी हुसैन तारा र नातिनीहरू रुखसार खातुन र दर्खसिदा खातुनकोको ज्यान लिएको उनले सुनाए। पुरिएर पनि उद्धारपछि बाँचेका छोरा र नाति दुवै घाइते रहेको उनले बताए।

पुरैनियाकै फैजुल हक मियाँले कमजोर संरचनाको घर भत्किँदा पत्नी र बुहारी गुमाए। ‘पहिल्यै पक्की घर बनाएको भए परिवारका सदस्यहरू गुमाउनुपर्दैनथ्यो,’ उनले भने। आर्थिक अवस्था कमजोर भएकै कारण एक मात्र छोरो रइस आलमलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको र आफू कामको सिलसिलामा बहिर गएको अवस्थामा घर भत्किँदा पत्नी मोस्तकिया खातुन र बुहारी बिबिया खातुनको ज्यान गएको उनले बताए। गरिबीले गर्दा घरको जग राम्रोसँग नहाली माटो र इँटा प्रयोग गरी बनाइएको भित्ता भत्किँदा र सिमेन्टबाट बनेको टायलको छानो खस्दा धेरै क्षति भएको उनले बताए। घरमा बढी लगानी गर्न नसकिने अवस्था रहेकाले काम चलाउन मात्रै घर निर्माण गरी त्यसमा बस्दै आए पनि त्यही घर भत्किएर परिवारकालिएको भन्दै फैजुलले दुखेसो पोखे। राम्रोसँग जग हालेर बनाइएका टोलका पक्की घरमा हावाहुरीले सामान्य क्षति मात्रै पु¥याएको उनले बताए। गरिब समुदायले थोरै खर्चमा निर्माण गरेका कच्ची घर हावाहुरीले भत्किँदा धेरै धनजनको क्षति भएको उनको भनाइ छ।

एक वर्षअघि मात्रै माटो, इँटा, बास र टायलको प्रयोग गरी बनाइएको पुरैनियाकै बागड मियाँको सातकोठे घरले पनि हावाहुरीको सामना गर्न सकेन। ‘धेरै दुःख गरेर निर्माण गरिएको कच्ची घरमा परिवारका १८ सदस्य मिलीजुली बस्दै आएका थियौं,’ उनले भने, ‘कच्ची घर भत्किँदा त्यसमा दबिएर परिवारका नौ जना घाइते भए।’ घर भत्किँदा छोरी नाजला खातुन, छोरा जुल्फकार मियाँ, अबदुलाह मियाँ, बलाल मियाँलगायत घाइते भएको र उनीहरूको अहिले पनि उपचार भइरहको उनले सुनाए। ‘गरिबीका कारण गाउँमा रहेको पुस्तैनी आठ धुर घडेरीमा सबै परिवार बस्ने पक्की घर बनाउन नसकिने अवस्था थियो,’ बागडले भने, ‘कच्ची घर बनाउन अलि बढी जग्गा आवश्यक थियो।’ जग्गा अपुग भएपछि सो पुस्तैनी घडेरी बेचेर अहिले २६ धुर घडेरी किन्न बैना दिएर त्यसमा कामचलाउ घर बनाएर गुजारा गर्दै आएको उनले बताए। आफन्तसँग दुई लाख रुपैयाँ सापटी लिएर माटो, इँटा, बाँस र सिमेन्टको टायल प्रयोग गरी बनाएको घर ऋण तिरिनसक्दै भत्किएपछि सकस्या आएको उनले बताए। ‘सुरुमै माटो, इँटा, बास र टायल प्रयोग घर निर्माण नगरी सिमेन्ट र इँटा प्रयोग गरेर मात्रै पक्की घर बनाएको भए हावाहुरीमा घरमा पनि क्षति पुग्दैनथ्यो,’ उनले भने, ‘परिवारका सदस्यहरू पनि घाइते हुँदैनथे।’

बागड मियाँकै टोलवासी रुकसाना खातुन, साखिर मियाँ, महसन मियाँ, बासिर मियाँ र नुरहोदा मियाँका कच्ची घरसमेत हावहुरीमा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तर टोलकै मुआब्जा खातुन, अब्दुल रहमान, अफताब मियाँ, महमजान मियाँ, अहमद मियाँ र सिकेन्द्र मियाँका पक्की घरहरूमा भने सामान्य मात्रै क्षति भएको देखिन्छ। हावाहुरीले गरिबहरूको मात्रै घर भत्काएको पीडित रोकसाना खातुनले बताइन्। ‘घरमा खानलाउन समस्या पर्नेहरूले कच्ची घर बनाएका थिए,’ उनले भनिन्, ‘हावाहुरीले त्यही कच्ची घरलाई समेत छाडेन।’ घर भत्किँदा आफ्नो देब्रे हात भाँचिएको र पाँच छोराछोरी पनि घाइते भएको उनले बताइन्।

पुरैनियामा हावाहुरीबाट ८२ घर पूर्ण रूपले क्षति भएको वडाध्यक्ष जाकिर अन्सारीले बताए। पूर्ण रूपले क्षति भएका घरमध्ये ७९ वटा माटो, इँटा, बास, काठ, टाएर र जस्ता पाताबाट निर्माण गरिएको कच्ची घर रहेको र तीनवटा मात्रै पक्की घर रहको अध्यक्ष अन्सारीले बताए। सिमेन्ट, बालुवा, गिटी, फलामे छड र इँटाको प्रयोग गरी पक्की घर बनाउँदा एक कोठाको दुई लाखभन्दा पनि बढी खर्च लाग्ने भएकाले निम्न आर्थिक अवस्था भएका परिवारले कच्ची घर बनाएर गुजारा गर्दै आएको उनले बताए।

१० मिनेटमा करिब १८ किमि विध्वंसकारी यात्रा गरेको शक्तिशाली हुरीले बारामा फुस, खपडा र माटो प्रयोग गरी इँटा जोडेर बनाइएको घर तहसनहस गरेको छ। बाराका आठ स्थानीय तहमा करिब १९ सय घर भत्किएको प्रारम्भिक तथ्यांक रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए। तीमध्ये २÷३ प्रतिशत मात्रै बलियो जग दिएर निर्माण गरिएको पक्की घर रहेको र बाँकी सबै घर माटो, इँटा, बासलगायत समाग्रीबाट निर्माण गरिएको प्रजिअ पौडेलको भनाइ छ। राज्यले यस्तो क्षति हुन नदिन विपन्न वर्गलाई विशेष प्याकेज दिएर बलियो संरचना भएको घर बनाउनतिर लाग्नुपर्ने सुझाव प्रजिअले पौडेलले दिए। पुरैनियामा अधिकांश घर भत्किए पनि केही पक्की घर हुरीबाट बचेको र बस्तीका पक्की घरलाई शक्तिशाली हुरीले सामान्य क्षति मात्र पु¥याएको उनले बताए। हावाहुरीले पुरैनियाका मुस्लिम टोल, भरबालियाको दलित टोल, हर्दियाको दलितलगायतको गरिब बस्तीहरूमा बढी क्षति गरेको प्रजिअ पौडेलले बताए।

प्रकाशित: २५ चैत्र २०७५ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App