सर्लाही - दुर्घटना भएको महिना दिन भइसक्दा पनि ठक्कर दिने गाडी पत्ता नलाग्दा मृतकका परिवारले क्षतिपूर्ति तथा घाइतेले उपचार खर्च पाउन सकेका छैनन्। गत माघ १५ गते महोत्तरीमा भएको दुर्घटनामा परी मृत्यु भएका सर्लाहीको ईश्वरपुर नगरपालिका–४, शान्तिपुरका २८ वर्षीय चित्रकुमार जोगी र गम्भीर घाइते भएका १८ वर्षीय भुवन जोगीका परिवारले सम्बन्धित पक्षबाट पाउनुपर्ने रकम पाउन नसकेका हुन्। पीडित पक्षले आफूले पाउनुपर्ने राहत दिलाइदिन विभिन्न निकायसँग हारगुहार गरिरहेका छन्।
स.६ प ४१९९ नम्बरको मोटरसाइकलमा घरबाट बर्दिबासतर्फ गइरहेका उनीहरूलाई महोत्तरीको बाँके जंगल खण्डमा पहिचान हुन नसकेको गाडीले ठक्कर दिएको थियो। मोटरसाइकल चालक चित्रबहादुरको उपचारका क्रममा माघ १६ गते काठमाडौंमा मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीर घाइते भएका भुवन झन्डै १५ दिन अस्पताल बसेर घर आएका छन्। दाहिने हात पूरै फ्याक्चर भएर स्टिल हालिएको र टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेका कारण दाग नै दाग भएका भुवन अहिले घरमै आराम गरिरहेका छन्।
सडक दुर्घटनामा छोरा गुमाएका रत्नबहादुर जोगी भन्छन्, ‘अब ठक्कर दिने गाडी पत्ता लागेन भने हामीले कहिल्यै राहत नपाउने हो त, यसमा त सरकारले केही न केही त गर्नुपर्ने।’
सवारी दुर्घटनामा मृत्यु भएमा मृतकका परिवारले सम्बन्धित गाडी धनीबाट क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ पाउने प्रावधान छ। त्यस्तै घाइतेको उपचार खर्चसमेत बेहोर्नुपर्ने व्यवस्था छ। तर महिनादिन बितिसक्दा पनि ठक्कर दिने सवारीसाधन पत्ता नलाग्दा मृतक चित्रबहादुरका परिवारले नियमानुसार क्षतिपूर्ति पाउन सकेका छैनन् भने घाइते भुवनको उपचार खर्च पनि परिवारले नै बेहोर्नुपरिरहेको छ।
‘खै सेतो रङको सानो गाडी (बोलेरो पिकअप)जस्तो देखिएको थियो,’ घाइते भुवनले नागरिकसँग भने, ‘छेउमा उखुको बोकेको ट्याक्टर पनि रोकेर राखिएको थियो, त्यो ट्याक्टरको मान्छेले मलाई ठक्कर दिने गाडीको चारवटा नम्बरसमेत सुनाएको जस्तो लाग्छ, म त अचेतजत्तिकै थिएँ, त्यसैले केही सम्झना भएन।’ सोही ट्याक्टर रुँगेर बसेका दुई जनाले नै एउटा कारमा चढाएर आफूहरूलाई बर्दिबाससम्म पु¥याएको भुवनले सुनाए। मृतकका परिवार एवं घाइते भुवन भने घटनास्थलमा रहेका ट्याक्टर चालक र अर्का एक जनालाई प्रहरीले राम्रोसँग केरकार गरी कारबाही गरे ठक्कर दिने गाडी पत्ता लाग्ने दाबी गर्छन्।
मृतक चित्रबहादुरका ६ र डेढ वर्षका दुई छोरासहित २४ वर्षीया पत्नी रञ्जिताकुमारी छन्। श्रीमान्को मृत्युपश्चात् रञ्जिता खासै बोल्दिनन्। ‘खै जति गुनासो गर्दा पनि प्रहरी, ठक्कर दिने गाडी खोजिरहेका छौं मात्र भन्छ,’ मृतकका बुबा रत्नबहादुर जोगीले गुनासो गरे, ‘छोरा गुमायौं, बुहारी एकmल भई, दुई नाति टुहुरा भए, यत्रो विपत्तिका बेला राहत पनि पाउन सकेका छैनौं, प्रहरी, नगरपालिका लगायतलाई गुनासो गर्दागर्दै गलिसक्यौं।’
वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा रहेका चित्रबहादुर बिदामा आएका बेला दुर्घटनामा परेका हुन्। ‘पाँच महिनाको बिदामा आएको थियो, यही फागुन १२ गते फ्लाइट छ भन्थ्यो,’ बुबा रत्नबहादुरले भने, ‘परिवारको मुख्य कमाउने मान्छे नै गुमायौं।’ उनका दुई छोरामध्ये जेठा भने घरमै बस्ने र स्थानीय एक कम्पनीको मिनी ट्रक चलाउने गर्छन्।
घाइते भुवन उपचारका लागि ऋण काढेर खर्च गरिएको बताउँछन्। ‘अहिलेसम्म उपचारमा डेढ लाख रुपैयाँ सकिसक्यो,’ स्थानीय एक कम्पनीको सवारीसाधनमै सहचालकको काम गरिरहेका उनले भने, ‘हातको स्टिल खोल्न अझै कति खर्च लाग्ने हो, काम पनि गर्न पाइएको छैन, एक महिनापछि स्टिल झिक्न अस्पतामा बोलाइएको छ, सवारीसाधन पत्ता लागेन भने त हाम्रो परिवारको बिजोग हुन्छ।’ छोरा गुमाएको पीडामा रहेका रत्नबहादुर भन्छन्, ‘अब ठक्कर दिने गाडी पत्ता लागेन भने हामीले कहिल्यै राहत नपाउने हो त, यसमा त सरकारले केही न केही त गर्नुपर्ने।’ दुर्घटनाका प्रत्यक्षदर्शीलाई सोध्दासमेत ठ्याक्कै नम्बर बताउन नसकेकाले सम्भावित एवं शंकास्पद नम्बरहरूसहित १४ वटै यातायात कार्यालयमा पत्र पठाइएको उनले बताए। ‘घाइते र प्रत्यक्षदर्शीले सेतो बोलेरो पिकअपजस्तो देखिएको भनेकाले बर्दिबाससहित आसपासका सबै बजारका वर्कसपलाई शंकास्पद पिकअप आएमा खबर गर्न भनिएको छ,’ उनले भने, ‘वर्कसपहरूबाट पटकपटक खबर पनि आएको छ र झन्डै ५० वटा शंकास्पद गाडी चालक तथा सम्बद्धलाई सोधपुछसमेत गरिसकेका छौं।’
ठक्कर दिने सवारीसाधन पत्ता लाग्न नसक्दा मजदुरी गरेर खानुपर्ने अवस्थाका दुर्घटनापीडित परिवारले नियमानुसार राहत तथा उपचार खर्च नपाउँदा निकै समस्यामा परेका छन्। सरकारी संयन्त्रले सम्बन्धित सवारीसाधन पत्ता लगाएर पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र पत्ता लगाउन नसके सरकारले बेहोर्नुपर्ने नागरिक समाजका अगुवाहरू बताउँछन्।
प्रकाशित: १९ फाल्गुन २०७५ ०२:५७ आइतबार