१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हुन्डरीमा बाँचेकाको पीडा, जीवन धान्ने कसरी

फेटा, (पुरैनिया) - हावाहुरीले ‘संसार’ उडाएपछि फेटा गाउँपालिका–६ पुरैनियाकी ३५ वर्षीया नूरजहाँ खातुनको दुई रात अनिँदो बितेको छ। न राहत, न खाना, न पानी। आँखामा दुई रातदेखि निद्रा परेको छैन। ‘घर छैन र कसैले त्रिपाल पनि उपलब्ध गराएको छैन,’ खातुन भन्छिन् – ‘चाउचाउ र बिस्कुटको भरमा दुई दिनदेखि बाँचिरहेकी छु। उनलाई केही सहृदयीले चिउरा र सख्खर उपलब्ध गराएका छन्। तर चिउरा खान खोज्दा घाँटीमा अड्किने गरेको उनले बताइन्। खातुनको परिवारका सबै ठूला सदस्य अस्पतालमा उपचार गराउँदै छन्।

तीन महिनाको दूधे बालकलाई काखमा लिएर मध्याह्न्नको चर्को घाममा भत्केको घरको भग्नावशेषमा बसिरहेकी खातुनको बिलौना छ– ‘बच्चा पटक–पटक दूध खानका लागि रुन्छ तर चिन्ता र पीडाले दूध नआएर अघाउन सकेको छैन।’ दूधे बालकसहित पाँच वर्षको छोरा बचाउन गाह्रो परिरहेको उनले बताइन्। खातुनका ६० वर्षीय ससुरा कमरुल अन्सारी, ४० वर्षीय पति हदिस अन्सारी तथा नौ वर्षको छोरा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका छन्। आइतबार साँझ आएको भीषण हावाहुरीले खातुनको घर उडाउँदा घरका सबै ठूला पुरुष गम्भीर घाइते भएका थिए।

खातुनकै छिमेकी महम्मद ऐसको सातजनाको परिवारले पनि दुई रात, दुई दिन अनिदो बितायो। आइतबार साँझ हावाहुरी आउन थालेपछि ऐसको परिवार ज्यान जोगाउन घर छोडेर निस्केका थिए। घरबाट सबैजना बाहिर निस्कएलगत्तै हुरीले घर भत्कायो। घरका कोही पनि सदस्य घाइते हुन पाएनन् तर खाद्यान्न, लत्ताकपडा केही पनि बाँकी नरहेकाले बाँच्न समस्या भएको ऐस बताउँछन्। आफूहरू सुरक्षित भए पनि घरभित्रको सम्पूर्ण सामान नष्ट हुनाका साथै खेतको बालीसमेत सखाप भएको ऐसको भनाइ छ। पत्नी नैमा खातुन र एक छोरासहित चारजना छोरीलाई कहाँ राख्ने, के खुवाउने समस्याले निकै सताएको उनले बताए। अहिलेसम्म कसै–कसैले दिएको चिउरा, दालमोठ, चाउचाउ र बिस्कुटको भरमा बाँचिरहेको उनी बताउँछन्। ‘कसैले चामल दिए पनि चुल्हो छैन, पकाउने भाँडो छैन, थाल, कचौरा, गिलास छैन,’ उनले भने, ‘पानी पनि छैन। पकाएर खाने कुनै व्यवस्था छैन।’ आफूहरूलाई हावाहुरीले कहाँबाट कहाँ पुर्‍याइदिएको भन्दै उनी भक्कानिए।

हावाहुरीमा परी सोही गाउँकी ७५ वर्षीया तसलिमा खातुनकी ४० वर्षीया छोरी मुस्कीमा र छोरीकी बुहारी २० वर्षीया बिबि गुलाब सा खातुनको मृत्यु भयो। घरनजिकै रहेको छोरीको घरमा आँधीहुरीले वितण्डा मच्चाउन थालेपछि सहयोगका लागि पुग्दा घर भत्केर दुवैजनाको मृत्यु भएको खातुन बताउँछिन्। तसलिमा खातुनको घरसँगै रहेको मस्जिद र मदर्सा दुवैलाई हावाहुरीले क्षतिग्रस्त बनाएको छ। खातुनका अनुसार छोरी–ज्वाइँ फजुल हक बाराको जितपुरमा भैंसी बेच्न गएको र नाति रइस हक वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका कारण बाँच्न सफल भए। बाँकी उनीहरूको परिवार नै उजाडियो।

‘छोरी र छोरीकी बुहारीको एकै–चिहान भएको आफ्नै आँखाले देख्नुपर्दाको जस्तो पीडा अरू के पो होला र ?’ खातुनले भनिन्। हावाहुरीमा परी ध्वस्त भएको फेटा गाउँमा सबैका आफ्नै कथा–व्यथा छन्। हावाहुरी–पीडित परिवारको जुन बिचल्ली भएको छ, त्यो शब्दमा वर्णन गर्न नसकिने छ।

जमियत उल्माए नेपालका महासचिव महम्मद खालिद सिद्धिकीका अनुसार हावाहुरीले हराभरा बस्ती केही क्षणमै उजाड भयो। गर्मीमा बिनाझुल, बिनापानी पीडितहरू रात कटाउनु परिरहेको छ। सरकारको तर्फबाट आश्वासन धेरै भएको तर व्यवहारमा पीडित समुदायको जीवन कल्पनाभन्दा बढी पीडादायी रहेको उनले बताए। सिद्धिकीले आफ्नो संस्थाले पीडितहरूलाई घर बनाउन जस्तापाता सहयोग गर्ने घोषणा गरेका छन्। फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले गाउँपालिकाको तर्फबाट ठाउँ–ठाउँमा टेन्ट खडा गरी सामूहिक खानाको व्यवस्था गरेको बताए। बाहिरबाट खाना पकाउने मान्छे बोलाएर वडाध्यक्षहरूको निगरानीमा मंगलबारदेखि सामूहिक खानाको व्यवस्था गरिएको छ। हावा–हुन्डरीले फेटा गाउँपालिकाको वडा नम्बर १, ३, ६ सबैभन्दा बढी प्रभावित भएको थियो, जहाँका ६ सयभन्दा बढी घरधुरी क्षतिग्रस्त बनेका छन्, जसमा एक सयभन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएको छ।
...

पुरैनियाका नुरजान मियाको परिवार हावाहुरीले घर उडाएपछि खुला आकासमुनि। तस्बिरः मदन÷नागरिक

प्रकाशित: २० चैत्र २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App