बारा– ‘उडायो सपना सबै हुरीले’ मूरलिधरको शब्द, संगीत र स्वरमा रहेको गीतको अंश हो, यो। अहिले बारा र पर्साका स्थानीयलाई यस्तै भएको छ। उनीहरूले सझाएका मीठा सपना आइतबारको हुरीसँगै उड्यो।
आइतबार साँझ दुई मिनेट मात्रै आएको हुरीले कतिको परिवारका सदस्य नै लग्यो। धेरैलाई घरवारविहीन बनायो। घरसँगै उनीहरूले सझाएका सपना पनि विलिन भए।
गरिबका पनि आआफ्नै सपना र ईच्छा हुन्छन्। त्यस सपना पूरा गर्न अत्यन्तै दुःख गरेर उनीहरूले जोर जाम पनि गरिका हुन्छन्। यस्तै, एउटा सपना थियो कलैया १३ बलिरामपुरका वीरबहादुर साहको। ऋण गरेरै भए पनि उनी छोरीको विवाह धुमधामका साथ गर्न चाहन्थे। उनको सपना साकार हुनै पनि लागेको थियो। केही दिनअघि वीरगंजका एक युवासँग २० वर्षीया छोरी सीमाकुमारीको फूलमाला पनि गरिसकेका थिए। वीरबहादुरको परिवार विवाहको तयारीमा जुटेको थियो। विवहाको मिति बैशाख पहिलो साता तोक्ने तयारी थियो।
छोरीको विवाहका लागि भनेर वीरबहादुरले एक तोला बढी सुनको ननिया, टीका, फुली बनाएर घरमा राखेका थिए। निर्धन उत्थान लघुवित्तिय संस्गाबाट दुई विवाहका लागि दुई लाख ऋण पनि लिएका थिए, वीरबहादुरले। तर उनको सपना आइतबार रातिको त्यो हुरीसँगै विलायो। हुरीले घर भत्कायो। घरमै रहेको एक तोला बढीको गरगहना र दुई लाख रुपैयाँ पनि हरायो। तर अहिले पनि उनी त्यो बिलाएको खुसीको खोजीमा छन्। ‘चार दिन भयो, भत्किएको घर पन्साएर गहना र पैसा खोजिरहेको छु’, वीरबहादुरले निकै भावुक मुद्रामा भने,‘तर भेटेको छैन।’
अहिले उनको परिवारको बास खुला आकाशमुनि छ। उनको गाउँमा त्रिपालबाहेकको राहत पुग्न सकेको छैन। भत्किएको घरमा खुसी भेटिन्छ कि भन्ने आश अझै मरेको छैन वीरबहादुरको। ‘यतै कतै छ कि!’, आशाको भावमा उनी भन्छन्, ‘भेटिन्छ जस्तै लाग्छ।’
छोरीको विवाह छिनिसकेको छ। घर भत्किएको पीडा त छँदै छ। त्यो भन्दा ठूलो पीडा छोरीको विवाह कसरी गर्ने भन्ने छ, वीरबहादुरलाई। ‘विवाह छिनेको छ। हराएको गहना र पैसा भेटिएन भने कसरी विवाह गर्ने? चिन्ता छ’, उनले नागरिकसँग भने।
घर भत्किएको पीडासँगै यस्ता अन्य पीडा बारा र पर्साका हुरी पीडितसँग प्रसस्तै भेटिन्छन्। वीरबहादुरको घरसँगै जोडिएका उनका नातेदार कृष्ण साह कानुको पनि उस्तै पीडा छ। दुवै मृगौला बिग्रिका कृष्णको तन्दुरुस्त भएर घर व्यवहार सहजै चलाउने थियो। तर दुई मिनेटमा उनको त्यो सपना बिलायो। उपचारका लागि भनेर चन्दा उठाएर राखेको ३५ हजार रुपैयाँ हावासँगै कहाँ उड्यो, उड्यो। अत्तोपत्तो छैन।
भेटिन्छ कि भन्ने झिनो आशासँगै चार दिनदेखि भत्किएको घर कोट्याउने दैनिकी बनेको छ, कृष्णको। ‘उहाँको उपचार गरेर केही गर्न सक्नुहुन्छ कि भन्ने आशा थियो। हामीसँग भएको सबै पैसा सकिएपछि चन्दा उठाएका थियौं’, उनकी श्रीमती सरितादेवीले भनिन्, ‘अब कसरी उपचार गर्ने?’
घर भत्किएदेखि हेर्नसम्म कोही आएको छैन। अरूतिर राहत आएको खबर सुन्छिन्, सरितादेवी। तर आफ्नोतिर कोही नआउँदा निरास छिन्, उनी। ‘आँधी आएदेखि राम्ररी खान पनि पाएको छैन’, उनले भनिन्, ‘राहत दिन पनि कोही आएको छैन।’
प्रकाशित: २१ चैत्र २०७५ ०६:४५ बिहीबार