२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ढिलासुस्ती गर्ने ठेकेदारमाथि प्रश्नको वर्षा

खोटाङ - ‘सडकको काममा के कारणले ढिलाइ भइरहेको छ ? पुलको काममा किन ढिलासुस्ती ? बनेका संरचना पनि किन कमजोर बनिरहेका छन् ? काम ढिलो गर्ने ठेकेदार, गाली खानुपर्ने सरकारले, किन ?’

यी प्रश्नहरू योङ कम्युनिस्ट लिग खोटाङका अध्यक्ष मिलनचन्द्र राईका हुन्। खोटाङको मध्यपहाडी लोकमार्गलगायतय महत्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको र बनेका संरचना पनि कमजोर भएको जनगुनासो बढेपछि सोमबार जिल्ला समन्वय समितिको संयोजनमा ठेकेदारसँग भएको छलफलमा लिगका अध्यक्ष राई ठेकेदारको गल्तीका कारण सरकारको आलोचना भइहेको भन्दै आक्रोसित मुद्रामा प्रस्तुत भए। ‘कमजोर संरचनालाई तत्काल भत्काएर सच्याउनुप¥यो,’ ढिलासुस्तीविरुद्ध पावर–प्वाइन्टबाट प्रस्तुति दिएका अध्यक्ष राईले भने, ‘होइन भने हाम्रो संगठनले भत्काउनेछ।’

मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी–बिजुले, बिजुले–हुर्लुङ, हुर्लुङ–दिक्तेल र दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रे, महुरे–फोक्सिङटार सडक कालोपत्रे, बतासे र राजापानी जोड्ने साप्सु खोलाको सडक पुल, साप्सु खोलाकै मात्तिम र लफ्याङ जोड्ने सडक पुल, सुनकोसीस्थित फोक्सिङटार पुल, मनमाया राई खानीडाँडा विमानस्थल मर्मतलगायत ठूला आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती र गुणस्तरहीन काम भएको भन्दै गुनासो आएपछि जिल्ला समन्वय समितिले सम्बद्ध निर्माण कम्पनीका प्रमुख तथा प्रतिनिधिलाई छलफलका लागि बोलाएको थियो। हालसम्म भएका कामको प्रगतिका विषयमा जानकारी लिन, ढिलासुस्तीको कारण बुझ्न र प्रतिबद्धता जुटाउन ठेकेदारलाई छलफलमा बोलाइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए।

बैठकमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–च्यानडाँडा ३६ किलोमिटर खण्डको कालोपत्रे गरिरहेको रमन–गोल्डेन गुड जेभीका आङसांगे शेर्पा, हुर्लुङ–दिक्तेल खण्ड कालोपत्रे गरिरहेको लामा–नागार्जुन–त्रिसुली जेभीका राजाराम आचार्य, बिजुले–हुर्लुङ सडक खण्ड कालोपत्रे गरिरहेको लामा–नागार्जुन जेभीका रमेश घिमिरे, महुरे–फोक्सिङटार सडकको फोक्सिङटार–सिमपानी (राजापानी) खण्ड कालोपत्रेको काम गरिरहेको देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभी र दिक्तेल–खानीडाँडा–आहाले कालोपत्रेको काम सुरु गरेको याक्तुहाङ साप सिरुवा जेभीका कल्याण खत्रीको उपस्थिति रहेको थियो।

बैठकमा उपस्थित जनप्रतिनिधि, नेता, स्थानीयलगायतले सडक, पुल, भवन निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहीन कामका विषयमा निर्माण कम्पनीका प्रतिनिधिमाथि प्रश्नको वर्षा गरेका थिए। पटक–पटक म्याद गुजार्दै सडक तथा पुलको काम अलपत्र पारेको, भएका काममा पनि गुणस्तर कायम गर्न नसकेको भन्दै सहभागीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई ¥याख¥याख पारेका छन्। लिगका अध्यक्ष राईले पावर–प्वाइन्टमार्फत सडक तथा पुलको तस्बिर र विवरण प्रस्तुत गर्दै निर्माण कम्पनीमाथि प्रश्न उठाएका थिए। ‘राष्ट्रिय महŒवका सडक तथा पुल निर्माणको काम यथाशीघ्र पूरा गर्नुप-यो। स्थानीय वा प्रदेश सरकारले नियमित अनुगमनको व्यवस्था गर्नुप¥यो,’ अध्यक्ष राईले भने, ‘अटेर गर्ने ठेकेदारलाई कारबाही हुनुप-यो।’

बैठकमा सहभागीले कामको जिम्मा लिएका मुख्य ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा भौतिक संरचनाको काम गुणस्तरहीन भएको, सिमेन्ट र बालुवाबाट बनाइएका पर्खाललाई क्युरिङ (नियमित पानीले भिजाउने काम) नगर्दा सडकको संरचना कमजोर बनेको भन्दै आवाज उठाएका थिए। त्यही क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले ढिलासुस्ती गर्ने र गुणस्तहीन काम गर्ने ठेकेदारलाई स्थानीय सरकारले नछाड्ने चेतावनीसमेत दिए।

जिल्ला समन्वय समितिले सडक, पुललगायत भौतिक संरचना निर्माणको काममा ढिलासुस्ती गर्ने सबै ठेकेदारलाई छलफलमा बोलाए पनि अधिकांश ठेकेदार अनुपस्थित थिए। दर्जनौं सडक तथा पुलको काम भइरहे पनि छलफलमा पाँचजना निर्माण व्यवसायीमात्र उपस्थित थिए। सडक तथा पुल निर्माणको काममा बढी ढिलासुस्ती गर्ने ठेकेदार भने छलफलमा नआएको पाइएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए। ‘अलि–अलि काम गर्ने निर्माण व्यवसायीमात्र छलफलमा उपस्थित भए, काममा चरम ढिलासुस्ती गर्ने निर्माण व्यवसायी उपस्थित भएनन्, सायद अप्ठेरो भएर होला,’ चाम्लिङले भने, ‘फेरि पनि छलफल बोलाउने छौँ। उपस्थित नभए कारबाहीमा जान्छौँ।’

प्रकाशित: १९ चैत्र २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App