१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

यौन दुर्व्यवहारका घट्नामा मिलापत्रको प्रयास

खोटाङ– खोटाङमा बलात्कार प्रयासका घट्नालाई आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार बिश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो। यौन दुर्व्यवहार भएको भन्दै फागुन १४ गते प्रहरीचौकी जालपामा निवेदन दिएकी पीडित युवती र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त दिन अस्वीकार गरेपछि यौन दुव्र्यवहारको घट्नालाई आर्थिक प्रलोभनमा मिलाउने प्रयास भएको खुलेको हो। सुरुमा प्रहरी चौकीमा पीडकविरुद्ध निवेदन दिएकी युवतीले जाहेरी दरखास्त दिन भने आनाकानी गरेपछि सम्झाई–बुझाई गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। 

यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीचौकीमा निबेदन परेपछि बिक फागुन १५ गते पक्राउ परेका थिए। उनले पीडित युवतीमाथि फागुन १३ गते यौन दुर्व्यवहार गरेका थिए। घट्नाले अझै पनि बलात्कारका घट्नालाई आर्थिक प्रलोभनमा ढाकछोप हुने गरेको देखाएको छ। आरोपितले महिलाको संवेदनशील अंगमा छोएको र चुम्बन गरेको पीडित पक्षको भनाई छ। मिलापत्र गराउने षडयन्त्रकाबीचमा ढिलै भएपनि पीडकविरुद्ध मुद्दा दर्ता भएको अधिकारकर्मी एबं पूर्वसभाषद दुर्गाजयन्ती राईले बताईन्। यौन दुर्व्यवहारका घट्नालाई मिलापत्र गराउनमा केही स्थानीय नेता समेत लागि परेको बुझिएको छ। 

प्रहरी चौकीमा निवेदन दिए पनि जिल्ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दरखास्त दिनका लागि दुई दिनसम्म आनाकानी गरेपछि प्रहरी नै पठाएर पीडितलाई ‘कन्भिन्स’ गर्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बलात्कार प्रयास भएको जानकारी आएपछि प्रहरी चौकीबाट खटिएका प्रहरीले समेत युवतीमाथि यौन दुर्व्यवहार भएको यकिन गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमै युवतीमाथि यौन दुर्व्यवहार भएको देखिएपछि सम्झाई–बुझाई गरेर फागुन १७ गते पीडक विरुद्ध जाहेरी दरखास्त परेको डिएसपी केसीले बताए। ‘प्रहरी चौकीमा परेको निवेदनका आधारमा पीडकलाई पक्राउ गरियो। तर, पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दरखास्त दिन अस्वीकार भयो,’ डिएसपी केसीले भने, ‘महिलाको अस्मितासँग जोडिएको विषयमा छलफल या मिलापत्र हुँदैन, कानूनी हिसावले मुद्दा दर्ता गरेर कारबाही अघि बढाउनुपर्छ भनेर पीडितलाई जाहेरी दिन तयार पारिएको हो।’ 

प्रकाशित: २२ फाल्गुन २०७५ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App