४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंहदरबारका क्यान्टिन खाली गरिँदै

काठमाडौं - सिंहदरबार परिसरभित्र मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिन खाली गरिने भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार त्यहाँ चारवटा मात्र क्यान्टिन राख्ने बताइएको छ। टेन्डर प्रक्रियामार्फत स्वीकृति नलिएका क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि क्यान्टिन खाली गर्ने तयारी भएको स्रोतको भनाइ छ। हाल कृषि तथा पशुपन्छी विकास, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, पर्यटन, भूमि व्यवस्था तथा सहकारी र महिला तथा बालबालिक मन्त्रालय परिसरमा खोलिएका सात वटा क्यान्टिन बन्द भइसकेको सचिवालयल व्यवस्थापन कार्यालयले जनाएको छ।

स्रोतका अनुसार मन्त्रालय मन्त्रालयका कर्मचारीहरू कार्यालयभन्दा क्यान्टिनमा व्यस्त हुने, कार्यालय प्रयोजनका लागि तयार भएका भवनमा क्यान्टिन बनाउँदा त्यसबाट फोहोर उत्पन्न हुने तथा सुरक्षाका कारणले समेत मन्त्रालयपिच्छे खोलिएका क्यान्टिन बन्द गर्नुपरेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सिहंदरबार परिसरमा टेन्डर प्रक्रियाअनुसार स्वीकृति नलिइएका क्यान्टिन बन्द गर्न निर्देशन दिएको जानकारी दिए। ‘स्वकृति नलिई खोलिएका क्यान्टिनका कारण फोहोर उत्पन्न भएको र सुरक्षाका कारणबाट समेत क्यान्टिनलाई व्यवस्थित गराउनुपरेको हो,’ उनले भने।

सिंहदरबार सचिवालयका प्रमुख रविन्द्र बोहराका अनुसार आगामी तीन वर्षभित्र सिंहदरबारमा चारवटा मात्र क्यान्टिन राख्ने तयारी भइरहेको छ। अब सिंहदरबारमा केन्द्रीय क्यान्टिनसँगै संघीय संसद् सचिवालय परिसर र अर्थ मन्त्रालय परिसरमा खोलिनेछन्। चारवटा क्यान्टिन फरकफरक ठाउँमा राख्ने योजनाअनुसार चौथौ क्यान्टिन उद्योग मन्त्रालय परिसरमा राख्ने सम्भावना रहेको पनि उनले जनाए। उनले भने, ‘मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिनमध्ये केही क्यान्टिन टेन्डर प्रक्रियाअन्तर्गत स्वीकृति लिएर खोलिएका छन्। प्रक्रियागत किसिमबाट कुनै क्यान्टिनले दुई वर्ष र कुनैले तीन वर्षसम्मका लागि टेन्डर स्वीकृति लिएका छन्। त्यस्ता क्यान्टिन तत्काल बन्द गर्न सकिन्न।’

प्रक्रियागत किसिमबाट खोलिएका क्यान्टिनहरू पनि सम्झौता म्याद सकिएपछि बन्द गरिने उनको भनाइ थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिनमा सम्बन्धित मन्त्रालयका कर्मचारीभन्दा बिचौलिीयाहरू हावी हुने र त्यस्तो ठाउँ बिचौलिया र कार्यालयका कर्मचारीबीच भेटघाट गर्ने माध्यमसमेत भएको गुनासो आउने गरेपछि त्यस्ता क्यान्टिन बन्द गर्न प्रधानमन्त्री कार्यालयले चासो राखेको स्रोतको भनाइ छ।

यसैबीच, सिंहदरवार संघीय सचिवालयले सिंहदरबार परिसरमा खोलिएका क्यान्टिनहरूमा उपलब्ध गराइएका उपभोग्य समाग्रीहरूको दर एउटै बनाउने तयारी गरेको छ। सचिवालयका प्रमुख बोहराले भने,‘यस विषयमा हामीले अब गृहकार्य गर्छौ। सिंहदरबवार परिसर भित्र रहेका सबै क्यान्टिनहरूको दर एउटै बनाउने हाम्रो प्रयास रहन्छ।’ हाल परिसरभित्र रहेका क्यान्टिनहरूमा फरकफरक दर कायम छ। सम्बन्धित क्यान्टिनले सम्बन्धित मन्त्रालयसँग टेन्डर स्विकृति लिएकाले फरकफरक क्यान्टिनको फरकफरक दर हुनु स्वाभाविक भएको बोहराले जनाए। ‘सबैभन्दा कम दर राखी टेन्डर भरेका क्यान्टिन व्यवस्थापनलाई क्यान्टिन सञ्चालन गर्न स्वीकृति दिने भएकाले फरकफरक दर भएको हो,’ उनले भने। सचिवालयसँग स्वीकृति लिएर खोलिएको क्यान्टिनको दर र सरसफाइबारे नियमित अनुगमन भइरहेको उनले बताए।

हरेक महिना उत्कृष्ट कार्यालय घोषणा
सिंहदरबार सचिवालय व्यवस्थापन कार्यालयले सिंहरदबार परिसरमा खोलिएका कार्यालयहरूमध्ये हरेक महिना उत्कृष्ट कार्यालय घोषणा गर्ने गर्छ। क्यान्टिनको सरसफाइ, कार्यालय पसिसरको सरसफाइ, बगैंचा तथा कार्यालयको व्यवस्थापनलाई हेरेर सचिवालयले हरेक महिना उत्कृष्ट कार्यालय घोषणा गर्ने गर्छ। जसअनुसार माघमा अर्थ मन्त्रालयलाई उत्कृष्ट कार्यालय घोषणा गरिएको थियो। यसैगरी पुसमा रेडियो नेपाललाई उत्कृष्ट कार्यालय बन्न पुग्यो। फागुनमा उत्कृष्ट कार्यालय घोषणा गर्न बाँकी रहेको सचिवालयले जनाएको छ। सिंहदरबार परिसरलाई सरसफाइ र व्यवस्थित बनाउन सचिवालयले यस्तो चलन बसाएको बोहराले बताए। उनले भने, ‘अहिले सिंहदरबार परिसरको मुहार फेर्ने तयारी भइरहेको छ। यसका लागि अहिले अरू विभिन्न काम भइरहेका छन्।’

प्रकाशित: २५ फाल्गुन २०७५ ०१:५७ शनिबार

सिंहदरबार क्यान्टिन संघीय_सचिवालय मन्त्रिपरिषद्_तथा_प्रधानमन्त्री_कार्यालय