९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मान्छे र पशुको कुवा एउटै

गाईवस्तुले मुख डुबाउने गरेको कुवाको फोहोर पानी गाग्रोमा भर्दै सर्लाहीस्थित गुइडुङ गाउँका महिला। तस्बिरः टंक/नागरिक

सर्लाही – मान्छे–मान्छेबीच त जसको पायो उसको जुठो चल्दैन, जुठो चिज खान घिन लाग्छ। तर सुन्दा पनि अचम्म लाग्ला– सर्लाहीस्थित दुई गाउँका बासिन्दा वर्षाैंदेखि जनावरको जुठो खान बाध्य छन्। सुरक्षित खानेपानीको व्यवस्था नहुँदा ईश्वरपुर नगरपालिका–१२ साविक कालिञ्जोर गाविसअन्तर्गत विकट चुरे क्षेत्रमा पर्ने गुइडुङ र अड्डी गाउँका बासिन्दा गाईवस्तुले मुख डुबाएकै कुवाको पानी पिउन बाध्य भएका हुन्।

गुइडुङमा ४० र अड्डीमा १२ घरधुरी छन्। यी दुई गाउँका बासिन्दाको खानेपानीको स्रोत– बस्तीदेखि केही टाढा रहेका दुईवटा कुवा हुन्। जसमा चरिचरणमा छाडिएका पशुचौपायाले पनि मुख गाडेर पानी खाने गर्छन्। स्थानीय वीरबहादुर थिङका अनुसार गुइडुङमा वि.सं. १९४५ सालमा मानव बसोबास सुरु भएको हो। त्यस बेलादेखि नै यस गाउँका बासिन्दा खानेपानीका लागि त्यही कुवामा आश्रित छन्।

‘मेरो हजुरबुबा गञ्जसिंह १९४५ सालमा काभ्रेबाट गुइडुङ बसाइँ आउनुभएको हो,’ वीरबहादुरले सुनाए, ‘त्यसपछि अरू आफन्तहरू पनि आएर बस्न थाले, अहिले त ४० घर पुगिसकेका छौं।’ तर अहिलेसम्म खानेपानीको वैकल्पिक व्यवस्था हुन नसकेको उनले बताए। ‘के गर्नु अरू कुनै उपाय छैन, गाईवस्तुले मुख गाडेर जुठो हालेको कुवाकै पानी खान बाध्य छौं,’ उनले गुनासो गरे, ‘नेताहरू चुनावका बेला आउँछन् र खानेपानीको व्यवस्था गर्छौं भनेर आश्वासन दिन्छन् अनि त्यसपछि फर्केरै आउँदैनन्।’

शनिबार नागरिककर्मी त्यस कुवामा पुग्दा स्थानीय लामुमाया जिम्बा अत्यन्त फोहोर पानी गाग्रोमा भर्दै थिइन्। यस्तो फोहोर पानी खान घिन लाग्दैन भन्ने प्रश्नमा उनले दुःखेसो गर्दै भनिन्, ‘के गर्नु सर, फोहोर नै भए पनि खान त पाइएको छ, कुनै–कुनै बेला त यही पानी पनि सुकेर कत्रो दुःख हुन्छ।’ उनले थपिन्, ‘कुवामा पानी भरिएका बेला गाईवस्तु र बाख्राले पनि मुख गाडेर पानी खान्छन्, हामी पनि यही पानी खाइरहेका छौं।’

‘पशुले जुठोसमेत हालेको यस्तो फोहोर पानी पिउँदा रोगव्याधी लाग्छ भन्ने थाहा पाउँदापाउँदै पनि प्रयोग गर्न बाध्य छौं। हामी गरिब बस्ने बस्तीमा स्वच्छ खानेपानी व्यवस्थाका लागि कसैको मनमा दया पलाए त हुन्थ्यो नि।’

भ्यागुता नै भ्यागुता रहेको उक्त कुवाको पानी हेर्दै घिनलाग्दो देखिन्छ। यही पानी ओसार्न पनि स्थानीयलाई एक घण्टा लाग्छ। बाक्लो लेदोयुक्त पानी नै घर ल्याउने र निकै समय राखेर माटो थेग्रिएपछि पिउने गरिएको स्थानीय बासिन्दा बताउँछन्। ‘पशुले जुठोसमेत हालेको यस्तो फोहोर पानी पिउँदा रोगव्याधी लाग्छ भन्ने थाहा पाउँदापाउँदै पनि प्रयोग गर्न बाध्य छौं,’ स्थानीय राम्रीमाया थिङले गुनासो गरिन्, ‘हामी गरिब बस्ने बस्तीमा सफा खानेपानीका लागि कसैको मनमा दया पलाए त हुन्थ्यो नि।’ खानेपानीको सुविधा भएको तल समथर भूभागमा बसाइँ सर्न आर्थिक अवस्थाले नभ्याउने भएकाले यस्तै दुःखकष्ट सहेर गुइडुङमा बस्नुपरेको स्थानीय युवा राहुल थिङले दुखेसो गरे।

ईश्वरपुर नगरपालिका–१२ का वडाअध्यक्ष नागेन्द्र पाख्रिनले गुइडुङ गाउँमा खानेपानीको अत्यन्तै समस्या रहेको तर वडाको बजेटले मात्रै उक्त समस्या समाधान गर्न कठिन रहेको बताए। ‘यो अग्लो स्थानमा रहेको गाउँमा पानी वितरणका लागि बिजुलीको व्यवस्था गरी मोटरले तान्नुको विकल्प छैन,’ शनिबार सञ्चारकर्मीसँगै गुइडुङ आएका वडाअध्यक्ष पाख्रिनले भने, ‘फेरि यहाँ विद्युतीकरण गर्न पनि निकै समस्या छ, नगरपालिकाले पोहोर नै १० लाख बजेट छुट्टयाए पनि पोल ओसार्नेलगायत समस्याका कारण काम नै अगाडि बढ्न सकेको छैन।’

नगरपालिका वा वडाको बजेट भन्दा पनि केन्द्रीयस्तरकै योजना परे मात्र यहाँका बासिन्दाले स्वच्छ खानेपानी पाउने अवस्था रहेको उनको भनाइ छ। पूर्व–पश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तर घारिबथानबाट दुई घण्टा पैदल चुरे डाँडा चढेपछि गुइडुङ गाउँ पुगिन्छ। यहाँ तामाङ समुदायको मात्रै बसोबास छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App