२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सडक मानवलाई आश्रय दिन अनुष्ठान

मकवानपुर - सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषित मकवानपुरमा मानवता प्रवर्द्धन ज्ञानविज्ञान अनुष्ठान सुरु गरिएको छ। परिवारबाट परित्याग गरिएका वा घर, परिवारमा नभई सडकमै कष्टकर जीवन निर्वाह गरिरहेका (सहयोगापेक्षी) सडक मानवलाई आश्रय दिने भवन निर्माणका लागि हेटौंडामा सोमबार अनुष्ठान सुरु गरिएको हो।

मानव सेवा आश्रमको आयोजनामा हेटौंडा उपमहानगरपालिका ९ मा निर्माणाधीन भवन र मानवता प्रवद्र्धन महाअभियानको अक्षयकोष स्थापनाका लागि अनुष्ठान आयोजना गरिएको हो। अनुष्ठानको उद्घाटन गरेपछि प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले कुनै पनि नागरिक सडकमै बस्नुपर्ने दुःखद अवस्था आउन नदिन सबै सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिए। ‘मान्छेलाई सडकमा आउन नदिन सरोकारवाला सबै पक्षले ध्यान दिनुपर्छ,’ उनले भने, ‘हामी चाहन्छौं, कोही पनि नेपाली नागरिक बेसहारा भएर आश्रमहरुमा जान नपरोस्।’

फागुन २० गतेसम्म सञ्चालन हुने अनुष्ठानबाट करिब१२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको अनुष्ठान मूल समारोह समितिका संयोजक पुरनबहादुर जोशीले बताए। संकलित रकममध्ये १० करोड रुपैयाँले मानवता प्रवद्र्धन महाअभियान केन्द्रीय अक्षयकोष स्थापना गर्ने योजना रहेको उनले बताए। भवन निर्माण सम्पन्न भएपछि दुई सय ५० जनालाई आश्रय दिन सकिने आश्रमले जनाएको छ। मानवसेवा आश्रमको हेटौंडा–९ स्थित लामसुरेधापमा तीन तल्लाको ५२ कोठे भवन निर्माणाधीन छ। करिब तीन करोड रुपैयाँ खर्च भइसकेको भवन निर्माण सम्पन्न गर्न अझै दुई करोड रुपैयाँ लाग्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरे पनि ठाउँ अभाव रहेकाले भवन निर्माण सक्न कार्यक्रम गरिएको उनले बताए।

आश्रमले हेटौंडा–४ कर्रास्थित भाडाको घरमा ७० जना र हेटौंडा–९ स्थित निर्माणाधीन भवनमा ७० जनालाई आश्रय दिइरहेको छ। १२ जिल्लाका १४ शाखामा सात सय ५० जना सहयोगापेक्षी मानवले आश्रय लिइरहेको आश्रमका अध्यक्ष अधिकारीले बताए। २०६९ सालमा हेटौंडाबाट मुठीदानबाट सुरु गरिएको अभियानअन्तर्गत २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने आश्रमको लक्ष्य रहेको छ। आश्रमले देशभरबाट एक हजार छ सय सहयोगापेक्षी सडक मानवको उद्धार गरी सेवा गरिसकेको जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App