१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँगाउँमा विप्लव आतंक, वडाध्यक्ष 'टार्गेट'मा

उदयपुर - महेश्वर चामलिङ राई । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह गाउँकेन्द्रित हुन थालेको छ। गतसाता सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले आफ्ना गतिविधि तीव्र पारेको छ।  

स्थानीयका अनुसार साता दिनयता उक्त समूहका नेता÷कार्यकर्ताहरु समूहसमूहमा बाँडिएर गाउँ पसेका छन्। उनीहरु संगठन निर्माणदेखि चन्दा संकलनमा सक्रिय हुन थालेका छन्। प्रतिबन्ध घोषणालगत्तै गत फागुन ३० गते नेपाल बन्द आह्वान गरेको समूहले आफ्ना कार्यकर्ता सरकारले समातेको विरोधमा जिल्लामा चन्दा आतंक बढाएको स्थानीयको गुनासो छ। 

अहिले यस समूह गाउँ गाउँमा संगठन विस्तारमा लागेको स्रोतले बताएको छ। विप्लवका कार्यकर्ताहरु खासगरी जिल्लाका पहाडी भेग र सुरक्षाकर्मीको नजर कम पर्ने ठाउँतर्फ केन्द्रित हुँदै गएका छन्। तत्काल सुरक्षाकर्मी नपुग्ने, सञ्चार सुविधा कम भएका ठाउँ तथा पातलो बस्ती भएको ठाउँलाई विप्लव समूहले आफ्नो थलो बनाइरहको स्थानीयवासीहरुले बताउने गरेका छन्। 

प्रतिबन्धपछि यताका दिनहरुमा समूहले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई निसाना बनाउन थालेका छन्। २÷४ दिनयता जिल्लाका केही वडाध्यक्षसँग चन्दा माग्ने, नदिए कारवाही गर्न थालेका नाम बताउन नचाहने सर्तमा एक वडाध्यक्षले नागरिक न्युजलाई बताए। केही कार्यकर्ताले त वडाध्यक्षको घर पुगेर खाना र चन्दा माग्न थालेको बताए। 

ती वडाध्यक्षका अनुसार यस अघिल्लो जस्तो नभई यसपटक बाध्यात्मक तरिकाले चन्दा माग्न थालेका छन्। उनले भने, ‘पहिले चन्दा मागे, सामान्य रकम दिँदा खुसीले थापेर लगे, अहिले त रकम तोकेरै माग्न थालेका छन्।’ उनले थपे, ‘उनीहरुले मागेअनुसार चन्दा दिने हाम्रो हैसियत छैन। आफूहरुलाई बारम्बार विप्लवका कार्यकर्ताको धम्की आउने गरेको बताउँदै अर्का वडाध्यले पनि उस्तै गुनासो गरे। भने, ‘उनीहरुले मागेजति चन्दा दिँदा वडाको बजेट नै सकिन्छ, कसरी वडा चलाउने?’ दिन नसक्ने पैसा विप्लव समूहले मागेकाले उनीहरुको नियत आफूहरुसँग निहुँ खोज्ने नै रहेको उनले गुनासो गरे। 

पहिले पहिले सामान्य चन्दा माग्ने कार्यकर्ताहरु ४÷५ गुणा बढी माग्न थालेपछि आफूहरु समस्यामा पर्ने गरेको उनको दुखेसो थियो। सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका कार्यकर्ता झनै आक्रामक भएर देखापरेका हुन सक्ने ती वडाध्यक्षको भनाइ थियो। ‘अनिवार्य रुपमा चन्दा दिनैपर्ने सर्त तेस्र्याउँछन्’, उनले भने, ‘छैन भन्ने त शब्दै ननिकाल्नू भन्छन्।’ 

आफूहरुविरुद्ध एकैचोटि खनिएर लागेकाले निशाना बनाएर अघि बढेको विप्लव आतंकबारे राज्य गम्भीर हुनुपर्ने उनको भनाइ थियो। जिल्लाका ७५ वडामध्ये गाउँकेन्द्रित बढी गतिविधि गरेको यो समूहले दुर्गम र विकट बस्तीका जनप्रतिनिधि ‘टार्गेट’ बनाउको जिल्लाका जनप्रतिनिधिको दुःखेसो छ। 

 

प्रकाशित: १३ चैत्र २०७५ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App