२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पुनर्निर्माण कार्यालयमा इन्जिनियरको ताला

कार्यालयमा ताला लगाउँदै इन्जिनियरको टोली । तस्बिर : दमन राई/नागरिक

खोटाङ – भूकम्पपछिको पुनर्निर्माणका क्रममा खोटाङमा खटिएका इन्जिनियरहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) को कार्यालयमा ताला लगाएका छन् ।

सम्झौताअनुसार सेवासुविधाको माग पूरा गर्न माघ १५ देखि फागुन ४ गतेसम्म दिइएको अल्टिमेटम सुनुवाइ नभएपछि फागुन १७ गतेदेखि भूकम्पीय आवास पुनर्निर्माणको काम ठप्प बनाएको इन्जिनियरले आइतबार दिक्तेलस्थित आयोजना कार्यान्वयन एकाइको कार्यालयमा ताला लगाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिका अध्यक्ष एवं केन्द्रीय सचिव राम मल्ल चौहानले बताए । खोटाङमा मात्रै इन्जिनियर र प्राविधिक गरी ४८ जना कार्यरत छन् । उनीहरूले नौ महिनाको तलब र फिल्ड भत्ता नपाएको अध्यक्ष चौहानले बताए । आइतबार हकहित संरक्षण समितिको बैठक बसेर पाँचबुँदे निर्णय गरेलगत्तै चौहानको नेतृत्वको इन्जिनियर टोलीले ताला लगाएको हो ।

गुनासो छुट तथा पुनः सर्वेक्षण तालिम बहिष्कार
खोटाङमा खटिएका इन्जिनियरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गुनासो छुट तथा पुनः सर्वेक्षण तालिम पनि बहिष्कार गरेका छन् । भूकम्पपीडितको गुनासो सम्बोधनका लागि आगामी चैत १५ गतेदेखि भूकम्पप्रभावित जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण गर्न राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालयले आयोजना गरेको दुईदिने लगत संकलनसम्बन्धी तालिम बहिष्कार गरेका हुन् । पुनर्निर्माणका क्रममा खटिएका इन्जिनियरले बहिष्कार गरेपछि आइतबार र सोमबारका लागि आयोजना गरिएको तालिम रोकिएको छ ।

इन्जिनियरले पुनर्निर्माणका क्रममा खटिएका प्राविधिकको माग सम्बोधन नभएसम्म पुनर्निर्माण, गुनासो व्यवस्थापन र लगत संकलनको काम नगर्ने निर्णयसहितको ज्ञापनपत्र राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयलाई बुझाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिले सर्तअनुसारका सेवासुविधा उपलब्ध गराउनुपर्ने, जुनसुकै तालिम वा गोष्ठी गर्दा स्थानीय तहमा खटिएका फोकल इन्जिनियरसँग छलफल गर्नुपर्ने, आफूखुसी तालिम वा गोष्ठी गरिए सहभागी नहुने, तालिम वा गोष्ठीका सहभागीलाई सरकारी नियमअनुसार सेवा उपलब्ध गराउनुपर्ने, हरेक स्थानीय तहमा कार्यरत फोकल इन्जिनिरयले अन्य प्राविधिकलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिको आन्दोलनमा सहभागी गराउने, आन्दोलनमा सहभागी नहुने प्राविधिकले स्पष्टीकरण पेस गर्नुपर्ने, चैत १० गतेको केन्द्रीय आन्दोलनका लागि सम्पूर्ण प्राविधिक काठमाडौं जानेलगायत जानकारीसहितको ज्ञापनपत्र बुझाएका छन् ।
निजी आवास पुनर्निर्माणका क्रममा छुट भएको भन्दै लाभग्राहीको सूचीमा सूचीकृत हुन गुनासो दर्ता गराएका भूकम्पपीडितको लगत संकलनको पूर्वतयारीमा इन्जिनियरलाई तालिममा बोलाइएको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले बताए । सेवासुविधा कार्यान्वयनको मागमा इन्जिनियर आन्दोलनमा उत्रिएपछि भूकम्पका लाभग्राही भने मारमा परेका छन् ।

प्रकाशित: ४ चैत्र २०७५ ०२:०३ सोमबार

भूकम्प पुनर्निर्माण इन्जिनियर