९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

घोडेजात्रा ‘ठुलाबडा’को मात्र

काठमाडौं - ‘पञ्चायतमा पनि बारभन्दा बाहिर उभिएर जात्रा हेर्ने रहर मेट्नुपथ्र्यो, प्रजातन्त्र आएपछि पनि नजिकबाट हेर्न पाइएन,’ शुक्रबार टुँडिखेलको बार समाएर जात्रा चियाउँदै गरेका ७१ वर्षीय पवनराज बस्नेत भन्दै थिए, ‘नियम फेरियो तर शासक वर्गको मानसिकता फेरिएन।’ बस्नेतले त्यसरी कष्ट बेहोर्दै घोडेजात्रा हेर्न थालेको दुई दशक भयो। तर उनले अहिलेसम्म नजिकबाट जात्राको रौनक अवलोकन गर्न पाएका छैनन्।

बस्नेत एक प्रतिनिधि पात्र मात्र हुन्। जात्राको बेला टुँडिखेलभित्र ‘पहुँचवाला’ र उच्चपदस्थ व्यक्ति छिरे पनि सर्वसाधारणलाई त्यस्तो अवसर दिइन्न। जात्रा हेर्न टुँडिखेल पुगेका हजारौं सर्वसाधारण गेटबाटै फर्काइन्छन्। टुँडिखेलबाहिरबाटै जात्रा नियालिरहेकालाई शुक्रबार नेपाली सेनाका सुरक्षा गार्ड र ट्राफिक प्रहरीले धपाए। उनीहरूले बाहिरबाट चियाएर पनि जात्रा हेर्न पाएनन्। प्रहरीबाट धपाइँदै गरेको त्यो दृश्य देख्ने जोकोहीलाई जनतामाथि अपमान भइरहेको अनुभूति हुन्थ्यो। यो दृश्य नयाँ होइन, केही वर्षयता बर्सेनि दोहोरिँदै आएको नियति हो। विगतमा पनि सर्वसाधारणले यसरी नै जोखिमपूर्ण ढंगले जात्रा हेर्दै आएका छन्। जात्रा हेर्ने रहर मेट्न कतिपय सर्वसाधारण रूखमा चढ्छन्, कतिपय बारमा झुन्डिन्छन्। कतिपय जात्रा हेर्ने उद्देश्यले वरिपरिका अग्ला भवनको छतमा पुग्छन्। सरकारले सर्वसाधारणको जात्रा हेर्न पाउने अधिकारलाई ध्यानमा राखेर थोरै ठाउँ तोक्ने अवस्था रहे पनि त्यसो गरेको छैन। बरु बारमा कष्ट झेलेर हेर्नेहरूलाई पनि पराईझैं व्यवहार गरिरहेको छ।

जात्राकै बेला कतिपयले रूखमा चढेर हेर्छन्। कतिपयले बारमा झुण्डिएर हेर्छन्। कतिपय भवनको छतमा गएर हेर्छन्। तर, सरकारले सर्वसाधारणको जात्रा हेर्न पाउने अधिकारलाई मध्यनजर गर्दै थोरै ठाउँ पनि तोक्न सकिरहेको छैन।

अनौठो र आकर्षक तरिकाले मनाइने यो जात्रा हेर्ने रहर सर्वसाधारणमा जाग्नु अस्वाभाविक होइन, त्यसैले त उनीहरू बारमै भए पनि ठाउँ रोक्न बेलैमा टुँडिखेल पुग्छन्। तर जात्रा हेर्ने रहर पूरा नभएपछि मलिन हुँदै उनीहरू घर फर्कन थालेको दशकौं भइसकेको छ। सरकारी निकायले जात्रा सर्वसाधारणका होइन भन्ने भान पार्नेगरी कठोर व्यवहार प्रदर्शन गर्ने गरेको छ। ‘सरकारले उपत्यकावासीलाई घोडेजात्रा मनाउन बिदा दिन्छ तर टुँडिखेलभित्र जाने अनुमति दिइँँदैन,’ बारमै उभिएर जात्रा हेर्दै गरेका अर्का व्यक्ति कपिल घिमिरेले भने, ‘देशको उच्च पदस्थ व्यक्तिले घोडेजात्राको अनुभव नजिकबाट लिन पाउँछन्, हामीले हेर्न पाउने यही बारबाट मात्र हो।’

वसन्तपुरका स्थानीय गौतम शाक्यले परम्पराअनुसार नै घोडेजात्रा चल्दै आएको जानकारी दिए। उनले सर्वसाधारणलाई रोक लगाएर जात्रा मनाउनु उचित नभएको तर्क गरे। ‘प्रजातन्त्र पनि जनताकै अधिकारका लागि ल्याइयो, त्यसपछि बनेका कानुनले पनि सर्वसाधारणको मौलिक हकलाई जोड दिएको छ,’ उनले भने, ‘यति हुँदाहुँदै पनि काठमाडौंको मुटुमा देखाइने चर्चित जात्रा जनताले हेर्न पाउँदैनन्, यो अलि नसुहाउने विषय हो।’ नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जनताकै सुरक्षाको विषय सोचेर उनीहरूलाई टुँडिखेल प्रवेश गर्न नदिएको उल्लेख गरे। सबैलाई टुँडिखेल प्रवेश गराउँदा घोडा बिच्कने उनको तर्क उनले गरे। ‘पहिलेदेखि यस्तै हो, चलन परिवर्तन गरौं भने पनि अहिले ठाउँ साँघुरो भएको छ, थोरै ठाउँमा धेरैलाई प्रवेश गराउँदा घोडा सम्हाल्न नसक्दा अर्को दुर्घटना निम्तिन सक्छ,’ उनले भने, ‘त्यसकारण पनि हामीले जनतालाई रोक्दै आएका हौं, जनताले सञ्चारमाध्यमबाट जात्राबारे जान्न पाइहाल्छन्।’

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखसँग यो परम्परा जोडिएको छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिका खाने गरेकाले पीडित स्थानीयवासी राक्षसको विरोध गर्दै यो जात्रा मनाउन थालेका हुन्। हरेक वर्ष प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने चलन छ। जात्राको अवसरमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन पनि गरिएको थियो। शुक्रबार ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाइएको थियो।

 

प्रकाशित: २३ चैत्र २०७५ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App