१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा जंगली हात्तीको ताण्डव

जंगली हात्तीले भित्ता भत्काएर उदांगो बनाइदिएको सर्लाहीको रञ्जितपुरस्थित दिलमाया माझीको घर। तस्बिर : टंक/नागरिक

सर्लाही - सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत मंसिर १५ गते जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको भोक्टेनीमा अचानक देखापरेका तीनवटा जंगली हात्तीले हालसम्म हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रका सयौं घर भत्काइसकेका छन्। त्यस्तै हात्तीहरूले खेतबारीका उखु, आलु, गहुँलगायत बालीनाली खाएर नष्ट पारिरहेको पीडितहरूले बताएका छन्।

हात्तीले घर भत्काइदिएका कारण आफ्नो परिवारको बिजोग भएको लालबन्दी नगरपालिका–५, रञ्जितपुरकी दिलमाया माझीले गुनासो गरिन्। ‘भएको एउटा सानो घर पनि हात्तीले भताभुंग पारेपछि हाम्रो बिजोग भएको छ,’ उनले सुनाइन्, ‘हामी त निदाएका थियौं, पल्लो घरका भाइले हात्ती आयो, हात्ती आयो भनेपछि हतार–हतार छिमेकीको घरमा गएर ज्यान चाहिँ बचायौं।’ श्रीमान् बेपत्ता भएकाले मजदुरी गरेर तीन छोराछोरी पाल्दै आएकी दिलमाया दुःख गरेर बनाएको सानो कच्ची घर पनि हात्तीले भत्काइदिएपछि ठूलो पीडामा परेकी छन्।

हात्तीले घरको बेराघेरा भत्काएर भित्र रहेका खाद्यान्नसमेत खाइदिएपछि माझी परिवारको बिचल्ली भएको छ। माझी परिवार त एक उदाहरण मात्र हुन्। यसरी जंगली हात्तीहरूले दैनिक एक दर्जनजसो घर भत्काइरहेका छन् भने खेतबारीका अन्नबालीसमेत क्षति गरिरहेका छन्। पछिल्लो समय भने सागरनाथ वन विकास परियोजनाको जंगलमा दिनभर बस्ने र रात परेपछि आसपासका गौरीशंकर, सागरनाथलगायत गाउँमा हात्तीले विध्वंश मच्चाइरहेको छ।

गत मंसिर १५ गतेदेखि सर्लाही पसेका जंगली हात्तीहरूले दैनिक एक दर्जनजसो घर भत्काइरहेका छन् भने खेतबारीका अन्नबालीसमेत क्षति गरिरहेको स्थानीय बताउँछन्।

तर यसरी आतंक मच्चाइरहेको हात्ती नियन्त्रण गर्न सम्बन्धित निकायले भने प्रभावकारी पहल गरेको देखिएको छैन। हात्तीले दुःख दिन थालेको यत्रो दिन (करिब तीन महिना) बितिसक्दा पनि डिभिजन वन कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नगरेको स्थानीयको गुनासो छ। डिभिजन वन कार्यालयले भने प्रयास त भइरहेको तर समूहमा रहेका हात्ती नियन्त्रण गर्न नसकिएको जनाएको छ। कार्यालय प्रमुख माधवप्रसाद देवले जंगली हात्तीलाई सुरक्षितसँग पर्सा वन्यजन्तु आरक्षतर्फ पठाउन अनेक प्रयास भइरहेको दाबी गरे। तर केही समयअघि एकजना हात्ती विशेषज्ञलाई बोलाएर अध्ययन गराउनेबाहेक हात्ती नियन्त्रणका लागि अन्य काम भएको छैन।

हात्तीलाई सुरक्षितसँग उसको बासस्थानतर्फ पठाउन वन मन्त्रालय, विभाग, पर्सा वन्यजन्तु आरक्षलगायत माथिल्लो निकायमा पत्राचार गरिएको डिभिजन वन प्रमुख देवको भनाइ छ। यदि बस्तीमा हात्ती देखिएमा भगाउन समूहमा बसेर भाँडा ठटाउने, आगो बाल्ने, खुर्सानीको धुवाँ लगाउने, शंख फुक्नेजस्ता उपाय अपनाउन स्थानीयलाई उनको सुझाव छ। त्यस्तै पीडितलाई राहतका लागि हात्तीले घर र अन्नबालीमा पु¥याएको क्षतिको विवरण पर्सा वन्यजन्तु आरक्षमा पठाइसकिएको वन कार्यालयले जनाएको छ। यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भने हात्ती नियन्त्रणका लागि वन मन्त्रालय, विभाग, निकुञ्जलगायत माथिल्ला निकायलाई आग्रह गर्दागर्दा आफू थाकिसकेको बताउँछन्।

‘विज्ञहरूका अनुसार हात्तीहरुलाई क्रमशः पर्सा वन्यजन्तु आरक्षतर्फ जान मार्गप्रशस्त गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर बस्ती नै बस्ती भएकाले हात्ती अल्मलिएको र त्यतै वरिपरि जंगलमा बस्ने र रातिराति बस्तीमा पस्ने गरेका छन्।’ जंगली जनावर हिँडने बाटोमा मानव अतिक्रमण भएका कारण पनि समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App